काठमाडौं- धेरै अघिदेखि सुदूरपश्चिम क्षेत्र घुम्ने इच्छा थियो। सोही इच्छा साकार पार्न योजना बनेको पनि थियो। तर, फानी आँधीको प्रतिकूलतामा अघिल्लो योजना सार्थक हुन सकेको थिएन। त्यसकारण पनि यसपटकको योजना बनाउनु नै हाम्रा लागि चुनौतीको विषय बन्यो।
मौसम, सवारी साधन, खानेबस्ने सुविधा, स्वास्थ्य तथा जागिरमा बिदालगायतका विषयवस्तुमा चिन्ता जरुरी थिएन होला। तर, सोच्नु अवश्य जरुरी थियो। यतिसम्म सोच्न हामीलाई अघिल्लो पटक चालिसकेको पाइला रोकिएकै कारण बाध्यता जस्तै बनेको थियो। शंका थियो कतै फेरि उस्तै कहानी दोहोरियो भने?
यात्राका क्रममा आउने कठिनाइका बारे कसैलाइ पूर्वजानकारी हुने कुरा त थिएन। खुला मौसम, काठमाडौंमा रापिला बन्दै गइरहेका दिन भए पनि खप्तडदेखि रारासम्मको यात्रामा पनि हामीलाई यति बीघ्न घामसँग जुध्नुपर्ला भन्ने लागेन। बस र हवाई टिकटको उचित प्रवन्ध, केही अत्यावश्यक औषधि र औजार तथा कार्यालयमा बिदा मिलाएपछि अब हामीसँग यात्रा थाल्नुबाहेक अन्य विकल्प थिएन।
जेठ १८ मा सुरु भयो काठमाडौंबाट खप्तड हुँदै रारासम्मको यात्रा, साथमा थिए मित्र सुशील श्रेष्ठ।
पहिलो दिन- बसमा जोडिएको सुदूरपश्चिम
शनिबारको दिन। काठमाडौंबाट यात्रा थाल्न नया बसपार्क पुग्दा ११ बजिसकेको थियो। करिब मध्य दिनको टन्टलापुर घामले मौसम सफा नै होला भन्ने आश गर्यौं। सँगसँगै पहाडी भेगमा पुग्दा यहाँको सवारी तथा कंक्रिटको जंगलले निम्त्याएको राप पक्कै कम होला भन्ने विश्वास पनि थियो।
खप्तड पुग्न हामीले बझाङ हुँदै जाने सोच बनाएका थियौं। काठमाडौंबाट बझाङका लागि दिनमा एक मात्रै गाडी छुट्ने रहेछ। सोही गाडी बिहान ११:३० मा हिँड्यो। केही कौतुहलता अनि केही उमंग, यसबाहेक हामीसँग सहयात्रीको रुपमा केही बझाङीहरु पनि थिए साथमा। चिनापरिचय गरेपछि उनीहरुसँग गफ्फिन सजिलो भयो। गफ या कुराकानी हाम्रा लागि जरुरी थियो। कारण एक यात्रा छोट्याउन, अर्को उनीहरुबाट हामीले खप्तड र त्यस क्षेत्रका बारेमा ‘हिडन’ तथ्यहरु जानकारी पाउँथ्यौं। त्यसमाथि उनीहरु नै त थिए हाम्रा अघोसित 'गाइड'हरु।
हामी बसेको सिटको अर्कोतर्फ बसेका एक मित्रले खप्तड २ पटक पुगेको बताए। ‘अहिले भन्दा गंगा दशहरा मेला लाग्ने (जेठको अन्तिम हप्ता) समय धेरै रमाइलो हुन्छ। अझ असारको १५ पछि आउँदा पाटनहरुमा हरियाली छाउँछ। फूलहरु ढकमक्क फूलेका हुन्छन्। हो त्यतिबेला बल्ल खप्तडले आफ्नो प्राकृतिक रङ देखाउँछ,’ उनको कुरा सुनेपछि केही समय हच्किएको पक्कै थिएँ, कतै समय प्रतिकूल त रहने होइन?
