वर्षकै चर्चित वाक्य– हामी अनुसन्धानमै छौं

नारायण अधिकारी | २०७६ श्रावण ९ बिहीबार | Thursday, July 25, 2019 १९:१०:०० मा प्रकाशित

काठमाडौं– गृह मन्त्रालयमा मंगलबार आयोजित 'वार्षिक कार्यसम्पादन र भावी कार्यदिशाका सम्बन्धमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया' कार्यक्रममा निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको बारे पत्रकारले जिज्ञासा राखे। गृहमन्त्री, गृहसचिव, नेपाल प्रहरी/सशस्त्र प्रहरीका आइजिपी समेत उपस्थित कार्यक्रममा जिज्ञासाको सुरुवाती जवाफ दिए, गृहसचिव प्रेम राईले। उनले भने, 'अनुसन्धानको क्रम कन्टिन्यू भइरहेको अवस्था हो। अहिलेलाई यति नै भन्छु।' 

गृहसचिवपछि गृहमन्त्री रामबहादुर थापा बादलले केही सहजीकरण गर्ने मनसायसहित कुराको सुरुवात गरे, 'निर्मला प्रकरण पनि निरन्तर रुपमा यो एक वर्षदेखि उठिराखेको छ। यस किसिमको अपराध कुनै नौलो र पहिलो होइन। यस किसिमका घटना योभन्दा अगाडि पनि थिए, भोलि पनि केही समयसम्म रहन्छ। अनुसन्धानमै छौं। कानुनको कठघरामा ल्याउँछौं।' 

सुरुमा केही शब्द घुमाए पनि अन्तिममा गृहमन्त्री थापाले 'हामी अनुसन्धानमै छौं' भन्नुबाहेक केही नौला कुरा बताएनन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको आज एक वर्ष पूरा भएको छ। तर, प्रहरी हत्याराको नजिक पुग्न सकेको छैन।

गृहमन्त्री र गृहसचिवले भनेजस्तै 'हामी अनुसन्धानकै क्रममा छौं' भन्ने खालका 'रेडिमेड जवाफ'बाहेक प्रहरी र सम्बन्धित निकायले अरु उत्तर दिन सकेका छैनन्। 

थुप्रै समिति र प्रहरीहरुले उक्त घटनालाई सूक्ष्म रुपमा अनुसन्धान गरे। अहिले पनि गरिरहेकै छन्। नेपाल प्रहरीकै केही अधिकारीको भनाइलाई मान्ने हो भने अहिलेसम्मकै सबैभन्दा बढी प्रहरी अधिकारीले अनुसन्धान गरेको घटना हो, निर्मला हत्याकाण्ड। सँगै त्यति नै महँगो अनुसन्धान पनि। 

यो घटना सल्टाउन काठमाडौंदेखि कञ्चनपुर जान-आउन र डिएनए जाँच गर्न लगायत अन्य अनुसन्धानमा राज्यको धेरै लगानी भइसकेको छ। तर अहिलेसम्म 'हात लाग्यो शून्य'को अवस्था देखिन्छ। अनुसन्धानमा खटिएका प्रहरीलाई उक्त घटनाबारे सोध्दा उही रेडिमेड जवाफ आउँछ, 'हामी अनुसन्धानमै छौं।'

यो एक वर्षको चरणसम्म आइपुग्दा उग्र रुपमा थालिएको आन्दोलन पनि मत्थर भइसकेको छ। अनुसन्धानको वातावरण बनिसकेको प्रहरी स्वयंले बताउन थालेको पनि महिनौं बितिसक्यो। ७३ जनाको डिएनए जाँच पनि भयो। तर हात लाग्यो शून्य। आखिर किन पत्ता लाग्न सकेनन् निर्मला काण्डका अपराधी? आउनुस्, घटनाको थोरै पृष्ठभूमि खोतलौं।

साउन ९ गते रोशनी बम निर्मलाको घर आएकी थिइन्। उनीहरुबीच निर्मला भोलिपल्ट (१० गते) रोशनीको घरमा जाने सल्लाह भएको थियो। रोशनीले निर्मलासँग लिएको २० रुपैयाँ भोलिपल्ट १० गते दिने बताएकी थिइन्। रोशनी र निर्मलाको घरको दुरी लगभग डेढ किलोमिटर टाढा छ। 

