काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्कुलिङ विभागमा दुई नेताको दाबी रहेपछि टुंगोमा पुगिएको छैन। पूर्व एमालेका चार नेताको कार्यविभाजन गरिएको समाचार बाहिर आएपनि नेता इश्वर पोखरेलको भने टुंगो नलागेको बताइएको छ।
संगठन विभागको दाबी गर्दै आएका पोखरेललाई जिम्मेवारी दिन खोजिएको स्कुल विभागमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि दाबी रहेपछि कार्यविभाजन हुन नसकेको हो।
दुई नेताको एउटै पदमा दाबी रहेपछि त्यसको समाधानका लागि पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले वैकल्पिक बाटो सुझाएका छन्। पूर्व एमालेमा कार्यान्वयन भइसकेको विगतको पद्धतिको नजिर देखाँउदै रिजाल भन्छन्, ‘विगत एमालेमा पार्टी प्रमुखहरू माधव नेपाल, झलनाथ खनाल र केपी ओली पार्टी स्कुल विभाग प्रमुख भएको नजिर छ।’
महत्वपूर्ण मानिने पार्टी स्कुल विभागका लागि नेकपामा कुरा मिल्न नसके उनले विकल्प देखाउँदै भने, ‘हाललाई पार्टी स्कुल विभाग अध्यक्षद्वयले संयुक्त रूपमा राख्नु उपयुक्त हुन्छ।’
पार्टी एकीकरण प्रक्रियामा महासचिवका आंकाक्षी पोखरेलले उक्त जिम्मेवारी पाउन सकेका थिएनन्। शक्तिशाली संगठन विभागमा अध्यक्ष प्रचण्डको बललाई वरिष्ठ नेता माधव नेपालले साथ दिएका थिए।
३२ विभाग रहेको सत्तारुढ नेकपामा १८ विभाग पूर्व एमालेको भागमा बाँकी पूर्व माओवादीलाई परेको थियो। पूर्वमाओवादीको भागमा महत्वपूर्ण मानिएको अर्थ र प्रचार विभाग परेको छ।
आइतबार बस्ने सचिवालयको बैठकले टुंगो लगाएका विभागका नामलाई अनुमोदन गर्नेछ। इन्चार्जमा पूर्व एमालेले ४६ र पूर्व माओवादीलाई ३१ गरी विभाजन गरिएको छ। जनवर्गीय संगठनमा पूर्व एमालेले करिब दुई तिहाई हात पारेको छ। जनवर्गीय संगठनमा १६ पूर्वएमाले र ६ माओवादीले नेतृत्व पाएका छन्।
७७ जिल्ला कमिटीको अध्यक्षमा पूर्वएमालेले ४४ र पूर्वमाओवादीले ३३ जिल्लामा नेतृत्व भागवण्डा गरिएको छ। प्रदेश इन्चार्जमा माओवादीको भागमा एक जना मात्रै परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।