धनगढी- नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रमा लामो समयदेखि महसुल नबुझाउने ३०५ ग्राहक कालोसूचीमा परेका छन्।
लाइन काटिएको ६ महिनासम्म पनि महसुल नबुझाउने ग्राहकलाई कालोसूचीमा राखिएको प्राधिकरण धनगढी कार्यालयका लेखापाल गोविन्द ढकालले बताए। कालोसूचीमा पर्नेमा घर बिक्री गरी अन्यत्र बसाइँसराइ गरेका, साविकको भन्दा अर्को ठाउँमा घर बनाइ बसेका र केही उद्योग छन्।
यी ग्राहकबाट महसुलबापत रु ३३ लाख रकम असुल गर्न बाँकी छ। विद्युत् महसुल नतिर्ने ग्राहकलाई बक्यौता रकम बुझाउन ऊर्जा मन्त्रालयले जारी गरेको १५ दिने सूचनाको समय सकिएसँगै प्राधिकरण शाखाले लाइन काट्न थालेको छ।
तीन दिनमा ४० भन्दा बढी ग्राहकको लाइन काटिएको छ। लाइन काटिएसँगै कतिपय ग्राहकले बक्यौता रकम बुझाएर पुनः लाइन जडान गर्न थालेका छन्।
गत असारसम्म नेपाल विद्युत् प्राधिकरण धनगढीको झन्डै रु १२ करोड बक्यौता असुल गर्न बाँकी छ। बक्यौता रकम सबैभन्दा बढी सडक बत्तीको रु ५ करोड ४३ लाख छ। ग्राहकतर्फ रु १ करोड ९२ लाख, व्यापारिक क्षेत्रतर्फ रु १ करोड, उद्योगतर्फ रु २ करोड र सामुदायिक क्षेत्रतर्फ रु १ करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।