काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले करिब १५ लाख शंकास्पद घुस रकमसहित ३ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साह र सवारी चालक सुमन खड्का छन्। उनीहरुका साथबाट अख्तियार टोलीले १४ लाख ६७ हजार १ सय ५ रुपैयाँ शंकास्पद रकम र उनीहरु सवार गाढी नियन्त्रणमा लिएको हो।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीले विभिन्न उपभोक्ता समितिहरु तथा अन्य कम्पनिहरूसंग घुस लिएको विषयमा अख्तियार टोलीले अनुसन्धान गरिरहेको बताइएको छ।
उनीहरुलाई बा. १ झ ५२८० नम्बरको सरकारी गाडीमा काठमाण्डौ आउँदै समयमा भक्तपुर, जगातीबाट नियन्त्रणमा लिएको हो।
अधिकारीका साथबाट १३ लाख ३८ हजार ५ सय र सोहि गाडीमा रहेका साहको साथबाट १ लाख २९ हजार १ सय ५ रुपैयाँ बरामद गरेको हो।
गाडीसहित नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।