चन्द्रमामा मानिस उत्रँदै गरेको पहिलो पटक थियो। त्यसको प्रत्यक्ष प्रसारण लाखौं जनाले हेरिरहेका थिए। १९६९ जुलाईमा अन्तरिक्षयात्री नील आर्मस्ट्रङ र उनका साथीहरु चन्द्रमामा एपोलो ११ मार्फत पाइला राख्न सफल भएको खबर आयो। तर अहिले पनि केही मानिस भने यो पत्याउन तयार छैनन्।
उनीहरु कहिल्यै पनि मानिसले चन्द्रमामा पाइला राखेको कुरामा विश्वास गर्दैनन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एक रिपोर्टले नै यो कुरा बताउँछ।
नासाको उक्त रिपोर्टमा अमेरिकी ५ प्रतिशत नागरिकले चन्द्रमामा मानवीय पाइला पुगेको कुरा झुटो हो भन्ने विश्वास गर्छन्। यस्ता मानिसको संख्या कम छ तर जति छन्, अफवाह फैलाउनका लागि उनीहरु पर्याप्त छन्।
‘चन्द्रमा छल’ आन्दोलन
चन्द्रमामा पहिलो मानवीय पाइला पुगेको कुरा छल मात्र भएको सिद्धान्तको समर्थन गर्ने मानिसको मुख्य तर्क भनेको १९६० को दशकमा अमेरिकी अन्तरिक्ष कार्यक्रममा प्राविधिक गडबडीका कारण चन्द्रमा मिसन असफल भएको भन्ने नै हो। यसका साथै यो पनि भनिन्छ कि युएसएसआरको विरुद्ध खडा हुन र अन्तरिक्षको दौडमा सहभागी हुनका लागि नासाले चन्द्रमामा मानिसले पाइला राखेको नाटक गरेको हुनुपर्छ।
नील आर्मस्ट्रङले चन्द्रमामा ओर्लेपछि भनेका थिए, ‘मानिसका लागि यो छोटो कदम हो। मानवजातिले एक ठूलो छलाङ।’
यसको पुष्टिमाथि उनीहरुले प्रश्न उठाउँदै अपोलो ११ फिर्ता आएपछि कहानी बनाएर त्यसलाई फैलाइएको दाबी गर्ने गरेका छन्।
यस्ता कहानीले प्रशस्त प्रचारमा १९७६ मा प्रकाशित भएको एक किताबले थप बल पुर्याएको देखिन्छ। ‘वी नेभर वान्ट टु द मुन : अमेरिकाज थर्टी बिलियन डलर स्क्यान्डल’ किताबले यो अफवालाई फैलाउन मद्दत गर्यो।
यो किताब पत्रकार बिल केसिङले लेखेका थिए। जो नासाको जनसम्पर्क विभाग समेत काम गरिसकेका व्यक्ति थिए।
यो किताबमा यस्ता केही तर्क र तथ्यहरुको उल्लेख गरियो जसका कारण चन्द्रमामा मानिसले पाइला राखेको कुरा झुट हो भन्ने दाबी गर्दै आएका व्यक्तिहरुले समर्थन गरे।
विनाहावा चन्द्रमामा फरफराइरहेको झन्डा
किताबमा यस्तो तस्बिर समावेश गरियो, जसमा झन्डा फहराइरहेको थियो। चन्द्रमाको सतहमा अमेरिकी झन्डा फराउनका लागि हावा नै नभएको तर्क किताबमा गरिएको थियो। त्यस्तै उक्त झन्डाको पछाडि कुनै पनि ताराहरु समेत नदेखिएकाले शंका गर्ने किताबमा उल्लेख थियो।
क्यालिफोर्नियाको विश्वविद्यालयमा अनुसन्धान गरिरहेका खगोलशास्त्री माइकल रिच चन्द्रमामा मानवीय पाइला पुगेको कुरा झुट नभएको बताउँदै त्यसलाई गलत पुष्टि गर्न तर्क दिन सकिने विश्वास गर्छन्। ‘यस दाबीको झुटो देखाउन कैयौं वैज्ञानिक तर्क दिन सकिन्छ,’ रिचले भने, ‘नील आर्मस्ट्रङ र उनका साथी बज अल्ड्रिनले आफ्नो बलले सतहमा झन्डा गाडेका थिए। त्यसमा चट्टान देखिएको थियो। यसबाहेक झन्डाको आकार यस्तो हुनुमा चन्द्रमामा रहेको गुरुत्वाकर्षण हो। जहाँ पृथ्वीको भन्दा ६ गुना कम हुने गर्दछ।'
तारा विनाको आकाश
चन्द्रमामा मानिस अवतरण भएको झुट मान्ने मानिसहरु झन्डाको तस्बिरलाई लिएर अर्को तर्क गर्ने गर्छन्।
तस्बिरमा विना ताराको आकाश देखिएकाले यो बनावटी नै भएको उनीहरुको तर्क छ। चन्द्रमा पुगेको प्रमाणको रुपमा जुन तस्बिर बाहिर आयो, त्यसमा उज्यालो र अँध्यारो समान भएको उनीहरुको तर्क छ।