निर्मला १० गते रोशनीको घर पनि गइन्। त्यहाँबाट उनी घर फर्कन्छु भन्दै सवा २ बजेतिर बाहिरिएकी थिइन्। 

रोशनीको घरबाट अम्बा र किताब लिएर साइकलमा फर्किएकी निर्मला न घरसम्म पुग्छिन्, न त कसैसँग सम्पर्कमा नै आउँछिन्। १० गते अपराह्नबाट खोजिएकी निर्मला अन्ततः भोलिपल्ट बिहान ११ बजे उखुबारीमा फेला पर्छिन्। मृत अवस्थामा।

घटनास्थलको मुचुल्का गरी शव बाटोमा निकालेर ट्रयाक्टरमा राखेपछि 'मेयर, सिडिओ र एसपी यहीँ आउनुपर्‍यो' भन्दै स्थानीयले आन्दोलन गर्छन्। शव पोस्टमार्टमका लागि अस्पताल लान नदिई नगरपालिका कार्यालयतर्फ लान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी अञ्चल प्रहरी अस्पताल महाकालीमा शव पुर्‍याएको थियो। सुरुमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले 'सर्पले टोकेर मृत्यु भएको होला' भनेका थिए। उक्त कुराबाट झनै चिढिएका स्थानीयवासी आन्दोलनलाई थप चर्काउँछन्।

स्थानीय प्रहरीलाई अनुसन्धानमा विश्वास नगरेपछि प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट अनुसन्धानमा सहयोग गर्न भन्दै डिएसपी अंगुर जिसी नेतृत्वको टोली साउन १३ गते घटनास्थल पठायो। १३ गते राति ८ बजे डिएसपी जिसी नेतृत्वको टोली कञ्चनपुर पुगेर एक होटलमा बसेको थियो। भोलिपल्ट बिहान ५ बजे नै निर्मलाको दाहसंस्कार गरियो। 

फोटो र घटनास्थलको अवलोकनको भरमा सिआइबीको टोलीले अनुसन्धान सुरु गर्‍यो। भदौ ३ गते प्रहरी अनुसन्धानको लेन्समा परे दीलिपसिंह विष्ट। उनले भनेका बयान निर्मलाको बलात्कार र हत्यामा 'म्याच' गरेको थियो। उनलाई सार्वजनिक गर्न दबाब बढेपछि प्रहरीले उनलाई सार्वजनिक समेत गर्‍यो। पछि डिएनए नमिलेपछि उनी भदौ २६ गते रिहा भए। 

त्यसपछि भने घटनाले नयाँ मोड लियो। केही प्रहरीको जागिर नै गयो भने केही निलम्बनमा परे। यहीँबाट बिग्रिएको अनुसन्धानले अहिलेसम्म निचोड पाउन सकेको छैन। 

सुरुको अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई कारबाही गर्दै अन्य टोलीले अनुसन्धान सुरु गरे। तर वर्ष दिन बितिसक्दा पनि नयाँ तथ्य केही आउन सकेन। बरु पहिलेकै अनुसन्धान टोलीले आफ्नो लेन्समा पारेका व्यक्ति नै हत्यारा हुन सक्ने अहिलेका अनुसन्धान अधिकारीले अनौपचारिक रुपमा भन्दै आएका छन्।

निर्मला पन्तकी आमा दुर्गादेवीले पनि सो कुरा बताउँदै आएकी छन्। उनले केही समयअगाडि नाम नै किटान गरेर हत्याराबारे बताएकी थिइन्। तर यथेस्ट प्रमाण हुन नसक्दा आशंका गरिएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

बाझिए प्रतिवेदन, भिडकै इसाराले तथ्य ओझेलमा
सहसचिव हरिप्रसाद मैनाली, एआइजी धीरु बस्न्यात, राष्ट्रिय मानव अधिकार आयोग लगायतका छानबिन समितिका प्रतिवेदन नै एकापसमा बाझिएका छन्। 

