काठमाडौं- गत असार ३१ गते उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ‘सुखद खबर’ भन्दै नेपालले भारतमा विद्युत निर्यात गर्न थालेको बताए।
रानीजमरा–कुलरिया सिँचाइ आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आएको तथा असार अन्तिम साता देशभर भएको भारी वर्षा तथा मौसमसम्बन्धी जानकारी दिन मन्त्रालयले उक्त पत्रकार सम्मेलन आयोजना गरेको थियो। तर, सोही कार्यक्रममा मन्त्री पुनले नेपालले भारततर्फ विद्युत निर्यात गर्न थालेको ‘सुखद खबर’ सुनाएका थिए।
लगातार वर्षाका कारण इन्द्रसरोवर भरिएपछि कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिएका कारण नेपालमा मागभन्दा बढी विद्युत उत्पादन भएर भारततर्फ निर्यात गरेको उर्जामन्त्री पुनको भनाइ थियो।
‘हामीले विभिन्न ७ वटा बिन्दुबाट भारतमा विद्युत निर्यात गर्यौं, जुन सुखद कुरा हो। अहिले उत्पादन बढी भएका कारण भारततर्फ निर्यात गर्न सफल भएका हौं। आगामी दिनमा हामीले इनर्जी बैंकिङको अवधारणा पनि अगाडि बढारहेका छौं,’ उर्जामन्त्री पुनले भनेका थिए।
मन्त्री आफैंले नेपालबाट भारत विद्युत निर्यात हुन थालेको खबर सुनाएपछि त्यसले सञ्चारमाध्यममा पनि राम्रै स्थान पायो। मन्त्री पुनले 'निर्यात’ सम्भव हुनुको कारण यसरी खुलाएका थिए, ‘बाढीका कारण नेपालको विद्युत माग घट्यो। तर, यही बेला कुलेखानी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने अवस्था आएपछि दैनिक १ सय ५० मेगावाटदेखि २ सय मेगावाटसम्म विद्युत भारत निर्यात भइरहेको छ।’
तर, मन्त्री पुनले भनेजस्तै त्यो ‘विद्युत निर्यात’ र कुनै ‘खुसीको खबर’ नभई नेपालमा बाढीका कारण विद्युत माग आधाभन्दा कम भएपछि उत्पादित विद्युत खेर नजाओस् भनेर भारत पठाइएको थियो। जुन न त नयाँ अभ्यास थियो न त सधैंका लागि नै सुरु गरिएको प्रणाली। नेपालमा मागभन्दा बढी विद्युत उत्पादन हुँदा यसअघि पनि नेपालबाट भारततर्फ विद्युत पठाइन्थो। यस अर्थमा यो विद्युत निर्यात (इनर्जी एक्स्पोर्ट) नभई विद्युत साटासाट (इनर्जी एक्सचेन्ज) मात्र थियो।
'इनर्जी एक्सचेन्ज' अर्थात नेपालमा आवश्यकता हुँदा भारतबाट विद्युत ल्याउने र मागभन्दा बढी विद्युत उत्पादन हुँदा भारततर्फ पठाउने काम यसअघि पनि हुने गरेको नेपाल विद्युत प्राधिकणअन्तर्गतको विद्युत् व्यापार विभाग प्रमुख प्रवल अधिकारी बताउँछन्।
असार ३१ गते उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री पुन।
‘नेपाल र भारतबीच भएको विद्युत व्यापारसम्बन्धी सम्झौताअनुसार ‘यज एन्ड ह्वेन रिक्वायर्ड’ अर्थात् चाहेको बेला विद्युत लिन–दिन सक्ने व्यवस्था रहेको छ। सानो परिमाणमा त यसरी हरेक वर्ष नै गइरहेको हुन्छ,’ अधिकारी भन्छन्। त्यसरी भारत पठाइएको विद्युतको मूल्य नेपालले आयात गरेको कूल विद्युतको मूल्यबाट घटाएर प्राधिकरणले बाँकी रकम तिर्दै आएको छ।
दैनिक २ सय मेगावाट विद्युत भारत पठाउन कसरी सम्भव भयो?
