वासिङ्टन- डेमोक्र्याटिक पार्टीको वर्चश्व रहेको अमेरिकी तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ्स' (कंग्रेस)ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघन्टा १५ अमेरिकी डलर बनाउनेसम्बन्धी विधेयक पारित गरेको छ।
तर, रिपब्लिकन पार्टीको वर्चश्व रहेको माथिल्लो सदन 'सिनेट'ले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ। तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएमा राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयकको पक्षमा २ सय ३१ मत र विपक्षमा १ सय ९९ मत खसेको थियो। विधेयकको पक्षमा डेमोक्र्याट सांसदले मतदान गरेका थिए भने रिपब्लिकनले विपक्षमा मतदान गरेका थिए।
यो विधेयक स्वीकृत भई लागू भएमा न्यूनतम ज्याला हालको भन्दा दोब्बर हुनेछ। हाल अमेरिकामा न्यूनतम ज्याला प्रतिघन्टा ७.२५ डलर छ। अमेरिकामा न्यूनतम ज्याला सन् २००९ यता परिवर्तन भएको छैन।
अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेलले तल्लो सदनबाट पारित भएको विधेयक अस्वीकार्य रहेको भन्दै त्यसलाई सिनेटमा छलफलसमेत नगरिने जिकिर गरे।
'अनुसन्धानहरुले न्यूनतम ज्यालालाई १५ डलर पुर्याउँदा रोजगारी गुम्ने र सुधारोन्मुख अमेरिकी अर्थतन्त्रमा ठूलो क्षति पुग्ने देखाएका छन्,' मिचेलले ट्विटरमा लेखेका छन्, 'हामी यो विधेयकलाई सिनेटमा छलफल गर्ने स्थितिमा पनि छैनौं।'
बजेटसम्बन्धी कङ्ग्रेस बजेट कार्यालयले यसै महिनाको सुरुमा प्रकाशन गरेको एक प्रतिवेदनमा सन् २०२५ सम्ममा न्यूनतम ज्याला १५ डलर पुर्याइए यसबाट एक करोड ७० लाख कामदारले थप भुक्तानी पाउने तर १३ लाख रोजगारी गुम्ने बताएको छ।
बेरोजगारी दरमा सामान्य वृद्धि
अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ।
जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरुको संख्या २ लाख ८ हजारबाट वृद्धि भएर दुई लाख १६ हजार पुगेको छ। यसैबीच, अघिल्लो साताको तथ्यांकमा संशोधन गरी बेरोजगार भत्तामा दाबी गर्नेहरुको संख्या २ लाख ८ हजार देखाइएको थियो।
श्रम विभागको तथ्यांकले बेरोजगार भत्ताको दाबी गर्नेहरुको संख्या कम हुनुको अर्थ रोजगारीबाट विमुख हुनेको संख्यामा कमी नआएको देखाउँछ। अमेरिकामा केही वर्षदेखि बेरोजगारको संख्या तीन लाखभन्दा कम देखिएको छ।
तर, अमेरिकी श्रम बजारमा गत जुन महिनामा २ लाख २४ हजार रोजगारी थप भएको पनि विभागले जनाएको छ। अमेरिकी तथ्यांक ब्युरोले अमेरिकी बेरोजगारी दर ३ दशमलब ७ प्रतिशतको हाराहारी मात्र रहेको बताएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।