काठमाडौं – एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटानबीच खेल भइरहेको छ। मलेसियाको किन्नारा ओभलमा जारी भुटानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ।
२२ ओभरको खेल सकिदासम्म भुटानको रनरेट कमजोर छ। नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले एक्लैले ५ विकेट लिएका छन्। यस्तै नन्दन यादवले पनि एक विकेट हात पारेका छन्।
भुटानका जीवन घले १, उर्गेन दोर्जी १३, नवाङ थिन्ले ५, पेम छेडुप ० र छिरिङ पेन्जो ० रनमा आउट भएका छन्। २० ओभरसम्म भुटानको रनरेट १.५५ मात्र छ। भुटानले २२ ओभरसम्म ४० रन बटुल्दा ६ विकेट गुमाएको छ।
पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। भुटान भने सिंगापुरसँग ९ विकेटले हारेको थियो। थाइल्यान्डसँग नेपालले पहिलो ब्याटिङ गरेर २ सय ८१ रन बनाएको थियो। अनिल साहले ९१ तथा प्रनित थापा मगरले ५० रनको योगदान गरेका थिए। बलिङतर्फ सन्दीप लामिछानेले ७ विकेट लिएपछि थाइल्यान्ड २६ रनमै अलआउट भएको थियो।
समूह ‘ए’मा रहेको नेपालले सिंगापुरसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। नेपालसँग प्रतिस्पर्धा गर्नुअघि सिंगापुरले भुटान र थाइल्यान्डलाई हराइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।