काठमाडौं- कामको खोजीमा हरेक दिन १ हजारभन्दा बढी नेपाली युवा विश्वका विभिन्न मुलुकमा पुग्ने गरेका छन्।
अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओ) तथा इजिप्टको कायरोस्थित नेपाली दूतावासका अनुसार हरेक महिनाजसो ६ जनाभन्दा बढी युवा मानव तस्करको पन्जामा परेर युद्धग्रस्त मुलुक लिबियामा फस्ने गरेका छन्।
वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता भएका युवालाई मानव तस्करले विभिन्न प्रलोभनमा पारेर फसाउने गरेका पनि नयाँ विषय होइन। युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा राम्रो काम र कमाईका प्रलोभन देखाएर मानव तस्करले युवालाई कसरी फसाउने गरेका छन् भन्ने कुरा केलाउनु यो सामग्रीको मुख्य ध्येय हो। मानवतस्करका पञ्जामा कसरी पर्छ्न नेपाली युवा? यो प्रश्न उठ्ने गरेको छ। हामीले युद्धग्रस्त लिबियामा फसेर फर्किएका युवाहरुसँग कुराकानी गरेका छौँ।
000
सैनामैना-१० रुपन्देहीका गणेश थापामगर मानव तस्करको पन्जामा परेर युद्धग्रस्त लिबियामा ७ महिना बन्धक जीवन बिताएर फर्काइएका युवा हुन्।
सरकारले प्रतिबन्ध लगाएको मुलुक लिबियामा गणेशलगायत १५ जना युवा एकैपटक फसेका थिए।
दलालको प्रलोभनको पासोमा परेका गणेश थापामगर सहित १५ जनालाई राम्रो काम र कमाइको प्रलोभन देखाएर अवैधानिक बाटो हुँदै गैरकानुनी रुपमा लिबिया पुर्याइएको रहेछ। नेपालबाट भारतको बाटोहुँदै लिबिया लैजाने र भारतको बाटो हुँदै जान नमान्नेलाई भिजिट भिसाको सेटिङमा लिबिया पुर्याउने गरिएको उनीहरूले बताएका छन्।
वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेर फर्किएका र खाडीभन्दा राम्रो कमाई हुने मुलुक भए रोजगारीका लागि सो मुलुकमा जाने सोच बनाइरहेका युवा लिबियाको रोजगारीका नाममा फस्ने गरेको पाइएको छ।
युद्धग्रस्त लिबियाको त्रिपोलीस्थित ७ महिनाभन्दा बढी अवधि बन्धक जीवन बिताएर फर्किएका गणेशबहादुर थापामगर पनि पहिलो पटकको वैदेशिक रोजगारीका लागि लिबिया नै पुगेका होइनन्।
युएईमा लेबर कामका लागि पुगेर नेपाल फर्किएका गणेशले देशमै काम गर्ने सोच नबनाएका पनि होइनन्। 'विदेश नजाने सोच बनाएर बंगुर फारम सुरु गरिसकेको थिएँ, बंगुर फारमको काम गर्दागर्दै प्रलोभनमा परेर लिबिया जाने प्रोसेस सुरु गरेँ,' गणेशले भने।
कसरी पुगे लिबिया?
रुपन्देहीमा बङ्गुर फारम खोलेर गणेशले व्यवसाय सुरु गरिसकेका थिए। तीन बंगुरबाट सुरु गरेको व्यवसायमा अझै धेरै वटा बङ्गुरका पाठा किनेर व्यवसाय विस्तार गर्ने सोच बनाइरहेका गणेशले छिमेकीहरुसँग ऋण मागे।
बङ्गुरपालनका लागि कसैले पनि उनलाई ऋण पत्याएनन्।
000
त्यसैबेला उनलाई पहिले रोजगारीमा युएई पुर्याउने एक एजेन्टसँग उनको पुनः सम्पर्क भयो। ‘लिबियाबाट निकै राम्रो कामको डिमान्ड आएको छ, जाने हो?’ उनको अफर थियो।
‘कस्तो काम हो, कमाई कति हुन्छ?’ गणेशले एजेन्ट अमरबहादुर बगालेलाई सोधे।
‘लिबियाको डेरी मिल्क कम्पनीमा ड्राइभिङ गर्ने, कमाई मासिक १ हजार अमेरिकी डलर। धेरै राम्रो छ, यो कामको लागि जान ५ लाख लाग्छ,’ एजेन्ट अमरबहादुर बगालेले सुनाए।
'बंगुर फारममा ३ वटा बङ्गुरका पाठा पालेर बस्नुभन्दा त लिबिया जान्छु। मासिक १ हजार अमेरिकी डलर कमाउने भए त ५ लाख ऋण त सजिलै तिरिएला नि!' गणेशले लिबिया जाने सोच बनाए।
त्यहाँ जान लाग्ने ५ लाख उनी आफूसँग थिएन। छिमेकी र चिनजानका साथीसँग मागे। लिबिया जाने काम र कमाई राम्रो छ सबै सुनेपछि छिमेकी र चिनजानका साथीले सजिलै ऋण दिए।