‘अहिले नै अफिसमा बिदा मिल्यो। त्यो बेला धेरै भिड भएर बस्न पनि समस्या हुन्छ,’ मैले हाम्रो अप्ठेरो सुनाउँदै भनें, ‘पछि समय मिले अर्को-अर्को वर्ष पनि जान सकिन्छ नी।‘
यात्राभर खप्तड, बझाङ, कर्णालीका प्रसंग जोडिए, केही व्यक्तिगत कुराकानी पनि भए। यही बीचमा खाना, खाजा तथा शौच गर्न केही समयका लागि बस रोकिँदा पनि हामी कमसेकम सँगै रह्यौं। यस्तो लाग्न थालिकसकेको थियो कि हामी कुनै पारिवारिक यात्रामा थियौं।
आइतबार बिहान ६ बजे अत्तरिया (कैलाली) पुगेको गाडी डोटी, डडेलधुरा, बैतडी हुँदै अपरान्ह ४ बजे बझाङको सदरमुकाम चैनपुर पुगेर रोकियो। यात्राका क्रममा हामीले त्यहाँको भाषा, खाना, संस्कृति तथा सामाजिक र आर्थिक अवस्थाबारे धेरथोर जान्यौं। जसले हामीलाई यात्रामा पक्का सजिलो हुनेवाला थियो। लागेको थियो चैनपुर पुगेको सवारी लगातार खप्तडसम्म पुगोस् र सबै यात्रु पुनः काठमाडौं फर्कियोस्। तर, इच्छा व्यवहारमा देखिने वाला थिएन।
हामी छुट्टियौं।
खप्तड जान दिपायलबाट भन्दा बझाङबाट छोटो पर्ने भएकोले हामी चैनपुर आइपुगेका थियौं। खासमा चैनपुरभन्दा १०/१२ किलोमिटर वरै रहेको तमेल झरेर खप्तडतर्फको यात्रामा लाग्नुपर्ने भए पनि हामीलाई बझाङको सदरमुकाम पुग्न मन थियो। त्यसमाथि तमेलभन्दा चैनपुरमा बसाइका लागि पनि होटेलको अभाव नहुने बुझिएको थियो। इन्टरनेट, बिजुलीको पर्याप्तता भएको होटलबारे मित्र राकेशबाट सल्लाह पायौं। ‘होलिडे होटेल’मा आफ्नो झोला राखेर केहीबेर बजार घुम्यौं र खाना खाएर सुत्यौं।
तेस्रो दिन : भनियो- बाटोमा सर्प देखिन्छन्, देखियो- जुकाको जंगल
समय- बिहानको ६:३०।
धनगढीको लागि छुट्ने पहिलो गाडीमा तमेल आयौं। झोलुङ्गे पुल तरेर खाजा खायौं। खप्तडतिर जाने गाडी बुझ्दा साधारणतया फेदीसम्म जाने जिप हामी दुई र अन्य दुई/तीन यात्रु थपिए दारुगाउँसम्म जान राजी भयो। तर, चालक दाजुले सर्त राखे- हामी दुईले २ सय ५० रुपैयाँको सट्टा ५०० दिनुपर्छ।
खाजा खाने क्रममा जिपमा जाँदा एक/डेढ घण्टा जतिको हिँडाइ बच्ने सुनेका थियौं। हामीलाइ खप्तड पुग्ने हतारोले छोप्यो। बिहान ९:१० मा जिप गुड्यो।
जिप दारुगाउँ (खप्तड छान्ना-३, डोप्के बजार) पुग्दा करिब ११ बजेको थियो। खासमा जिपका लागि यति लामो दूरी थिएन। सुस्त गतिमा बिना हतारो सवारी हाँक्ने चालकका कारण यति समय लागेको थियो। पहाडी खण्डका साँघुरा र उवडखावड सडकमा यस्तै सोच हरेक चालकले राख्ने हो भने धेरै व्यक्तिले अनाहकमा मृत्युवरण गर्नुपर्ने थिएन।
