इटहरी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेस डुबानमा परेको बेला सरकार चुप लागेर बसेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन इटहरीले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उनले सरकार लाचार भएकाले तराईमा समस्या आएको बताए।
आफू मधेसका विभिन्न स्थानमा घुमेर आएको र त्यहाँका जनता अत्यन्तै समस्यामा रहेको उनको भनाइ छ। तर, सरकारले पीडित जनताको घाउमा मलम लगाउने काम नगरेको, डुबानको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल नगरेको उनले बताए।
कार्यक्रमको सम्पूर्ण समय सरकारको विरोधमा खर्चिएका उनले सरकार अनावश्यक कर लगाउन लागिपरेको आरोप लगाए। 'प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको छ,' उनले भने, 'लेख्ने/बोल्ने अधिकार कुण्ठित हुँदैछ। ओली सरकारले केही गर्दैन।'
सरकारको नियन्त्रणमा मानव अधिकार हुन नसक्ने भन्दै उनले सरकार नसच्चिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।