काठमाडौं- कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको एसिया क्षेत्रीय छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा परेको छ। नेपालसँगै समूह 'बी'मा कुवेत, चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलिया दोस्रो चरणमा परेका छन्।
एसियाली फुटबल महासंघले आज मलेसियाको क्वालालम्पुरमा सार्वजनिक गरेको ‘ड्र’ मा एसियाका ४० राष्ट्रलाई ८ समूहमा विभाजन गरिएको हो।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको थियो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।
८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
डबल राउन्ड रोबिनको आधारमा हुने विश्वकप छनोटको दोस्रो चरणका खेल होम एन्ड अवेका आधारमा हुनेछन्।
पहिलो चरणको खेल आउँदो सेप्टेम्बर ५ देखि सुरु हुनेछ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।