काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्ट सरकारको अपरिपक्वता र दम्भले राष्ट्रियता कमजोर बनेको बताएका छन्। इतिहासकै कमजोर बिन्दुमा राष्ट्रियता पुगेको भन्दै नेता कोइरलाले देशको अस्मिता र राष्ट्रियतामाथि खेलबाड नगर्न सरकारलाई चेतावनी समेत दिएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम जिल्ला परिषदलाई सम्बोधन गर्दै नेता डा कोइरालाले सरकारको अराजकता विरुद्ध सदनमा विरोध चर्काउने समयमा कांग्रेस आन्तरिक समस्या र द्वन्द्वमा अल्झिनु दुखद् भएको बताए।
सरकारका हरेक गतिविधिले अन्तराष्ट्रिय तहमा देशको छबी धमिलिंदै गएको बताउॅदै डा कोइरालाले प्रश्न गरे, 'भेनेजुयलाका राष्ट्रपतिका छोरा र मन्त्री बोलाएर कम्युनिस्ट नेताले के गर्न खोजेको? यसले नेपालको छवि कहाँ पुग्छ? अन्तराष्ट्रिय स्तरमा के सन्देश जान्छ?'
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेस पार्टी भित्रको झगडाले कम्युनिस्टहरुले बहुमत ल्याएको बताए। उनले पार्टीका वृद्ध नेताले विश्राम नलिए अधिवेशनबाट विस्थापित गरिदिने चेतावनी समेत दिएका थिए।
भण्डारीले आफ्ना कार्यकर्तालाई जग्गा बाँड्न कम्युनिस्ट सरकारले गुठी विधेयक ल्याएको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।