काठमाडौं– चारैतिर हरियोपन। पाक्नै लागेका हरिया गोलभेंडा। मेलो मिलाएर बोटभित्र झार उखेलिरहेका 'कामदार'का दृश्य।
नागार्जुन नगरपालिकाको रामकोटस्थित सञ्चालित ‘मैत्री मंगलम अर्गानिक कृषि फार्म'को दृश्य हो यो। जहाँ माटोको मौलिक सुगन्ध सजिलै ठम्याउन सकिन्छ।
हामी पुग्दा यतिबेला गोलभेंडाको सिजन रहेछ। फार्मले ३ दर्जन बढी श्रमिकलाई त रोजगारी नै दिएको रहेछ।
'मनासिब आम्दानी छ,' काम गरिरहेका एक कामदार मुस्कुराउँदै भन्छन्।
१ सय २८ रोपनी जग्गामा सञ्चालित फार्मका साझेदार हुन् भोजपुरका निरबहादुर राउत र सिन्धुलीका एकबहादुर सिङ्तान।
'यो त वैदेशिक अनुभवको उपज हो,' सञ्चालकद्वय भन्छन्।
निरबहादुरसँग १४ र एकबहादुरसँग ४ वर्ष लामो वैदेशिक अनुभव छ।
विदेशबाट खुसी खोज्दै स्वदेश फर्किएका यी दुई साझेदारको भेट कसरी भयो? अनि स्वदेशमै लगानीको सोच कहाँबाट पलायो?
उनीहरूका व्यावसायिक सफलताका कथाबारे जान्नु थियो। फार्ममा 'अभ्यस्त' मुस्कानका साथ भेटिएका उनीहरूले हामीलाई आफ्ना सुखदु:खका कथा सुनाए।
000
निरबहादुर ८ कक्षामा पढ्दै थिए। घर छाडेर उनी दाइसँग काठमाडौं आए।
उनका दाइ रुद्रबहादुर राउत यति ट्राभल्समा काम गर्थे। पढाइको लागि दाइबाट सहयोग थियो। निरबहादुरले काठमाडौंमै आइकमसम्मको अध्ययन गरे।
युएईस्थित आबुधाबीमा उनका एक जना दाजु काम गर्थे। ती दाजुले उनलाई वैदेशिक रोजगारीमा निकै राम्रो कमाइ हुने बताए।
‘एकपटक विदेश जाऊँ न त,’ निरबहादुरले सोचे। होटललाइनमा राम्रो स्कोप भएकाले उनले होटलसम्बन्धी तालिम पनि लिए। उनले द्वारिका भिलेजमा ६ महिना तालिम लिए।
त्यसपछि २००१ फेब्रुअरी १ मा उनी वेटर कामका लागि युएई उडे।
युएईमा उनी पाँचतारे होटल रोयल मेरियनमा काम गर्न थाले। तलब मासिक १ हजार दिराम। ओभर टाइम पनि हुन्थ्यो। वेटरको कामबाट सुरु गरेका निरबहादुर होटलको सुपरभाइजरसम्म बने।
‘काम राम्रो थियो, कमाइ पनि त्यो बेलाको समयमा राम्रो हो,’ निरबहादुर सम्झन्छन्। युएई र नेपाल-आउने जाने क्रम चलिरहन्थ्यो।
नेपाल आउने क्रममा बीचमा उनले विवाह पनि गरे। विवाह गरेर पुनः परदेश तानिएका निरबहादुरसँगै केही वर्षपछि उनकी श्रीमती शर्मीलाले आफू पनि श्रीमानसँगै युएई जाने सोच बनाइन्।
त्यतिबेला जेठो छोरो ३ वर्षको थियो, छोरालाई आफन्तकोमा छाडेर शर्मिला भिजिट भिसामा युएई पुगिन्।
सन् २००८ मा युएई पुगेकी शर्मिला पनि ब्युटी पार्लरमा काम गर्न थालेकी थिइन्। शर्मिला र निरबहादुर युएईमासँगै थिए। तर परिवार र सन्तान टाढा थिए।
युएईमा उनीहरू सुखी त थिए तर खुसी थिएनन्। त्यसैले त पाँचतारे होटलको सुपरभाइजर पद छाडेर आफ्नै माटोमा फर्किने सोच बनाए उनीहरूले। ‘आफ्नै देशमा गएर लगानी गरेर केही गरौं भन्ने सोच पलायो,’ निरबहादुर सुनाउँछन्।
सन् २०१५ मा फर्किएका निरबहादुर राउतले ढुंगा खोज्दा देउता भेटेझैं परदेशको जीवन भोगेर देशमै केही गर्ने सोच बनाइ फर्किएका सिन्धुलीका यकबहादुर सिङताङलाई भेटे।
000
एकबहादुर मलेसियामा ४ वर्ष बिताएर फर्किएका हुन्। उनी मलेसियामा प्लम्बरको काम गर्थे। तलब ठीकै थियो। काममा चाहिँ धेरै खट्नुपर्द्थ्यो। २०६१ सालमा मलेसिया पुगेका एकबहादुरको कथा पनि निरबहादुरसँग मिल्दो छ।
