काठमाडौं- मोतीहारी-अमलेखगंज पेट्रोलियम पाइपलाइन परियोजनाले भारतको मोतिहारीबाट परीक्षणका रुपमा बिहीबार राती १ हजार किलोलिटर डिजेल नेपाल पठाउने भएको छ।
बिहीबार राती भारतबाट नेपालको अमलेखगंजस्थित डिपोमा झार्न लागिएको डिजेल भारतको पटनाबाट मोतीहारी बुधबार नै पठाइसकेको र मोतीहारीबाट बिहिबार राती अमलेखगंज आईपुग्ने आयोजना प्रमुख प्रदीप यादवले जानकारी दिए।
‘बिहीबार परिक्षणका रुपमा १ हजार किलोलिटर डिजेल हामी डिपोमा खन्याउँछौं। बाँकी पाईपभित्रै रहन्छ। औपचारिक रुपमा उद्घाटन भएपछि निर्वाध ढुवानी हुन्छ,’ आयोजना प्रमुख यादवले भने।
साउन १५ भित्रै औपचारिक उद्घाटनका लागि तयारी गरिरहेको पनि उनले जानकारी दिए।
नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत रक्सौल–अम्लेखगन्ज खण्डमा पाइपलाइनबाट ईन्धन ढुवानी हुने भएपछि वार्षिक करिब साढे २ अर्ब रुपैयाँ बराबरको ढुवानी लागत बच्ने नेपाल आयल निगमको अपेक्षा छ।
पाइपलाइनबाट पहिलो चरणमा भने डिजेलमात्र आयात गरिने निगमले जनाएको छ। नेपाली बजारमा डिजेलको माग उच्च रहेकाले त्यसलाई सम्बोधन गर्न पहिलो चरणमा डिजेल आयात गर्न लागिएको हो।
निगमले २०७३ साल चैत २५ गतेबाट पाइप बिच्छ्याउन शुरु गरेको थियो।
भारतको मोतीहारीबाट रक्सौल ३२ दशमलव २५ किलोमिटर र रक्सौलबाट नेपालको अमलेखगंजसम्म ३७ दशमलव २५ किलोमिटर पाइपलाइन रहेको छ।
६ हजार किलोलिटर इन्धन मौज्दातको लागि ४ ट्यांकीमध्ये ३ वटा तयार भएको र एक मात्र ट्यांकीको स्तरोन्नति गरिने काम भइरहेको पौडेलले बताए। ३९ सय किलोलिटरका २ र ४१ सय किलोलिटरका २ ट्यांकी रहेका छन्।
आयोजनामा भारतीय आयल निगम (आईओसी) को २ अर्ब भारतीय रुपैयाँ र नेपाल आयल निगम (एनओसी) को ७५ करोड भारतीय रुपैयाँ गरी कुल २ अर्ब ७५ करोड भारतीय रुपैयाँ लागत रहेको छ।
करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघन्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सकिने आयोजना प्रमुख यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।