काठमाडौं– एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता अन्तर्गत नेपाललाई भुटानले ५१ रनको लक्ष्य दिएको छ। मलेसियाको किन्नारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भुटान २८ ओभरमा ५० रनमा अलआउट भयो।
भुटानको इनिङ ध्वस्त पार्न नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी एक्लैले ५ विकेट लिए। यस्तै सन्दीप लामिछानेले ४ र नन्दन यादव १ विकेट लिए। भुटानका लागि २ ब्याट्म्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सके।
दीपेन्द्रले ८ ओभर बलिङ गरेर २३ रन खर्चिए भने सन्दीपले ७ ओभरमा ७ रन मात्र खर्चिए । सन्दीपले ३ ओभर मेडन फ्याँके। भुटानले ३ वटा मात्र चौका प्रहार गर्न सक्यो।
पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । भुटान भने सिंगापुरसँग ९ विकेटले हारेको थियो । थाइल्यान्डसँग नेपालले पहिलो ब्याटिङ गरेर २ सय ८१ रन बनाएको थियो । अनिल साहले ९१ तथा प्रनित थापा मगरले ५० रनको योगदान गरेका थिए । बलिङतर्फ सन्दीप लामिछानेले ७ विकेट लिएपछि थाइल्यान्ड २६ रनमै अलआउट भएको थियो।
हेर्नुहोस् स्कोरकार्ड:
समूह ‘ए’मा रहेको नेपालले सिंगापुरसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । नेपालसँग प्रतिस्पर्धा गर्नुअघि सिंगापुरले भुटान र थाइल्यान्डलाई हराइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।