एजेन्सी- संयुक्त राष्ट्र संघले नयाँ आर्थिक प्रतिबन्ध लगाएसँगै उत्तर कोरियाले अमेरिकाला 'भयानक पीडा' दिने धम्की दिएको छ।
राष्ट्र संघमा उत्तर कोरियाका दूतले अमेरिकाले राजनीतिक, आर्थिक र सैन्य प्रतिस्पर्धाको विकल्प रोजेको आरोप लगाएका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ठीक पार्न जे गर्न सकिन्छ, त्यसको तुलनामा यो प्रतिबन्ध केही पनि नभएको टिप्पणी गरेका छन्।
राष्ट्र संघको नयाँ प्रतिबन्धले उत्तर कोरियालाई तेल निर्यात रोक्ने र उसको आणविक कार्यक्रमका लागि आम्दानीको बाटो बन्द गर्ने उद्देश्य राखेको छ। उत्तर कोरियाले यसै महिना आफ्नो छैटौं तथा अहिलेसम्मकै ठूलो परमाणु परीक्षण गरेको थियो । यो परीक्षण गरे लगत्ते राष्ट्र संघले आर्थिक प्रतिबन्ध लगाएको थियो ।
यो प्रतिबन्धलाई राष्ट्र संघमा उत्तर कोरियाली दूत रहेका हान ताए सोङले अवैध भनेका छन् । जेनेभामा राष्ट्र संघको एक सम्मेलनमा उनले भने, 'उत्तर कोरिया जे गर्न लाग्दै छ, त्यसले अमेरिकालाई यसअघि कहिल्यै नभोगेको असह्य पीडा दिनेछ ।'
राष्ट्र संघमा उत्तर कोरियाको विरुद्ध नयाँ प्रतिबन्ध सर्वसम्मतिबाट पारित भएको थियो । सुरुमा अमेरिकाले निकै कडा प्रतिबन्ध प्रस्ताव गरे पनि उत्तर कोरियाका सहयोगी देश मानिएका रूस र चीनको आग्रहमा प्रतिबन्ध केही हल्का बनाएपछि सर्वसम्मति जुट्न सम्भव भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।