उजाला होटेलमा खाना खाएपछि केहीबेर शरीरलाई आराम दियौं। अहिलेसम्म हामीले हिँड्नुपरेको थिएन। काठमाडौं देखिको दूरीका हिसाबमा हामी खप्तडको निकै नजिक थियौं। तर, यातायातको सुविधा अनि भौगोलिक कठिनाइले यो दूरीलाई लामो बनाइदिएको थियो। उसो त हिँड्नै भनेर निस्किएका हाम्रो अन्ततः पैताला चल्न सुरु भयो।
जिपमा हामीलाई ‘खप्तड छिर्ने ठाउँको आर्मी क्याम्पसम्म अब छिट्टै बाटो पुग्नेवाला छ’ बताइएको थियो। भर्खर खन्दै गरेको बाटो हिँड्दै गर्दा प्राप्त सूचना सही थियो भन्ने नै लाग्यो। त्यो सूचनाले हामीलाई अन्यत्रतिर भड्किन भने दिएन।
हामी खनिरहेको बाटो हुँदै यात्रामा थियौं। एक स्थानमा गएर बाटो टुंगियो। हामी रोकिएनौं। मान्छेका पाइला हेर्दै हिँड्दा ‘जुकाको जंगल’मै पुग्यौं। ‘म्याप्स डट मी’ पनि दिशाविहीन बन्यो। पुरानै स्थानमा फर्किएपछि बचेको अर्को बाटोतर्फ मोडियौं। दिशा देखाउने मोबाइल एप्लिकेसन म्याप्स डट मी पुनः चालू भयो। उकालै-उकालो यात्रा अघि बढ्यो।
ठाउँको नाम ठ्याक्कै थाहा भएन, सोही खण्डमै एक भाइले भने, ‘दाइ बाटोमा सर्प आउँछ। बाटो देखाउन आउन पर्छ?’
हाम्रै लागि भने पनि ती भाइसँग म जिस्किएँ- ‘सर्प आयो भने त त्यो सित लड्ने हो नी भाइ। लड्न त तिमीभन्दा हामी नै सकुँला नी।'
संयोग हो या ती भाइले हामीलाई डराउन मात्रै दिएका थिए, बाटोभरि एउटा पनि सर्प देखिएन। तर, जुकाको भने राज नै रहेछ त्यहाँ। यसअघि एकआध जुकामात्रै देखेको मलाई जुकाको जंगलनै देख्नु पहिलो अवसर थियो। चाहे कष्ट किन नहोस् त्यो अवसर नै थियो मेरा लागि। नेट जियो, डिस्कोभरी, एनिमल प्लानेटलगायतका टिभी च्यानलमा जनावरका अनेक हत्कन्डा हेरेका हामीलाई जुकाको यो साम्राज्यले खासै प्रभाव नपार्नु पर्ने हो। तर, हेर्नु र प्रत्यक्ष अनुभव गर्नुको अन्तर सायद हामीलाई पहिलो पटक अनुभव हुँदै थियो।
अपरान्ह ४ बजे थियो आर्मी क्यापसम्म पुग्दा। जहाँबाट खप्तड क्षेत्र प्रवेश गर्न पाइन्थ्यो। आर्मी इन्ट्री गेटबाट हिँडेका हाम्रा पैताला २ घण्टासम्म विश्राम लिएनन्। समयमै खप्तड पुग्ने सोचका कारण पनि हामी लगातार हिँडिरहेका थियौं। चितवनमा जन्मे, हुर्केको, हाल करिब एक दशकदेखिको काठमाडौं बसाइ, लाग्यो अब हिँड्न बानी पार्नु जरुरी छ। हिँडाइले लखतरान परेका हामीमा घुम्ने सोच भने यात्राका दौरानमा कहिलै थाकेन।
केहीबेरको आरामपछि डुल्न निस्कियौं। त्यहाँ पुगेका हामीजस्तै अन्य यात्रीसँग भेट भयो। यस्तो बेला कुराकानीको केन्द्रमा व्यक्तिगत जानकारी गौण हुँदोरहेछ। प्रधान हुन्थ्यो त यात्राका संस्मरण र भोगाइ।
