मानिसले पहिलो पटक चन्द्रमा पुगेको आज ५०औं वर्ष पुगेको छ। २० जुलाई १९६९ मा अमेरिकी अन्तरिक्षयात्री नील आर्मस्ट्रङ चन्द्रमामा पहिलो पाइला राख्ने व्यक्ति भएका थिए।
नील नासाको सबैभन्दा दक्ष अन्तरिक्ष यात्रीमध्ये एक थिए। २० जुलाईमा जब उनी अन्तरिक्ष यात्रीको रुपमा चन्द्रमाको सहतमा पाइला अघि बढाउँदै थिए, यो मिसनमा जोडिएका हजारौं मानिसको धड्कन तीव्र बनेको थियो।
यो मिसनको सफलता नीलको कुशल क्षमता र परिस्थितिलाई सम्हाल्न सक्ने क्षमताले समेत काम गरेको थियो। नीलको यान छेउमा उबाड–खाबड चन्द्रमा थियो। इन्धन सकिँदै जान लागेको अलार्म बजिरहेको थियो। तर नीलले उक्त समयमा सहज रुपमा आफ्नो यानलाई चन्द्रमाको सतहमा उतारे। यो मानिसका लागि लामो छलाङ थियो। नीलले आफ्नो मिसनबारे अन्तर्वार्ता दिँदा यो सफलता हजारौं मानिसको योगदानका कारण सफल भएको भन्ने गरेका थिए।
नासाको अनुमानमा एपोलो ११ मिसनमा करिब ४ लाख मानिस जोडिएका थिए। अन्तरिक्षमा जाने यात्रुदेखि मिसन कन्ट्रोलर, ठेकेदार, इन्जिनियर, वैज्ञानिक, नर्स, डाक्टर, गणितज्ञ लगायत।
नीलसँगै बज एल्ड्रिन
चन्द्रमामा उत्रने लुनरले दुई जना लिएर गएको थियो। नीलसँगै थिए, बज एल्ड्रिन पनि।
मिसनको समयमा २०–३० जनाको कोर टिम हरसमय सक्रिय रहेका थिए। यसबाहेक नासाको ह्युस्टनस्थित मुख्यालयमा बोष्टनको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका सल्लाहकारको टिम नै खटिएको थियो।
चन्द्रमा उत्रँदा नील ३८ वर्षका थिए। त्यस्तै जोन ग्लेन पृथ्वीको परिक्रममा गर्ने पहिलो अन्तरिक्ष यात्री थिए। उनी ७७ वर्षको उमेरमा स्पेस सटल डिस्कभरीबाट १९९८ मा अन्तरिक्षा जाने सबैभन्दा पाका व्यक्ति थिए।
एपोलो कुल ११ वटा मिसनमा ३३ जना अन्तरिक्ष यत्रीहरु अन्तरिक्षमा पुगेका थिए। यसमध्ये २७ जना चन्द्रमा पुगे भने २४ जनाले चन्द्रमाको परिक्रमा गरेका थिए। १२ अन्तरिक्ष यात्रीलाई चन्द्रमाको सहतमा पाइला राख्ने मौका मिलेको थियो।
चन्द्रमा यात्राले झन्डै सम्बन्ध तोडियो
चन्द्रमा यात्रा गर्ने वैज्ञानिकहरुको जीवनमा धेरै रमाइला घटना मात्र भएका छैनन्। पारिवारिक तनावसमेत भोग्नुपरेको छ।
त्यसमध्येका एक चार्ली ड्युक हुन्। यही यात्राको क्रममा ड्युकले श्रीमतीसँगको सम्बन्ध नै झन्डै तोड्नुपरेको थियो। अर्का अन्तरिक्षयात्री जपनी सर्ननको त बिहे नै तोडिएको थियो। बज एल्ड्रिन मदिरा र डिप्रेसनको सिकार भएका थिए। एलन बीन कलाकार बने भने एड मिशेल रहस्यवादी।
यो चाहिँ पक्का देखियो कि चन्द्रमामा उत्रेका १२ अन्तरिक्ष यात्रु सधैंका लागि बदलिए।
एपोलो ११ मा महिला पनि थिए
एपोलो मिसनको कथामा कतै पनि महिलाको कुरा आएको सुनिँदैन। मिसनको सबै अन्तरिक्षयात्री पुरुष थिए। मिसन कन्ट्रोलर समेत पुरुष। टिभी प्रस्तोता पनि पुरुष नै।
तर टेलिभिजनमा केही महिला पनि देखिएका थिए। यी महिला अन्तरिक्ष यात्रुका श्रीमतीहरु थिए। यो मिसनमा हजारौं महिला समावेश भएका थिए। मिसन सफल बनाउन उनीहरुको भूमिका महत्वपूर्ण थियो। यसमा नर्सहरुसमेत रहेका थिए। केही गणितज्ञ महिला पनि मिसनमा जोडिए।
मिसन प्रोग्रामरदेखि अन्तरिक्ष यात्रुको स्पेस सुट सिलाउने जिम्मेवारी महिलाहरुले पाएका थिए। कैयौं महिला मिसन कन्ट्रोलरर्सका लागि तार बिछ्याउने परियोजनाको हिस्सेदार भएका थिए।
केप कैनाबरलस्थित मिसन कन्ट्रोलमा एक महिला इन्जिनियर रहेकी थिइन्। उनको काम सञ्चारका २१ च्यानलको मर्मत गर्नु थियो। जोआन मोर्गन नामकी उनले मिसनमा धेरै योगदान गरेकी थिइन्। कार्यस्थलमा महिलाका लागि अलग कक्ष र शौचालयसमेत निर्माण भएको थिएन।
