बर्दिवासस्थित भत्किएको भप्सी खोलाको पुल, अहिले 'बेली ब्रिज' जडान कार्य भइरहेको छ।
जनकपुर- अविरल वर्षासँगै आएको बाढी तथा डुवानका कारण धनुषा र महोत्तरीका दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन्। प्रमुख सडकका साथै भित्री सडकहरु समेत अवरुद्ध हुँदा छिमेकी भारतबाट आएका मालबाहक सवारी गन्तव्यमा पुग्न पाएका छैनन्।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा भारतको बरौनीबाट महोत्तरीको जलेश्वर नाका हुँदै ट्यांकर भित्रिने गर्दछन्। तर, जनकपुर–जलेश्वर सडकखण्डको पिपरा र खैरबा भत्रे स्थानमा बाढीले बाटो बगाएपछि सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।
जनकपुर–जलेश्वर सडकखण्ड बन्द भएपछि भारतबाट आयात हुने दैनिक उपभोग्य सामग्रीसहित इन्धनसमेत आउन बन्द भएपछि बजारमा अभावसमेत देखिन थालेको छ।
झन्डै एक सातादेखि सडक अवरुद्ध भएपछि भारतबाट पेट्रोलियम पदार्थको आपूर्ति हुन नसकेको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी बताउँछन्। सवारी साधन सञ्चालन गर्न बाटो नभएपछि भारतको बरौनीबाट आएका ट्यांकरहरु जलेश्वर नाकामा थन्किएर बसेको उनले बताए।
भारी वर्षापछि गाउँ नै डुवानमा परेपछि स्थानीयवासीले नवनिर्मित जनकपुर–जलेश्वर सडक महोत्तरीको पिपरा नजिक आफैंले तोडेका थिए। गाउँलाई बाढीबाट जोगाउन त्यहाँका स्थानीयले प्रायः हरेक वर्ष बाटो काट्ने गरेका छन्। तर, सम्बन्धित निकायले ठोस उपाय खोज्न नसकेको बस व्यवसायी संघका अध्यक्ष चौधरीको गुनासो छ। हरेक वर्ष वर्षायाममा आउने यस्तो समस्यालाई समाधान गर्न स्थायी पुलको निर्माण हुनुपर्ने उनको भनाइ छ।
यता जनकपुरलाई भारतको पिपरौनसँग जोड्ने जनकपुर–जटही सडक खण्डको जटहीमा पुल भत्किँदा बाटो अवरुद्ध छ। भारतीय सीमा नजिकै रहेको जमुनी नदीको पुल बाढीले भत्काएपछि सडक अवरुद्ध भएको हो। जनकपुरबाट जटहीसम्म पुग्न समस्या नरहे पनि त्यहाँबाट भारत पुग्न गाडी सञ्चालन हुने अवस्था नरहेको अध्यक्ष चौधरीले बताए।
यसैगरी, पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित भप्सी खोलाको पुल बाढीले बगाएपछि अहिले 'बेली ब्रिज' जडान कार्य भइरहेको छ। बेली ब्रिज निर्माण भइरहे पनि डाइभर्सन तयार पारेर यस स्थानमा भने सवारी सञ्चालनमा ल्याइएको छ।
प्रमुख सडकबाहेक बाढीका कारण भित्री सडकहरु अवरुद्ध भएपछि प्रदेश २ का जिल्ला सदरमुकामसँग विभिन्न गाउँ तथा नगरको सम्पर्कविच्छेद भएको छ। बाढीका कारण सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावत गर्न समस्या भइरहे पनि सरोकारवाला निकायले मर्मतसम्भारतर्फ भने खासै चासो देखाएको छैन।
अविरल वर्षापछि आएको बाढीका कारण धनुषामा मात्रै साना-ठूला गरी झन्डै २ दर्जन सडक अवरुद्ध छन्। बस व्यवसायी संघका अध्यक्ष चौधरीका अनुसार जनकपुर–जटहीबाहेक जनकपुरबाट धनुषाको अन्य कुनै स्थानमा सवारीसाधन सञ्चालन हुन सकेको छैन।
उनका अनुसार जनकपुर–खजुरी–सघारा, जनकपुर–यदुकुहा, जनकपुर–सबैला,जनकपुर–भ्रमरपुरालगायतका सडकहरु हालसम्म अवरुद्ध छन्। यसैगरी महोत्तरीको जलेश्वर–सम्सी, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मठिहानी, जलेश्वर–रौजालगायतका सडकहरु बाढीपछि सञ्चालनमा आउन सकेको छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।