खाना खाँदै गर्दा होटल सञ्चालक दाइसँगबाट हामीले घुम्ने सूची बनाएका ठाउँबारे जानकारी लियौं। उनले केही नयाँ स्थानबारे पनि जानकारी दिए र जाने दिशा तथा यात्राका क्रममा अपनाउनुपर्ने सावधानी पनि।
चौथो दिन : खप्तडको काखमा
दिनभर घुम्नेमा हामी दुवैबीच एकमत बन्यो। घुम्नको लागि कम्तिमा एक लक्ष निर्धारण जरुरी थियो। सबै ठाउँ घुम्ने तर धेरै समय नलिने। यही सोचका साथ हामी अघि बढ्ने निधो गर्यौं।
खाजामा रोटी तरकारी। बिहान झन्डै ७:३० बजेको हुँदो हो। आवश्यक सामानसहित झोला बोक्यौं र खप्तडको काखमा रमाउन निस्कियौं।
बाजुरा हुँदै झर्ने सोच बनेकोले खप्तड दह घुम्ने योजना अर्को दिनलाई राख्यौं। नागढुंगा, घोडा दह पाटन, जेठी बहुरानी, भिम लौरी, सीता पाइला, त्रिवेणी मन्दिर, सहर्श लिङ्ग, केदार ढुंगा, केदार धारा, खप्तड बाबा आश्रम घुम्ने सूचीमा परे। सूचीमा रहेर पनि भिम घट्ट घुम्न छुटेछ।
नागढुंगाः थुप्रै नाग सर्पको छाप रहेछ नागढुंगामा। परापूर्व कालदेखि यस स्थानमा नाग देवताको बास रहेको जनविश्वास रहेछ। नाग पञ्चमीमा स्थानीयहरु पूजा गर्न आउँदा रहेछन् यहाँ।
घोडा दह पाटनः खप्तड क्षेत्रको सबैभन्दा ठूलो पाटन रहेछ घोडा दह। आकारमा निकै फैलिएको र हेर्दामा मनमोहक। काठमाडौंस्थित स्वयम्भुको बार्दलीमा बसेर कंक्रिटको जंगल हेरेका हामीलाई परपरसम्म खुला घाँसे मैदान देख्नु नौलो कुरा थियो। उसो त नेपालमा यति ठूलो चरन क्षेत्र सायदै अन्य स्थानमा होला।
इन्टरनेटको सहायतामा अष्ट्रेलियाका ठूला-ठूला फाँट देखेको थिएँ। त्यहाँ कंगारु देखिन्थे। यहाँ घोडा र गाईगोरुको बथान।
हरियो रङको पूर्ण दृश्य लाग्यो यो पाटन। जहाँ अर्को कुनै रङ आवश्यक थिएन आँखामा बस्न। उसो त रंगीन हुनुलाई सर्वप्रिय मानिन्छ। जहाँ फरक-फरक रङ घोलिनु पर्छ भन्ने पनि मान्यता रहन्छ। खासमा पूर्ण सेतो पनि रंगीन हुन्छ भन्ने मेरो बुझाइ हो। यहाँ पूर्ण हरियो देखियो अर्थात एकै रङमा पनि पूर्ण रंगीन दृश्य थियो त्यो।
वर्षायाममा झनै यो रङ गाढा देखिन्छ भने केही गोठाला दाइहरुले। कहींकतै गाईवस्तुका पाइलाले मैदानमा खत नदेखिएको होइन। यतिबेला पनि अन्यथा सोच आएन। लाग्यो टाटेपांग्रे हरियो सल बिच्छ्याइएको छ पाटनभरि।
जेठी बहुरानीः यो चाहिँ एक ढुंगाको नाम रहेछ। आकारमा धेरै ठूलो लाग्ने यस ढुंगाको बारेमा भने कम जानकार रहेकोले थप शब्द लेखिन।
भिम लौरीः यहाँ सानो मन्दिर छ। नाम सुन्दा महाभारतका एक पात्र भिमसँग जोडिएको कुनै मिथकसँग पक्कै यो स्थान जोडिएको होला भन्ने लाग्यो। त्यसभन्दा अरु कुनै जानकारी हात लागेन। मानिसको चहलपहल नभएकोले पनि यसबारेमा सोध्ने/बुझ्ने अवस्था जुरेन। तर, यी स्थानको सुन्दरता भने आँखाले जति पनि वर्णन गर्न सक्छन्।