१९६० मा एपोलो मिसन सुरु
यो मिसनको बिजारोपण जुलाई १९६० मा भएको थियो। तत्कालीन समयमा कुनै पनि मानिस चन्द्रमामा पुगेका थिएनन्। नासाले मर्करी मिसन सुरु गर्न तीन वर्ष बाँकी रहेको थियो।
एपोलो मिसन सुरुवात भने १९६१ मा भयो। अर्बौं डलरको यो प्रोजेक्ट तत्कालीन समयमा नासाको सबैभन्दा महत्वपूर्ण मिसन थियो। यसमा हजारौं वैज्ञानिक सहभागी थिए। अन्त्यमा ३३ अन्तरिक्ष यात्रीलाई छानेर तामिल दिइएको थियो।
आउँदो जुलाई २० मा मिसन सफलताको ५० वर्ष पूरा हुँदैछ। जब नील आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमामा पाइला राखे, त्यसबेला असम्भव काम सम्पन्न भएको थियो।
जब एलिनलाई पिसाबले च्याप्यो
यस्तै यो मिसनमा जाँदा अन्तरिक्षयात्री खाना के खान्छन्, पिसाब लागेमा उनीहरुले के गर्लान् जस्ता कुरामा धेरै चर्चा र चासो भएको थियो।
नासाका पहिलो अन्तरिक्षयात्री एलन शेपर्डले १९६१ मा आफ्नो उडान भरेका थिए। उड्नुअघि उनी जस्ता यात्रीलाई भरपुर मात्रामा खुवाउने गरिन्थ्यो। शेपर्डको पोषण र क्यालोरीले भरिपूर्ण भएको खाजा खुवाइएको थियो। जसमा फाइबर कम हुने गर्दछ। यसो किन गरिन्छ भने उनीहरुले उडिरहेको समयमा दिसा गरिरहनुपर्ने (मल त्याग) आवश्यकता हुँदैन।
मिसनभन्दा पहिलो अन्तरिक्षयात्रीलाई कफी पिउनसमेत रोक लगाइन्छ। पहिलो मिसनमा यस्तो एउटा घटना भयो कि पिसाब नलाग्ने सबै अनुमान फेल खाए।
पहिलो मिसन केवल १५ मिनेटको थियो। डाक्टरले सोचेका थिए, यति समय त शेपर्डले थेग्न सक्नेछन्। तर काउन्टडाउन नसकिँदै समस्या आइलाग्यो। अन्तरिक्षमा पुगेलगत्तै शेपर्डलाई पिसाब लाग्यो।
सोही दिन अमेरिकी टिभी च्यानल एनबिसीमा जे बारब्री यो मिसनको कमेन्ट्री गरिरहेका थिए। उनी अहिले पनि उक्त घटना सम्झन्छन्।
‘उनीहरुले एलन शेपर्डको रकेटको नोकमा क्याप्सुलझैं बन्द गरेर पठाएका थिए, तर पिसाब गर्ने कोही व्यवस्था थिएन। दुई घन्टापछि उनले मिसनको कन्ट्रोलरुमसँग पिसाब गर्ने अनुमति मागे। एक पटक मात्र नभई उनले आफूलाई पिसाबले च्यापेकाले कहाँ गर्ने हो भनी पटकपटक अनुमति मागे। अन्त्यमा नासाको कन्ट्रोल रुपले उनलाई पिसाब आफ्नै कपडामा फेर्ने अनुमति दियो। पिसाब गर्नका लागि कुनै पनि अतिरिक्त व्यवस्था नभएको भन्दै उनीहरुले आफ्नै कपडामा गर्न भनेपछि उनले पिसाब गरे। त्यसको नतिजा उनको स्पेससुटमा रहेको मेडिकल सेन्सर खराब भयो।
पिसाब गर्न कन्डमजस्तै थैलो
यही घटनाबाट पाठ सिकेर एपोलो मिसनमा नासाले अन्तरिक्ष यात्रीहरुका लागि व्यवस्था गर्यो। नासाले अन्तरिक्षयात्रीका लागि पिसा गर्न कन्डमजस्तै लाग्ने थैलो उपलब्ध गराएको थियो। यात्रुहरुले पिसाब गरेपछि त्यसलाई डिस्पोजलमा राखिन्थ्यो। त्यस्तै दिसा गर्नका लागि प्लास्टिकको ब्याग दिइएको थियो। उनीहरु आफूले सकेसम्म त्यसलाई कन्ट्रोल गर्ने गर्दथे। यसरी रोक्दा पनि असम्भव भएपछि मात्र उनीहरुले मलमूत्र विर्सजन गर्थे।
यसरी पहिलो पटक अन्तरिक्ष यात्राका क्रममा रोक्नै नसकेर बाध्यतामा परेका अन्तरिक्षयात्री हुन्, वाल्टर कनिंघम।
‘अन्तरिक्षमा सबै काम ठिकठाक भइरहेको छ भनेर सुनिश्चित गर्न एकदम मुस्किल थियो। तपाईं सबै कुरा रोकेर राख्न सक्नुहुन्छ तर मलमूत्र विर्सजन गर्न असम्भव रहेछ,' उनी भन्छन्, ‘ यसरी बाध्यतामा तपाईं मल प्लास्टिक ब्यागमा राख्नुहुन्छ। केही गोली हालेर त्यसको गन्ध रोक्न जरुरी हुन्थ्यो भने त्यसलाई नष्टसमेत गराउनुपर्ने हुन्थ्यो। यो एकदम खराब काम हो।’
(रिचर्ड होलिङ्गमले बिबिसी फ्युचरका लागि तयार पारेको यो सामग्री दुर्गा दुलालले अनुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।