‘देशमै केही गर्छुभन्दा ऋण नपत्याउने साथीले विदेश जान्छुभन्दा सजिलै पत्याउँदा पनि वैदेशिक रोजगारीले बढवा पाइरहेको छ। यस्तो प्रवृत्ति सम्झँदा पनि दुःख लाग्छ,’ गणेश सुनाउँछन्।
आवश्यक रकम लिएर गणेश काठमाडौं आए। अमरबहादुरले उनलाई सुरुमा काठमाडौबाट भारत हुँदै लिबिया जानुपर्ने सुनाए।
भारतको बाटो हुँदै जानु अवैधानिक भन्ने गणेशलाई लाग्यो। उनले भारतको बाटो हुँदै लिबिया जानुपर्ने भए काठमाडौंबाटै घर फर्कने बताए।
भारतको बाटो हुँदै जान गणेशले नमानेपछि एजेन्ट अमरबहादुरले युएई हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै लिबिया लैजाने सुनाए।
सन् २०१८ अगस्ट २१ मा भिजिट भिसाको सेटिङमा गणेशलाई युएईको एउटा कोठामा पुर्याइन्छ। युएई पुगेपछि उनलाई रविप्रसाद प्रसाईले रिसिभ गरे।
उनले गणेशलाई युएईमा एउटा कोठामा लगेर थन्क्याए। गणेशका अनुसार सो कोठामा युएई हुँदै तेस्रो मुलुक पुर्याइन लागेका थुप्रै युवाहरु थिए।
युएई पुगेपछि सबै साथीहरुसँग कुरा गर्दा गणेशलाई थाहा भयो। उनी जान लागेको मुलुक लिबिया युद्धग्रस्त हो। त्यहाँ काम गर्न जानु एकदमै खतरा छ। त्यसपछि उनले युएईबाट नेपाल नै फर्कन जिद्दी गरे।
त्यहीबाट नेपाल फर्किए ५ लाख पैसा गुमाउनु पर्ने भयो। गणेशले ऋण सम्झिए, युएई पुगेर ५ लाख सकेर नेपाल फर्कनु भन्दा ज्यानको बाजी थापेर लिबियाको बाटो रोजे।
सेप्टेम्बरमा २१ मा उनी लगायत केही नेपाली युवालाई युद्धग्रस्त लिबियाको राजधानी त्रिपोली पुर्याइयो। त्यहाँ डेरी मिल्क कम्पनीमा काम नभएर राइस मिलमा लेबरको काम थियो। निकै कठिन। पृष्ठभुमिमा बम र बारुदको आवाजसँगै काम गर्नु पर्ने बाध्यता थियो। न त तलब भनेजति थियो।
000
सुनसरी धरानका राजु विश्वकर्मा र सनम विश्वकर्माको कथा पनि ठ्याक्कै गणेशको जस्तै छ। उनीहरुलाई पनि लिबियामा डेरी मिल्क कम्पनीमा प्याकिङको काम भएको बताइएको थियो।
पीडितका अनुसार खोटाङ चिसापानीका तीर्थराज विश्वर्कमाले सनम विश्वकर्मा र राजु विश्वकर्मालाई विभिन्न प्रलोभन देखाएर ठगी गरेका थिए।
सनम विश्वकर्माले भने, 'हामीलाई लिबियाको डेरी मिल्क कम्पनीमा प्याकिङ काम गर्दा मासिक १ हजार डलर कमाई हुने सुनाइएको थियो।'
‘विदेश जानैपर्ने बाध्यता थियो उनीहरूको पनि। 'मासिक १ हजार अमेरिकी डलर कमाई हुने भएपछि किन नजानु भन्ने लाग्यो। कमाई राम्रो भएपछि ऋण पनि सजिलै तिरिएला भन्ने भयो। लिबिया जान तयार भएँ,’ सनम विश्वकर्मा सुनाउँछन्।
उनीहरु पनि युएईको बाटोहुँदै लिबिया पुगेका थिए।
सनमलाई त्रिपोली नजिकै कृषि फर्म (मजरा)मा काम लगाइएको थियो।
मानव तस्करीले युवासँग मिल्दोजुल्दो थर बताएर आफ्नै नजिकको आभार गराएर युवाहरुलाई फसाउने गरेको पाइएको छ।
तीर्थराज विश्वकर्मा भनेर सनम र राजु विश्वकर्मालाई ठगी गर्ने व्यक्ति राहुल थापा भएको खुलेको छ। मानव बेचविखन अनुसन्धान ब्युरोले तीर्थराज विश्वकर्मा भनेर चिनाउने व्यक्ति राहुल थापा भएको पुष्टि गरेको हो।
लमजुङका पूर्ण बहादुर गुरुङको कथा पनि उस्तै छ। गुरुङलाई मार्केटिङको काम कमाई न्यूनतम १ हजार अमेरिकी डलरसहित ओभरटाइम सुविधा हुने सुनाइएको थियो। उनी पनि युएई हुँदै लिबिया पुगेका थिए।
लिबिया पुगेका युवा कस्तो जीवन भोग्न बाध्य छन्? पृष्ठभुमिमा बम र बारुदको आवाजसँगै युद्ध मैदानमा काममा कसरी खटाइन्छ? यी लगायतका विषय हामी अर्को शृङ्खलामा प्रस्तुत गर्नेछौँ।
सम्बन्धित समाचार:
लिबियामा मारिएका सन्तोषको अन्तिम फोन, भनेका थिए– इटाली पुगेर कल गर्छु है...
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।