संवैधानिक अंग राष्ट्रिय मानव अधिकार आयोगको एक अनुसन्धान टोलीको निष्कर्ष छ, 'एक व्यक्तिबाट मात्रै बलात्कार र हत्या भएको हो।' तर, सहसचिव हरिप्रसाद मैनालीको टोलीले सामूहिक बलात्कार भएको भन्दै प्रतिवेदन नै सार्वजनिक गर्‍यो। एक आपसमा यसरी कुरा बाझिँदा केही अन्योल भएको छ।

अझ मैनाली नेतृत्वले स्थानीय हल्ला र नियोजित रुपमा छरिएको भ्रमलाई प्रतिवेदनमा उतारी वैधानिकता दिने कार्य गरेको पहिलोपोस्ट अनलाइनले 'हु किल्ड निर्मला' शृंखलामा लेखिसकेको छ। उक्त समितिले हल्लालाई वैधानिकता दिएकाले एउटा त्रुटि त्यहाँ भएको देखिन्छ।  

त्यस्तै एआइजी धीरु बस्नेतको टोलीले पनि भिडकै इसारामा काम गरेको देखिन्छ। त्यसबेला प्रहरीले ठूलो गल्ती गरेको हो, दीलिपसिंह विष्ट अपराधी हुनै सक्दैन भन्ने थियो। सोही अनुसार बस्न्यातको टोलीले डिएनए मेल नखाएपछि दीलिपसिंहलाई कुटेरै साबिती गराइयो र सर्टको खल्तीलाई प्रहरीले नक्कली प्रमाण बनाएको हो भन्ने कुरा स्थापित गराउन खोजे। सोही अनुसार प्रतिवेदन तयार गरेर बस्न्यात टोलीले बुझायो।

मैनाली र बस्न्यात टोलीको मुख्य निष्कर्ष 'सुरुको अनुसन्धानमा खटिएका प्रहरीहरु दोषी नै हुन् र दीलिपसिंह विष्ट अपराधी हुनै सक्दैन' भन्ने थियो। सोही अनुसार प्रहरीले अनुसन्धान पनि गर्‍यो। तर लाग्यो शून्य। सिआइबीका डिआइजी निरज शाहीको पनि उही रेडिमेड जवाफ छ, 'अनुसन्धान गर्दैछौं।' 

बयान स्विकारे भन्दै ब्रिफिङ
प्रदीप रावल र विशाल चौधरीले बयानमा आफूहरुले नै बलात्कार र हत्या गरेको स्वीकार गरिसकेको भन्दै प्रहरी नेतृत्वलाई उद्धृत गर्दै समाचारहरु पनि बाहिरिए। प्रहरी स्रोतबाटै आएको सूचना भएर हुनुपर्छ रक्षामन्त्री ईश्वर पोखरेलले समेत हत्यारा पक्राउ परिसकेको र केही दिनमै सार्वजनिक गर्ने त्यसबेलै बताएका थिए।

                                                                                                          मंसिर २२ गते राससमा प्रकाशित समाचार

तर त्यही कुरा महँगो पर्‍यो। जबकि पक्राउ परेका उनीहरु घटना भएको बेला कुखुरा चोरेको आरोपमा प्रहरी हिरासतमा थिए। डिएनए नमिल्दा पनि उनीहरुलाई नै दोषी करार गर्ने आइजिपी सर्वेन्द्र खनालको योजना उदांगो भएको पहिलोपोस्टले पनि आफ्नो शृंखलामा लेखिसकेको छ। 

डिएनएको वैधानिकतामा प्रश्न
अभियुक्त भनेर पक्राउ गरिएका व्यक्तिको डिएनए परीक्षण गर्दा कसैसँग पनि मेल खाएन। त्यसपछि डिएनएको वैधानिकतामाथि नै प्रश्न उठ्यो। त्यसपछि उक्त डिएनए अन्यत्र जाँच गराउन पठाउनेबारे कुरा पनि उठेको थियो। तर बाह्य, भित्री र मध्यम गरी तीन भागको डिएनए प्रहरीको केन्द्रीय त्रिवि विज्ञान प्रयोगशालामै सकियो। डिएनए नमिल्ला र अन्यत्र जाँच गराउन राख्नुपर्छ भन्ने प्रयोगशालाले बुझेन। अन्यत्र जाँच गराउन डिएनए पर्याप्त भएन। 

