काठमाडौं – एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको दोस्रो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ।मलेसियाको किन्नारा ओभलमा जारी खेलमा भुटानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ।
१० ओभरको खेल सकिदासम्म भुटानको रन रेट २.१ छ। भुटानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेका छैनन। भुटानले १० ओभरमा ३ विकेटको क्षतिमा मात्र २१ रन जोडेको छ। नेपालले भुटानका सुरुवाती तीन विकेट लिइसकेको छ। कप्तान दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा दुई विकेट लिएका छन्।
नेपालका लागि पहिलो सफलता नन्दन यादवले दिलाए। यादवले भुटानका ओपनर जीवन घलेललाई १ रनमा आउट गरे।
पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। भुटान भने सिंगापुरसँग ९ विकेटले हारेको थियो।
पहिलो खेलमा बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा पनि जित निकाल्ने लक्ष्य राखेको छ। ‘हामी सबै खेल जित्नलाई यहाँ आएका हौं,’ प्रशिक्षक विनोद दासले भने, ‘उपाधि जित्ने हाम्रो लक्ष्य हो।’
पहिलो खेलमा गरेका गल्ती दोस्रो खेलमा नदोहोर्यासउने दासको भनाइ छ। ‘प्रत्येक खेलमा भएका गल्ती सुधार गरेर अघि बढ्नेछौं,’ दासले भने, ‘भुटानलाई पराजित गरेर जितलाई निरन्तरता दिन्छौं।’
थाइल्यान्डसँग नेपालले पहिलो ब्याटिङ गरेर २ सय ८१ रन बनाएको थियो। अनिल साहले ९१ तथा प्रनित थापा मगरले ५० रनको योगदान गरेका थिए। बलिङतर्फ सन्दीप लामिछानेले ७ विकेट लिएपछि थाइल्यान्ड २६ रनमै अलआउट भएको थियो।
समूह ‘ए’मा रहेको नेपालले सिंगापुरसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। नेपालसँग प्रतिस्पर्धा गर्नुअघि सिंगापुरले भुटान र थाइल्यान्डलाई हराइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।