काठमाडौं- वरिष्ठ मुटु रोग विशेषज्ञ (हार्ट सर्जन) डा भगवान कोइरालको अगुवाइमा नेपालका सातै प्रदेशमा बाल अस्पताल खुल्ने भएको छ।
डा कोइरालाको नेतृत्वमा रहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)ले बालबालिकाको उपचारमा बहुउपचार तथा विशेषज्ञ अस्पताल स्थापना गर्न लागेको हो।
किओचको गुडविल एम्बेसडर भारतीय टेलिभिजन च्यानलको सांगितिक कार्यक्रम 'सारेगामप'मा गीत गाएका नेपाली बालक प्रितम आचार्यलाई बनाइएको छ।
किओच अध्यक्षमा डा भगवान कोइराला रहेका छन् भने अन्य सदस्यहरुमा दीपकराज सापकोटा, गोविन्दप्रसाद अधिकारी, विरेन्द्रबहादुर बस्नेत, डा ज्योतिन्द्र शर्मा, भुवन दाहाल र भवानी राणा छन्।
किओचले सातवटै प्रदेशमा गैर नाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको डा कोइरालाले जानकारी दिए।
अस्पताल निर्माणका लागि किओचले लगानी संकलन गर्ने बताइएको छ।
सातवटै प्रदेशमा अस्पताल निर्माणका लागि २ अर्बभन्दा बढी लागनी लाग्ने अनुमान गरिएको छ। सबै अस्पताल आगामी सन् २०२२ भित्र निर्माण भइसक्ने लक्ष्य लिइएको छ।
किओचले सुरुमा राजधानीमा एक सय शय्याको अस्पताल निर्माण गर्ने छ।
त्यसपछि सातवटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा कोइरालाले जानकारी दिए। राजधानीमा अस्पताल स्थापना गर्न कम्तीमा ४० रोपनी जग्गा आवश्यक पर्ने र त्यसका लागि सरकारबाट लिजमा लिने योजना रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।