काठमाडौं- साहित्यकार तुलसीप्रसाद भट्टराईद्वारा लिखित दुई पुस्तक एकसाथ लोकार्पण भएका छन्।
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी भट्टराईद्धारा गजल संग्रह मञ्जरी र समता खण्डकाव्य लोकार्पण गरियो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री जितु गौतम, साहित्यकारहरु डम्बर पहाडी, तिलकप्रसाद उप्रेती, रमेश सुभेच्छुक, श्याम केसी, कल्पना काफ्लेलगायतले संयुक्त रुपमा लोकार्पण गरे।
सो कृतिको लोकार्पण कार्यक्रममा कुलपति उप्रेतीले बजारमा धेरै कृति आइरहने पनि ‘मञ्जरी’ र ‘समता’ ले सिंगो समाजको प्रतिनिधित्व गर्ने बताए। उनले ‘समता’ ले हिन्दू धर्मले कथित दलित जातिलाई होच्याइरहने परम्परा गलत भएको पुष्टि गर्ने बताए।
‘पुस्तक समाजको ऐना हो, यसले समाज जस्तो छ त्यस्तै बोल्नुपर्छ,’ उनले भने, ‘हिन्दू धर्ममा दलितलाई हेला गरिएको उल्लेख गरिएको भए पनि धर्म गन्थमा त्यस्तो लेखिएको छैन भन्ने प्रमाणित गरिदिएको छ।’
साहित्य सुधा नेपालद्वारा आयोजित लोकार्पण कार्यक्रममा सो पुस्तकको समालोचना गर्दै साहित्यकार तिलकप्रसाद उप्रेतीले पुस्तक पुस्तक मात्रै नभएर सारा नेपालीले पढ्नैपर्ने ज्ञानको भण्डार भएको बताए।
समता खण्डकाव्यमा विभिन्न धार्मिकशास्त्र, समाजशास्त्र र प्रचलित कानुनका पुस्तकहरुको लामो स्वाध्ययनपछि साहित्यकार भट्टराईले छन्दबद्ध काव्यको रुपमा तयार गरेको यो दोस्रो कृति हो। पहिलो कृतिका रुपमा साहित्यकार भट्टराईले गजल संग्रह ‘मञ्जरी’लाई लिएका छन्।
‘गजल मञ्जुरी’मा सामाजिक कुसंस्कार र राजनीतिक विचलन लगायतका विषयका ५८ वटा गजल समावेश गरिएको छ। झापामा बसेर साहित्य सिर्जनामा तल्लीन भट्टराईले आफ्नो कृति ‘समता’ मा छुवाछुत मान्नुलाई अपराधको रुपमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।