उनी मलेसियामा २ वर्ष प्लम्बर र २ वर्ष कृषिमा काम गरेर फर्किएका हुन्।
‘मलेसियाको कृषि फार्ममा काम गर्दा सोचेँ, बरु आफ्नै देशमा गएर कृषि फार्म खोल्छु भन्ने सोच आयो,' एकबहादुुरले सुनाए।
२०६५ सालमा नेपाल फर्किएका उनले जाइका (जापान अन्तर्राष्ट्रिय सहयोग नियोग) मार्फत ४५ दिने कृषि तालिम लिने अवसर पनि पाए। उनले काठमाडौं नागार्जुन नगरपालिका रामकोटस्थित ४ रोपनी जग्गा भाडामा लिएर १ लाख ७२ हजार लगानीमा कृषि फार्म सुचारु गरे।
मलेसियाको मजदुरीले सिर्जाएको उनको सपना पूरा भयो।
एकबहादुरलाई उनका परिवारको राम्रो साथ थियो। श्रीमतीले पनि फार्मको काममा सघाउँथिन्। उनी खुसी थिए। फार्मबाट आम्दानी हुँदै गयो। ‘खटाइ अनुसार आम्दानी पनि एकदम राम्रो थियो,’ उनी आफ्नो खुसी साट्छन्।
फार्म खोलेको दुई वर्षपछि आफ्नै भान्जाहरूसँगको संयुक्त लगानीमा ५ रोपनीको फार्ममा १० रोपनी जग्गा थप गरी १५ रोपनीको कृषि फार्म सञ्चालन गर्न थाले। फार्म विस्तार गर्दै लगे।
उनी २७ रोपनी जग्गामा कृषि फार्म सञ्चालन गरिरहेका थिए। यसै समयमा युएईबाट फर्किएका निरबहादुरसँग भेट भएको थियो। ‘निरबहादुरले आफूसँगै मिलेर कृषि फार्म सञ्चालन गर्ने सुनाउनु भयो र साझेदारीमा नयाँ कृषि फार्म सुरु गर्ने निष्कर्षमा पुगियो,’ एकबहादुर भन्छन्।
एकबहादुरको ७५ लाख र निरबहादुरको ७५ लाख बराबर लगानीमा नागार्जुन रामकोटस्थित ‘मैत्री मंगल अर्गानिक कृषि फार्म’ सञ्चालनमा ल्याए।
१ सय २८ रोपनी जग्गा भाडामा लिएर सञ्चालनमा ल्याइएको कृषि फार्ममा विदेशमा भन्दा राम्रो कमाइ भइरहेको छ।‘परदेशमा घरपरिवार आफन्तसँग टाढिएर काम गर्नुभन्दा देशमा परिवारसँगै बसेर काम गर्न पाउँदा निकै खुसी छौं,’ एकबहादुर निरबहादुरसँगै उनीहरूका परिवार पनि खुसी छन्। फार्ममा उनीहरूसँगसँगै ४० जना अन्य श्रमिकहरूले पनि रोजगारी पाएका छन्।
‘परदेशमा अर्काको काम गरेर फर्किएका हामीले ४० जना युवालाई रोजगारी दिएका छौं,’ कामप्रति गर्व गर्दै एकबहादुर भन्छन्। फार्ममा गोलभेँडा, काँक्रो, सिमी, काउली, खुर्सानी लगायतका विभिन्न तरकारीहरू फलाउँछन्। फार्ममा सबैभन्दा बढी गोलभेँडा खेती लगाएका छन्।
‘मौसम अनुसारका थरिथरिका तरकारी लगाउँछौं,’ निरबहादुरले सुनाए। उनीहरूले फलाएको अर्गानिक तरकारी पोखरा, बर्दिबास, बुटवल, बल्खु, कालीमाटी, लगायतका विभिन्न स्थानसम्म निर्यात हुने गरेको छ।
‘उत्पादन राम्रो भइरहेको छ तर सोचेजस्तो बजारभाउ पाउन चाहिँ सकिएको छैन,’ निरबहादुर भन्छन्।
यद्यपि, देशको काम बेवास्ता गर्दै विदेशीने युवाहरूको लर्को लागिरहेको अवस्थामा विदेशबाट फर्किएर स्वदेशमै केही गर्ने सोच बनाएका युवाहरूलाई सरकारले सहयोग गर्नुपर्ने उनीहरू बताउँछन्।
लगानी अनुसारको अनुकूल बजारभाउ पाउन सके रोजगारीको खोजीमा विदेश भौतारिनु नपर्ने उनीहरूको तर्क छ। विदेशबाट फर्कने युवाहरूलाई यी दुई साझेदारको एउटै सुझाव छ, विदेशबाट कमाएको पैसा स्वदेशमै लगानी गर्न सके विदेशमा भन्दा राम्रो कमाइ गर्न सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।