एप्पलको 'म्याक प्रो' चीनमा बनाए आयात शुल्कमा छुट नदिने अमेरिकी चेतावनी

नेपाल लाइभ | २०७६ श्रावण १३ सोमबार | Monday, July 29, 2019 ०६:२५:०० मा प्रकाशित

वासिङ्टन- अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्युटर’को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत जारी सन्देशमा भनिएको छ, 'यदि एप्पलले चीनमा बनाएका ‘म्याक प्रो’को सामानमा छुट मागेमा उसमाथि लाग्ने सेवा शुल्कमा कुनै छुट दिइने छैन। त्यो छुट र सेवा पाउनको लागि एप्पलका लागि प्रयोग गरिने सामानको उत्पादन अमेरिकामै हुनुपर्छ।'

अमेरिकी राष्ट्रपतिले एप्पललाई म्याक प्रोको पार्ट्स चीनमा बनाएमा आयातमा कुनै पनि छुट नदिइने र नमाने परिणाम आयातमा बन्देज लगाउने चेतावनी दिएका हुन्।

चीन र अमेरिकाबीच गत वर्षदेखि चलेको व्यापार विवादका कारण कतिपय बहुराष्ट्रिय कम्पनीको कारोबारमा समस्या हुने गरेको छ।

तर, गत महिना जापानमा अमेरिकी राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच वार्तापछि व्यापार विवादलाई अन्त्य गर्न यसअघि जारी रहेको चिनियाँ तथा अमेरिकी प्रतिनिधिमण्डलको वार्तालाई निरन्तरता दिने सहमति भएको थियो। रासस/एएफपी