जनकपुर- राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले बाढी पीडितहरू समक्ष अझै राहत पुर्याउन नसकेको आरोप लगाएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिको सदस्य तथा धनुषा ३ बाट निर्वाचित सांसद महतोले सरकारले बाढी पीडितसमक्ष अझै राहत पुर्याउन नसकेकोमा दुःख व्यक्त गर्दै उनले पीडितलाई तत्कालै राहत दिनु पर्ने बताएका हुन्।
उनले भने, ‘सरकारका मन्त्रीहरु हवाई निरीक्षण गरी फर्कियो। जनतासँग नभेटेर राम्रो गरेन। हामी जनतासँग भेटेर यर्थात बुझ्न आएका छौं।’ विस्थापितलाई पुर्नस्थापनाका लागि सरकारले चाँडै निर्णय लिनु अवश्यक रहेको बताउँदै उनले बाढीले बगाएको र भत्काएको घर अविलम्ब निर्माण गरिनुपर्ने बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिले शनिबार प्रदेश २ मा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेको छ। प्रदेश-२ का आठै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाउने समितिका सदस्य तथा सांसद महतोले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले धनुषामा ११ हजार मानिस बाढीबाट प्रभावित भएको र राहत अपुग भएको जानकारी टोलीलाई गराए।
उहाँले क्षतिको पूर्ण विवरण अझै संकलन नभएको जानकारी दिए।
प्रजिअ कँणेलले कमला नदीको पश्चिमी तटबन्ध करिब साढे तीन सय मिटर भत्काएकोले अब बाढी आउँदा सम्हाल्नै सक्ने अवस्था नरहेको जानकारी दिए । उनले भने, ‘तत्कालै करिब साढे ५ करोड रुपैया आवश्यक छ।’
गठित उपसमितिको एक टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको प्रभावित क्षेत्रको निरिक्षण गर्ने छ भने अर्को टोलीले सिरहा र सप्तरी लगायत जिल्लाको निरीक्षण गर्ने जनाएको छ।
सांसदहरुको टोलीमा रामसहाय प्रसाद यादव, राजेन्द्र महतो, देवेन्द्रप्रसाद कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्र प्रसाद बडु, डिला संग्रौला, छक्क बहादुर लामा, बृजेश कुमार गुप्ता लगायतका छन्।
उपसमितिले प्रदेश नम्बर २ को ८ वटै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।