काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी पूर्व एमाले पक्षले आफ्नो भागमा परेको विभागका मुख्य पदमा नेताहरूको कार्य विभाजन टुंग्याएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पूर्व एमाले पक्षका नेताहरूले जिम्मेवारी भागवण्डा सहमतिमा टुंग्याएका हुन्।
आफ्नो पक्षका नेताहरूको जिम्मेवारी टुंग्याउन बिहीबार बालुवाटारमा भेला भएका पूर्व एमाले नेताहरूको जिम्मेवारी भागवण्डा गरिएको हो।
सचिवालय सदस्य बामदेव गौतमलाई 'सबैभन्दा शक्तिशाली' संगठन विभागको जिम्मेवारी दिइएको छ। पार्टीभित्रको दोश्रो वरियतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालले विदेश विभागको जिम्मेवारी पाएका छन्।
अर्का नेता झलनाथ खनालले नीति अध्ययन प्रतिष्ठान र ईश्वर पोखरेलले स्कुल विभागको जिम्मेवारी प्राप्त गरेका छन्। स्कुल विभागमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि दाबी थियो।
अर्थ र प्रचार विभागको जिम्मेवारी पूर्व माओवादीको भागमा परेको छ। नेकपाका ३२ केन्द्रीय विभागमा १८ पूर्व एमाले १४ पूर्व माओवादीलाई भागवण्डा गरिएको थियो।
आइतबार बस्ने सचिवालय बैठकले दुवै तर्फका विभागका नामावलीलाई अनुमोदन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।