भैरहवा- सरकारले देशभित्र व्यावसायिक मालसामानको आन्तरिक ओसारपसारको अनलाइन निगरानी थालेपछि यसको असर राजस्व संकलनमा समेत परेको छ। व्यवसायीले भेहिकल एन्ड कनसाइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) को विरोध गर्दै आन्तरिक र बाह्य ढुवानी ठप्प पारेपछि त्यसको मार राजस्व संकलनमा परेको हो।
सरकारले बिनातयारी र पूर्वाधारबिनै भिसिटिएस प्रणाली लागू गरेको भन्दै व्यवसायीले विदेशबाट आयात भएका र देशभित्रका सामान ओसारपसार रोकेका हुन्। व्यवसायीहरुले आफ्ना मालबाहक ट्रक घर तथा ग्यारेजमा थन्काएका छन्।
व्यवसायीहरुले आफ्ना मालबाहक ट्रक घर तथा ग्यारेजमा थन्काएपछि दैनिक ३५ देखि ४० करोडको हाराहारीमा राजस्व संकलन गर्ने भैरहवा भन्सार कार्यालयमा निकै न्यून मात्रामा राजश्व संकलन भएको छ।
दैनिक ३ सय ५० देखि ४ सय ५० को संख्यामा भन्सारमा मालबाहक गाडी आउने गरेकोमा त्यो संख्या घटेर दैनिक ५० को हाराहारीमा झरेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार दैनिक ३५ देखि ४० करोडको हाराहारीमा राजस्व संकलन हुने गरेकोमा अहिले राजस्व असुली घटेर दैनिक ३/४ करोडको हाराहारीमा मात्र संकलन हुने गरेको छ।
भारतबाट मालसामान लिएर आउने मालबाहक ट्रक र त्यहाँका ट्रान्सपोर्ट कम्पनीहरुले नै नेपालका लागि सामानको लोड गर्न बन्द गरेका छन्।
भारतबाट सामान लिएर आउने मालवाहक ट्रक भन्सार विन्दुबाट प्रवेश गरेसँगै नेपाल सरकारले सुरु गरेको भिसिटिएसमा जानुपर्ने मात्र नभई भारतबाट सामान ढुवानी गर्दाको भाडामा नेपालमा मूल्य अभिवृद्धि कर समेत बुझाउनुपर्छ।
भारतीय भूमिमा नेपाल प्रवेशका लागि मालवाहक ट्रकहरुको लामो लाइन हुने भएतापनि नेपालमा ढुवानी सम्बन्धमा प्रविधिमा आधारित नयाँ नियम लागू हुने खबर पाएपछि भारतका व्यवसायीले एक हप्ता अघि देखि नै मालसामान लोड गर्न रोकेका थिए।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले अति विकसित राष्ट्रमा लागू हुने खालका नीति तथा कानुन नेपालका उद्योगी व्यवसायीले थेग्न नसक्ने खालका भएकाले बिरोध गरिएको जनाए। अध्यक्ष भण्डारीले नयाँ नियम कानुन लागू गर्न सिकाइ र प्राविधिको सहयोगका साथै प्रयाप्त समयको आवश्यकता रहेको समेत बताए।
सरकारले बजेट मार्फत ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवाहक ट्रकलाई अनलाईन मार्फत निगरानी गर्न ल्याएको नीति नसच्याएसम्म मालवाहक गाडी र ट्रान्सपोर्ट सञ्चालन नगर्ने व्यवसायीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।