असार अन्तिम साता अर्थात् २७ गतेदेखि मुलुकभर नै अविरल वर्षा सुरु भएपछि अधिकांश ठाउँमा विद्युत सेवा अवरुद्द भयो। पूर्वी तराईका जिल्लाहरु जलमग्न भएपछि उद्योगधन्दा सञ्चालनमा आएनन्। सोही बेला ९० मेगावाट उत्पादन क्षमताको कुलेखानी जलाशययुक्त आयोजना पनि पूर्ण क्षमतामा चलाउनुपर्ने अवस्था आयो। समग्रमा यही कारण थियो, जसका कारण असार २९ र ३० गते दैनिक १ सय ५० मेगावाट तथा ३१ गते २ सय मेगावाट विद्युत भारततर्फ पठाइएको थियो।
दैनिक १२ मेगावाट बराबर औसत विद्युत माग रहेकोमा भारी वर्षा र बाढीका कारण असार अन्तिम साता उक्त माग ४ सय मेगावाटदेखि ६ सय मेगावाटसम्म घटेर ६ सयको हाराहारीमा पुगेको प्राधिकरणका प्रवक्तासमेत रहेका अधिकारी बताउँछन्। यसरी बाढीको प्रभावका कारण उद्योग बन्द हुनु तथा नेपालमा आधा माग घटेको अवस्थामा कुलेखानी आयोजना पनि पूर्ण क्षमतामै सञ्चालन भए पनि नेपालको विद्युत भारत पठाइएको उनको भनाइ छ।
‘यो नियमित प्रकृया जस्तै हो, जुन नेपाल र भारतको पावर एक्सचेन्ज कमिटीको कार्यक्षेत्र र अधिकार भित्र रहन्छ,’ अधिकारी भन्छन्।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा विभागका प्रमुख हरराम न्यौपानेका अनुसार अधिकांश सबस्टेसन डुबानमा परेका, ट्रान्सफर्मर पड्किएका तथा प्रशारणलाइनमा क्षति पुगेका कारण मुलुकभरको विद्युत माग एकाएक घटेको थियो। ३३ केभी क्षमताका एक दर्जन भन्दा बढी सबस्टेसनहरु वर्षात र बाढीका कारण प्रभावित भए। जसमध्ये ओखलढुंगा, खोटाङ र कटारी सबस्टेसनका ट्रान्सफर्मरहरु ३ दिनसम्म सञ्चालनमा आउन सकेनन्। त्यसैगरी कटारी, यदुकुवा, जलेश्वर, गौर र हर्शाहा सबस्टेसनबाट पनि २ दिनसम्म विद्युत प्रवाह हुन नसकेको न्यौपानेको भनाइ छ।
बाढीकै कारण देशभर २ हजार ३ सय भन्दा बढी ट्रान्सफर्मर बिग्रिएका छन्। काठमाडौं क्षेत्रीय कार्यालयअन्तर्गत १ सय ५०, विराटनगर क्षेत्रीय कार्यालयअन्तर्गत ४ सय भन्दा बढी, जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत १ हजार भन्दा बढी र हेटौंडा क्षेत्रीय कार्यालयअन्तर्गत ८ सय भन्दा बढी ट्रान्सफर्मर बिग्रिएको न्यौपानेले बताए। जसमध्ये २ दर्जन भन्दा बढी ट्रान्सफर्मर अझै बनिसकेका छैनन्।
कसरी हुन्छ दुई देशबीच विद्युत साटासाट?
सुरुमा ५ मेगावाटबाट सुरु भएको विद्युत आदानप्रदान धेरै समयसम्म ५० मेगावाटसम्म मै चलिरहेको थियो। तर, पछिल्लो समय भने नेपालले आवश्यक परेको जति भारतबाट आयात गर्दै आएको छ। हाल नेपाल-भारतबीच सञ्चालनमा रहेका अन्तरदेशीय प्रशारणलाइनको क्षमताले भ्याएसम्मको विद्युत आयात हुने गरेको छ।
आर्थिक वर्ष २०७५/७६ मा नेपालले भारतबाट करिब २३ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गरेको छ भने निर्यातको परिणाम १२ करोड रुपैयाँ बराबर मात्रै रहेको छ। अर्थात् यसवर्ष करिब १२ करोड रुपैयाँ बराबरको विद्युत नेपालले निर्यात गरेको देखिन्छ।
भारतसँग विभिन्न तीनवटा दरमा विद्युत खरिद हुँदै आएको छ भने नेपालको विद्युत भारतले प्रयोग गर्दा पनि सोही दरमा लिने गरेको छ। ढल्केबर–मुजफ्फरपुर प्रशारणलाइनबाट आउने विद्युत प्रतियुनिट ४.३३ भारतीय रुपैयाँ, टनकपुर–महेन्द्रनगर प्रशारणलाइनबाट आउने विद्युत प्रतियुनिट ४.१८ भारतीय रुपैयाँ र अन्य १३२ केभी प्रशारणलाइनबाट आउने विद्युत् प्रतियुनिट ६.१८ भारतीय रुपैयाँका दरले नेपालले किन्दै आएको छ।
नेपालबाट भारत विद्युत पठाउँदा पनि सोही दर लागू हुन्छ। तर, हालसम्म नेपालबाट पठाएको विद्युत १ सय ३२ केभी प्रशारणलाइनबाट मात्र गइरहेकाले उक्त विद्युत ६.१८ भारतीय रुपैयाँ प्रतियुनिटका दरले भारत भएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा नेपालले न्यूनतम १ सय मेगावाट र अधिकतम ५ सय मेगावाट विद्युत दैनिक रुपमा भारतबाट आयात गरेको छ। नेपाल र भारतको उत्तराखण्ड जोड्ने गरी ११ किलोभोल्ट प्रशारणलाइन, उत्तर प्रदेशसँग जोड्ने गरी नाम्पारा–नेपालगञ्ज र बिहारसँग जोड्ने गरी १ सय ३२ केभी क्षमताका कटैया–कुशाहा-१, कटैया–कुशाहा-२, रामनगर–गण्डक र रक्सौल-परवानीपुर प्रशारणलाइनबाट विद्युत आदानप्रदान हुँदै आएको छ। यसका अतिरिक्त रक्सौल, जलेश्वर र सिराहाका ३३ केभी प्रशारणलाइनबाट पनि बिहारसँग विद्युत आदानप्रदान हुँदै आएको छ।
नेपालले भारतको बिहार राज्यबाट सबैभन्दा धेरै विद्युत आयात गर्दै आएको छ भने निर्यात गर्दा पनि बिहारमा नै बढी पठाइएको छ। त्यसो हुनुको कारणमध्ये बढी क्षमताका अन्तरर्देशीय प्रशारणलाइन यसै क्षेत्रमा हुनु पनि एक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।