रोचेस्टर इष्टिच्युट अफ टेक्नोलोजीमा कार्यरत एस्ट्रोफिजिक्सका प्रोफेसर ब्रायन केबरेलिनले यस्तो हुनुको कारण चन्द्रमाको सहतमा सूर्यको रोशनी सिधा परेको र यो तस्बिर धेरै चम्किलो देखिएको बताएका छन्। यस्तो प्रकाशले ताराहरुको उज्योलोलाई समेत सुस्त गर्ने उनको तर्क छ। यही कारण अपोलो ११ को मिसनका तस्बिरमा ताराहरु कतै नदेखिएको र उनीहरुको प्रकाश कम भएको उनको तर्क छ।
खुट्टाको छाप नक्कली
चन्द्रमामा देखाइएको खुट्टाको निसाना पनि यो अफवाहको एक हिस्सा हो। चन्द्रमामा आर्द्रता वा गिलोपनका कारण यस्तो छाप नबस्ने उनीहरुको तर्क छ।
एरिजोना स्टेट युनिभर्सिटीका प्रोफेसर मार्क रोविन्सन यसको वैज्ञानिक स्पष्टीकरण दिँदै भन्छन्, ‘चन्द्रमा माटोको धुलो र चट्टानका टुक्राहरुको धुलोले ढाकेको छ, जसको नाम ‘रेजोलिथ’ राखिएको छ। यसमा पाइला राख्दा सहज रुपमा संकुचित हुने गर्छ।’
टुक्रा माटोका कण पनि यसमा मिसिएका छन् र त्यसैले पाइला हटाउँदा त्यसको छाप देखिन्छ।
‘चन्द्रमामा रहेका रहेका यस्ता पाइलाका निसाना लाखौं वर्षसम्म यस्तै रहन सक्छन,’ मार्क भन्छन्, ‘किनकि चन्द्रमामा कुनै पनि वायुमण्डल छैन।’
यस्तो प्रकाशमा अन्तरिक्षयात्री कसरी बाँचे?
चन्द्रमा पाइला राखेको विषयलाई गलत भन्नेहरुको सबैभन्दा प्रसिद्ध तर्क यत्रो प्रकाशमा उनीहरु कसरी बाँचे भन्ने रहेको छ। पृथ्वीको चारैतिर प्रकाशको एक बेल्ट रहेको छ। जसमा अन्तरिक्ष यात्रु बाँच्न नसक्ने उनीहरुको तर्क छ। यो बेल्ट बैन ऐलनको नामले चिनिन्छ। यसले हावा र पृथ्वीको चुम्बकीय सतहलाई जोड्ने काम गर्दछ।
अन्तरिक्षको दौडको सुरुवाती समयमा यो प्रकाशबारे वैज्ञानिकहरुको पहिलो चिन्ता थियो। तत्कालीन समयमा यो अन्तरिक्षयात्रीका लागि खतरा हुने उनीहरुको विश्वास थियो। तर नासाका अनुसार अपोलो ११ ले बेन लेनमा दुई घन्टाभन्दा लामो समय बिताएको थियो। जहाँ प्रकाश पुगेको हुन्छ, त्यहाँ जम्मा ५ मिनेटमात्र समय उनीहरुले बिताएका थिए। यसको मतलब उनीहरुले खतरा हुने स्थानमा धेरै समय बिताएनन्।
नासाको अपोलो अवतरणसँग जोडिएका केही तस्बिर हालैमात्र सार्वजनिक भएका छन्। जसले चन्द्रमामा मानव पाइला पुगेको थियो भन्ने थप पुष्टि गर्छ।
तस्बिरबाहेक अपोलो ११ को अवतरण साइट जहाँ माटोमा छोडिएको निसाना र चन्द्रमामा मोड्युलको अवशेष देख्न सकिन्छ।
एलआरओ देखाएको छ कि चन्द्रमामा अवतरण गर्ने ६ अन्तरिक्षयात्रीद्वारा गाडिएको झन्डा अझै पनि कायम छ। चन्द्रमाको सतहमा जाँच गर्दा यसको छायाँ अहिले पनि देखिएको पत्ता लागेको छ।
यदि यस्तो नहुँदो हो त…
माथि उल्लेख गरिएका अफवाहको अस्विकार गरिसकिएको छ किनकि यो घटना निकै प्रसिद्ध र दुनियाँभर फैलिइसकेको छ। जत्ति अफवाह चले पनि १९६९ मा नील आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला राखेका थिए।
यसरी अफवाह फैलाउनेसँग सोध्न सकिने प्रश्न के हो भने यदि यो झुट हो भने सोभियतले चन्द्रमामा आफ्ना मानिस पठाउने गोप्य कार्यक्रम किन सञ्चालन गरेको थियो त?
नासाका पूर्व मुख्य इतिहासकार रोवर्ट लोयनियस भने चन्द्रमामा मानिस नपुगेको भनेर फैलाइएको कुरा हल्ला मात्र भएको बताउँछन्। ‘यदि चन्द्रमामा मानिसले पाइला राखेका थिएनन् भने तत्कालीन समयमा सोभियत किन विरोध नगरी चुप बस्यो? उक्त समयमा ऊसँग यस्तो गर्ने हिम्मत र साहस दुवै थियो,’ उनले भने, ‘यसका बारेका उसले एक शब्द पनि भन्न चाहेन।'
(बिबिसी हिन्दीमा प्रकाशित यो सामग्री दुर्गा दुलालले अनुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।