जबकि भेजिनल स्वाबमा वीर्य भेटिनु ठूलो प्रमाण हो। तर त्यही प्रमाण संकलन गर्ने प्रहरीप्रति भेजाइनल स्वाब नै 'ब्याकफायर' भयो।

अनुसन्धानको डुप्लिकेसन
सुरुमा अनुसन्धानमा खटिएका सम्पूर्ण प्रहरी अधिकारीलाई अनुसन्धानबाट हटाउँदै कारबाही गरेपछि त्यसबेलै कुरा उठेको थियो– 'पहिलो अनुसन्धान टोलीले गरेको अनुसन्धानमै टेकेर अनुसन्धान हुन्छ कि जिरोबाट?'

गलत गर्ने प्रहरीलाई मात्र कारबाही गरेर केही प्रहरीलाई अनुसन्धानमै निरन्तरता दिनुपर्ने कुरा पनि उठेकै थियो। तर त्यसो भएन, सबै प्रहरी अधिकारीलाई अनुसन्धानको जिम्मेवारीबाट हटाइयो। जसकारण सुरुको अनुसन्धान टोलीले अनुसन्धान गरेकै व्यक्तिमाथि दोहोर्‍याइ, तेहेर्‍याइ अनुसन्धान भयो। नयाँ तथ्य केही फेला पर्न सकेन। अझ सुरुको अनुसन्धान गरेको व्यक्तिसम्म पुग्न प्रहरीलाई महिनौं लाग्यो।

यसरी नयाँनयाँ अनुसन्धान टोली परिचालित हुँदा अनुसन्धानको डुप्लिकेसन हुने कुरामा दुई मत रहेन। 

पहिलो अनुसन्धान टोली कारबाहीमा परेकाले त्यसको मनोवैज्ञानिक त्रास पछिल्लो टोलीमा पर्नु स्वाभाविकै हो। जसकारण जोखिम मोलेर अनुसन्धान अधिकृतले शंका गरेका व्यक्तिलाई समेत दोहोर्‍याएर सोध्न सकेनन्।

सुरुवाती अनुसन्धानमा खटिएर दीलिपसिंहलाई सार्वजनिक गर्ने टोलीका अपराध अनुसन्धानमा अब्बल मानिएका डिएसपी अंगुर जिसी अझै आफ्नै अनुसन्धानमा अडिग छन्। त्यसबेला डिएनए नमिल्दा उनले डिएनए परीक्षण प्रक्रिया नै गलत भएको बताएका थिए। हाल निलम्बनमा रहेका उनी अहिलेसम्मको अनुसन्धानले पनि नयाँ तथ्य पत्ता लगाउन नसकेको बताउँछन्। निष्कर्षमा पुग्न पहिलेकै अनुसन्धानको दायरा फराकिलो बनाउनुको विकल्प नभएको उनको भनाइ छ। थुप्रै समिति गठन गरेर एक वर्षसम्म अनुसन्धान गर्दा पनि हत्यारा पत्ता नलागेकाले पहिलेकै टोलीको अनुसन्धानको पेरिफेरीमा रहेर अनुसन्धान गर्नुपर्ने उनको भनाइले देखाउँछ।

सामाजिक सञ्जाल र केही मिडियामा हत्यारा भिआइपी व्यक्ति भएको भन्दै समाचार सम्प्रेषण भएका थिए। जसकारण आम नागरिकमा भिआइपी नै अपराधी हुनुपर्ने र तिनैलाई बचाउन प्रहरीले प्रमाण नष्ट गर्‍यो भन्ने गहिरो छाप पर्‍यो। जसले गर्दा प्रहरीले सर्वसाधारण व्यक्तिलाई पक्राउ गरे पनि सर्वसाधारणले नै पत्याउने अवस्था आएन।

