राजविराज– पेस्तोल बोकेर स्थानीय व्यापारीलाई धम्क्याउने इलाका प्रहरी कार्यालय बोदेबरसाइनका सई अमिरी यादवलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले फिर्ता बोलाएको छ।
स्थानीयवासी र व्यापारीसँगको व्यवहार राम्रो नभएपछि यादवलाई जिल्लामा फिर्ता बोलाइएको हो। यादवलाई फिर्ता बोलाएर उनको ठाउँमा सई नारायण भट्टराईलाई खटाइएको एसपी मनोजकुमार यादवले जानकारी दिए।
बिहीबार स्थानीय बजारबाट बिक्री भएको सामान प्रहरीले पक्राउ गरी भन्सार बुझाएको र दुई जना व्यक्तिलाई थुनामा राखेको विषयमा शनिबार बिहानै छलफल गर्न कार्यालयमा पुगेका व्यापारीलाई सई यादवले धम्क्याएका थिए। यादवले व्यापारीलाई धम्क्याएको र दुर्व्यवहार गरेको बोदेबरसाइन नगरपालिकाका मेयर आतेसकुमार सिंह यादवले पनि पुष्टि गरे। ‘उनको (यादव) व्यवहार अलि रुखो छ। सिंगल–सिंगल खेल्ने भए आओ भन्दै धम्क्याएछन्,’ उनले भने, ‘आमाको नाम जोडेर गाली गरेपछि व्यापारीहरु आक्रोशित भएर आन्दोलनमा छन्।’ सई यादवले ‘आमाको दूध खाएको भए भिड्न आओ’ भन्दै धम्की दिएको व्यापारीहरुको भनाइ छ।
बिहानैदेखि बोदेबरसाइन बजार बन्द छ। सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले पनि व्यापारीप्रति प्रहरीको व्यवहार गलत देखिएको आरोप लगाए।
'प्रहरीका कारण व्यापार चौपट'
प्रहरीको आतंकले व्यापार/व्यवसाय तहसनहस भएको व्यापारीको गुनासो छ।
प्रहरीले खटाएका घुमुवाले पैसाका लागि व्यापारीलाई दुःख दिने गरेको बोदेबरसाइन नगर व्यापर समितिका सचिव अनिल सिंहले जानकारी दिए। पछिल्लो पटक गत बिहीबार बोदेबरसाइन नगरपालिका ५ स्थित जय माता दी ट्रेडर्स (कपडा पसल) बाट बक्री भएको करिब ७५/८० हजारको सामान नियन्त्रणमा लिएर प्रहरीले भन्सार बुझाएपछि समस्या सुरु भएको उनले जानकारी दिए।
भ्याट बिलसहित बेल्ही चेपेनाको पथ्थरगढास्थित राघव जेनेरल स्टोरका लागि लगेको सामान २/३ किलोमिटर पूर्व नपुग्दै खडक खोलाको छेउबाट नियन्त्रणमा लिइएको उनले जानकारी दिए। प्रदेश प्रहरीको घुमुवा (असई) मोतीराम महतोले नियन्त्रणमा लिएको सामान इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा राखी शुक्रबार भन्सार बुझाएपछि व्यापारीहरु आक्रोशित बनेको सिंहले बताए।
नियमअनुसार खरिदबिक्री भएको सामान भन्सार बुझाएको विषयमा कुरा गर्न शनिबार बिहानै इलाका प्रहरी कार्यालय बोदेबरसाइनमा जाँदा इन्चार्ज (सई) अमिरी यादवले अपशब्द प्रयोग गरी गाली गरेपछि व्यापारीहरु थप आक्रोशित भएको सिंहले बताए।
‘हामी सहज रुपमै कुरा गर्न गएका थियौं,’ सिंहले भने, ‘तिमीहरुले आमाको दूध खाएको भए अहिले फर्याइहाल, म पनि पेस्तोल बोकेर बसेको छु भन्दै सईले कुर्सी छोडेर उफ्रिएपछि अर्को विकल्प नै रहेन।’
गैरकानुनी भन्दै ४ लाख ९० हजारको बिगो बनाएर सामान बिक्री गर्ने जय माता दी ट्रेडर्सका सञ्चालक तथा व्यापार समितिका उपाध्यक्ष रामचन्द्र भगत र खरिदकर्तालाई पनि हाल भन्सार कार्यालयको थुनामा राखिएकाले आन्दोलन थप चर्काइने व्यापारीहरुले जनाएका छन्।
प्रहरीको सफाइ
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले भने भारतबाट अनधिकृत रुपमा ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको दाबी गरे। सामान वैधानिक भए अहिले पनि बिल देखाएकार भन्सारबाट छुटाउन सकिने भन्दै उनले प्रहरीले गलत मनसाय राखेर कसैलाई पनि दुःख नदिएको उनको जिकिर गरे।
घुमुवा असई मोतीराम पहिलैदेखि विवादित
बिहीबार व्यापारीको सामान पक्राउ गरेर विवादमा परेका प्रदेश २ प्रहरी कार्यालयका घुमुवा असई मोतीराम महतो पहिलादेखि नै विवादमा पर्ने गरेको पाइएको छ।
व्यापारीसँग पैसा मागेको र गैरकानुनी असुली गरेको पुष्टि भएपछि उनी दुई महिनाम्म निलम्बनमा परेका थिए। प्रदेश २ प्रहरी कार्यालयले उनलाई अनुसन्धानका लागि निलम्बनमा राखेको थियो। डेढ महिनाअघि मात्रै उनको निलम्बन फुकुवा भएपछि काममा खटिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
महतोले करिब १५ वर्ष अघिदेखि नै प्रहरीको घुमुवाका रुपमा काम गर्दै आएका छन्। सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा हवल्दार हुँदादेखि नै घुमुवा बसेका उनी पटकपटक विवादमा तानिँदै आएको प्रहरी स्रोतले नै जनाएको छ। विवादमा परेकै कारण अञ्चल प्रहरी कार्यालयमा कार्यरत रहँदा उनलाई सरुवा गरेर विराटननरस्थित रानी कार्यालयमा पठाइएको थियो।
सोही कार्यालयमा कार्यरत रहँदा करिब १० वर्षअघि सिरहाको लहानस्थित विशाल होटलमा पेस्तोल देखाएर मालिकलाई धम्क्याएको र आफूखुसी सर्च गरेको घटनामा पनि महतो विवादमा परेका थिए। त्यसलगत्तै उनलाई सुनसरीको दुहबीस्थित दंगा प्रहरीमा पठाइयो। करिब ५ वर्ष दंगामा बसेपछि असईमा बढुवा भएर उनी जिल्ला प्रहरी कार्यालय धनुषामा हाजिर भए। धनुषामा रहँदा गोदार प्रहरी चौकीमा कार्यरत महतो लकडी (काठ) काण्डमा पनि विवादमा परेको स्रोतको दाबी छ।
दुई दिनअघि बिल सहितको सामान पक्राउ गरेर भन्सार बुझाएको विषयमा व्यापारीहरु आन्दोलनमा उत्रिएपछि उनी थप विवादमा परेका छन्। (मुख्य तस्बिरमा घुमुवा प्रहरी मोतीराम महतो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।