राजविराज– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितहरूको उद्धार र राहतका लागि कांग्रेसका सांसदहरूले ५ दिन बराबरको तलब दिने निर्णय भएको बताएका छन्।
बाढीपीडितको अवस्था बुझ्न शुक्रबार सप्तरी आएका सभापति देउवाले उद्धार र राहतमा सरकार उदासिन देखिएको भन्दै आक्रोश पनि पोखे। ‘विपद्का बेला एकजुट हुनुपर्ने थियो,’ उनले भने, ‘तर, सरकार आफ्नै दम्भमा हिँडेको छ, यसले पीडितलाई थप पीडा दिने बाहेक सकारात्मक रिजल्ट दिँदैन।’
सरकारमै भएका मधेस केन्द्रित दलले पनि मधेसका जनताको भावनाको दुरुपयोग गरेको उनको आरोप छ। चुनावका बेला मधेसी भन्दै मत मागेका नेताहरूले जनता ५ दिनदेखि भोको र अनिदो रहँदा पनि वास्ता नगरेको उनले आरोप लगाए।
उनले राहत र पुनर्स्थापना तथा दिगोरुपमा समस्या समाधानका लागि संसद्मा जोडदार आवाज उठाउने प्रतिवद्धता पनि जनाए।
बाढी प्रभावित क्षेत्रको अनुगमन
सभापति देउवाले सप्तरीका विभिन्न बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन्। उनले सबैभन्दा पहिले सुरूङ्गा नगरपालिका-८, धाँतीका बाढीपीडित परिवारलाई भेटे। बाढीले धाँतीका ६ परिवारको ९ वटा घर बगाउँदा ३० जना विस्थापित भएका छन्।
बाढीले घरै बगाएपछि ४ दिन छिमेकीको घरमा बसेको र २ दिनदेखि भोकै बसेको मोहम्मद अब्बास मियाँले दुखेसो पोखे।
धाँतीबाट निस्केका देउवाले सोही नगरपालिकाको वडा नम्बर ४, मौवाहा बेल्ही र सप्तकोशी नगरपालिका-१, फत्तेपुरमा बाढीपिडितसँग पनि भेट गरेका छन्।
असार २८ गते बिहान विभिन्न खोलामा आएको बाढीले सप्तरीको सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी, तिलाठी कोइलाडी, बेदेवरसाइन, खडक, बलान बिहुल, सुरुङ्गा, शम्भुनाथलगायतका स्थानीय तहका दर्जनौं गाउँ डुबाएको छ।
बाढीका कारण २ हजारभन्दा बढी परिवार प्रभावित भएको र ५ सयभन्दा बढी परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।