आयोगको निर्देशन मान्ने कि
अहिलेसम्मका अनुसन्धानहरु हत्यारा पत्ता लगाउनुभन्दा पनि घटना कसरी भयो भन्नेमै केन्द्रित भए जस्तो देखिएको छ। 

तर, आयोगका सचिव वेद भट्टराईद्वारा हस्ताक्षरित निर्देशनपत्रको ५ औं बुँदामा एउटा महत्वपूर्ण कुरा उल्लेख छ। त्यहाँ प्रस्ट भनिएको छ, 'शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरिएको भनिए तापनि उक्त ल्याबमा प्रयोग गरिएका औजार, रसायनको प्रयोग, यौनिक स्वाब सुरक्षा र वीर्यको परीक्षण गर्न पर्याप्त तत्वहरु थियो वा थिएन सो को समेत पुनः विश्लेषण तथा जाँच गरी यकिन गर्नु।'

यसको अर्थ डिएनए संकलन र परीक्षण नै गलत भएको ठहर आयोगको हो। अझ आयोगको प्रतिवेदनले भनेको छ, 'संसारमा तीन किसिमको डिएनए प्रचलित रहेका छन्। ती हुन्, अटोसोमल एसटिआर, वाई एसटिआर र माइटोकोन्ड्रियल सिक्वेसिङ। अटोसोमल एसटिआर भने अपराधी पहिचान गरिने मुख्य डिएनए हो। पुरुषमा मात्रै हुने वाई एसटिआर जबरजस्ती करणीको केशमा प्रभावकारी मानिन्छ। तर, कैयौं पुरुषका पुस्तामा सदस्यहरुबीच एकैनासका हुने वाई एसटिआरबाट निश्चित व्यक्ति यकिन गर्न सम्भव हुँदैन।'

आयोगको प्रतिवेदन-

तर, निर्मलाको केशमा वाई एसटिआर प्रविधिबाट मात्रै परीक्षण गरिएको आयोगको टोलीले जनाएको छ। जुन प्रविधिबाट वंश वा समूहमात्रै पहिचान गर्न सकिने बताइएको छ। व्यक्ति पहिचान गर्न सकिने अटोसोमल परीक्षण नगरिएको आयोगको टोलीले जनाएको छ। त्यस्तै संकलित भेजाइनल स्वाबमा महिला स्वाब र पुरुष वीर्यको छुट्टाछुट्टै परीक्षण गर्नुपर्नेमा मिश्रित रुपमा परीक्षण गरिएकाले सो समेत गलत भएको निष्कर्ष निकालिएको छ। जसकारण वंश वा समूह मात्रै छुट्टिने भयो तर व्यक्ति नछुट्टिने भएको उल्लेख गरिएको छ। त्यस्तै डिएनए प्रविधिको आकर्षक पक्ष नै व्यक्ति यकिन गर्नु हो। यस केशमा भेजाइनल स्वाबबाट १६ वटा वाई एसटिआर सुरक्षित छन्। आगामी दिनमा कुनै आरोपितसँग १६ वटै वाई एसटिआर मिलेको अवस्थामा समेत उक्त व्यक्ति अपराधी भएको पुष्टि हुने आधार नहुने आयोगले उल्लेख गरेको छ।

अब डिएनए विज्ञसहितको टोलीले निर्देशन दिएका यी कुरालाई मध्यनजर गर्दै हुम्यान इन्टेलिजेन्समार्फत हत्यारा खोज्नुको विकल्प छैन।

तर, अझै प्रहरी अधिकारीहरु भने डिएनएकै आधारमा अनुसन्धान गरिरहकै छन्। निर्मला काण्डको हत्या भएको एक वर्ष पुग्न लागेको केही दिनअघि प्रहरी प्रधान कार्यालयले कञ्चनपुर प्रहरीसँग प्रगति रिपोर्ट मागेको थियो। 

यसबारे नेपाल लाइभले जिज्ञासा राख्दा सचिवालयका एसपी रमेश थापाबाट उही रेडिमेट जवाफ आयो, 'अनुसन्धानकै चरणमा छौं। अहिले नै केही भन्न मिल्दैन।'