रोल्पा– शिलान्यास भएको दश वर्षपछि माडीखोला पुलको निर्माण सम्पन्न भएको छ। उक्त पुल उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीको गाउँ जोड्ने पुल हो।
२०६५ सालमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठी र उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले संयुक्त रुपमा शिलान्याश गरेको उक्त पुल ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो।
पहिलो निर्माण व्यवसायीले समयमै काम नगरेपछि सरकारले पुनः टेण्डर आह्वान गरी दोश्रो लाई जिम्मेवारी दिएपश्चात पुल निर्माण सम्पन्न भएको हो।
पुल निर्माणसँगै रोल्पाको पश्चिम भेग सदरमुकामसँग यातायात सञ्जालमा जोडिएका छन्। पुल निर्माणपछि जिल्लाका आधा दर्जन बढी गाउँपालिकामा आवातजावतमा सहज हुने भएको छ।
सरकारले पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै दोश्रो पटक टेण्डर आह्वान गरी अर्को निर्माण कम्पनीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो।
१७ महिनाभित्र निर्माण कार्य सक्ने गरी एसियाटिक राज जेवी कन्ट्रक्सन रोल्पाले उक्त निर्माण कार्यको जिम्मा पाएको हो।
अघिल्लो वर्ष आषाढ ३१ गते सम्झौता गरी सोही वर्षको भाद्र १ गते देखि गरिएको पुल निर्माण ११ महिनामा सम्पन्न भएको हो। उक्त पुल तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको निर्माण व्यवसायी राजवीर घर्तीले जानकारी दिए। पुलबाट केहीदिन भित्रै गाडी आवतजावत हुने बताइएको छ।
यसअघि निर्माण आरम्भ गरिएको १० वर्षमा २ वटा पिलर मात्र ठड्याएर बेवाारिसे बनेको थियो। ०६५ सालमा सडक विभागमार्फत् गरिएको टेण्डरबाट काठमाडौंमा रहेको लामा/एडी/धर्मेन्द्र जेभिनिर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएको थियो।
सुरुवाती चरणमा निर्माणको केही काम गरे पनि राजनैतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माण कार्य आलटाल गरेसँगै निर्माण कार्य अनिश्चित बनेको स्थानीयहरूले बताए।
निर्माण कार्यलाई तिव्रता दिने उद्देश्यले रोल्पाका स्थानीय राजनैतिक दल र सामाजिक संघ संस्थाको टोली सडक डिभिजन कार्यालय प्यूठान समेत पुगेको थियो।
राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टकाअनुसार प्यूठानको स्थानीय प्रशासन, सडक डिभिजन कार्यालय, रोल्पाको सर्वपक्षीय टिम र निर्माण व्यवसायी दशौदीबीच छिटै निर्माण सम्पन्न गर्ने सहमति भएको थियो।
‘अविलम्ब काम सुरु गर्ने सहमति भएपछि ठेकेदारले अर्को एउटा पिलर ठाडो पार्ने बाहेक अरु थप काम गरेनन्,’ विष्टले भने।
पुल निर्माणका क्रममा आफ्नो विभिन्न निर्माण सामग्री हराएको तथा लागत इष्टमेट भन्दा बढी काम थपिएको भन्दै निर्माण व्यवसायीले क्षतिपूर्ति माग गर्दा निर्माण ठप्प भएको थियो।
अघिल्लो निर्माण व्यवसायीसँग ४ करोड बढी लागतमा सम्झौता भएको थियो। ती निर्माण व्यवसायीले पटक पटक गरी १ करोड बढी भुक्तानी लिइसकेको सडक डिभिजन कार्यालय प्यूठानले जानकारी दिएको छ।
सम्झौता बमोजिम ६२ मिटर लम्बाइको पुल मात्रै बनाउनु पर्नेमा २ मिटर पछि थप भएपछि आफू घाटामा जाने भएकाले बजेट थप गर्ने प्रक्रियामा लागेको दशौदीले बताउँदै आएका थिए। सरकारले सुरुमा गराएको लागत विवरण नै गलत रहेको दशौदीको आरोप थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।