सीतापाइला मन्दिरः यो जनक पुत्री सीतासँग जोडिएको ठाउँ रहेछ। नेपालकी राष्ट्रिय विभूतिसमेत मानिने सीताको त्याग र समर्पण सम्मानयोग्य मान्छन् धेरैजना। यहाँ सीताको पाइला अंकित शिलाको संरक्षण गरिएको रहेछ।
त्रिवेणी धामः त्रिवेणी धामसँग यहाँको धार्मिक तथा सांस्कृतिक महत्व जोडिएको रहेछ। गंगा दशहरा मेलामा यहाँ स्नान गर्दा आँटेको पुग्ने जनविश्वास रहिआएको छ। दशहरा मेला हाम्रा लागि वशको कुरा थिएन। तर, त्रिवेणी धाममा नुहाउनु वशमा थियो। केहीबेर पानीसँगको संगत गरियो, केहीबेर सनबाथ। यही क्षण हाम्रा लागि अकल्पनीय र सम्झनामा रहिरहने दृश्य बनेर स्मृतिमा गढ्यो।
केही समयमको आरामपछि सहर्श लिङ्गतर्फ लाग्यौं। दूरीमा करिब ३/४ किलोमिटर तर, उकालो र जंगलैजंगलको बीच हुँदै गुज्रिनु पर्ने रहेछ। करिब डेढ/दुई घण्टा लागेको सो यात्राका क्रममा लंगुर बाँदर र चराचुरुंगी हाम्रा नजरमा परे।
अर्को हर्षको विषय डाँडातिर दिउँसो मोवाइलको नेटवर्क टिप्ने रहेछ। सौर्य उर्जाबाट चल्ने त्यताका दूरसञ्चारका टावरहरु रातमा ठप्प। नाम दूरसञ्चार खासमा नाम मात्रै रहेछ। अझ भनौं यसलाई उल्टो बुझ्नुपर्ने रहेछ यहाँ आउँदा- दूरवस्तीलाई नजोड्ने सञ्चार, दूरसञ्चार।
मोवाइलमा नेटवर्क स्वचालित भएको देखेपछि ध्यान यात्रामा कम मोवाइलमा अधिक आकृष्ट हुने रहेछ। पैतालाको गति स्वतः कम हुने रहेछ। फोन लाग्ने नलाग्ने टुंगो नभएको बेला हामी ३-जी र जिपिआरएसमा अड्किन्थ्यौं। हाम्रो जीवनशैली कति प्राविधिक उन्मुख भएको छ भन्ने सायद यो पनि एक बलियो उदाहरण हो।
सहर्श लिङ्गः दुई ठूला चट्टानमा मन्दिरजस्तो बनाइएको यस क्षेत्रलाई सहर्श लिङ्ग भनिने रहेछ। पूजाअर्चना गर्न चाहनेका लागि पनि खुल्ला थियो यहाँ।
त्यहाँबाट हामी अघि गएको बाटो हुँदै ओरालो पर्कियौं। ओरालोमा तुलनात्मक रुपमा हिँडाइको गति बढी थियो। तर, गोडा काँप्ने भएकोले पनि हामी सुस्त हिँडिरहेका थियौं। त्रिवेणी आएर हामी केदार ढुंगा, केदार धारा हुँदै प्रशिद्ध खप्तड बाबाको आश्रमतर्फ लाग्यौं।
खप्तड बाबाको आश्रमः घना जंगलको बीचमा रहेछ आश्रम। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पनि हो खप्तड बाबाको आश्रम। वर्षेनी सयौं हिन्दु धर्मावलम्बी यस क्षेत्रमा आउने गर्दारहेछन्। खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकोले पनि यस क्षेत्रको गरीमा उँचो रहेको हामीलाई लाग्यो। बाबाले यस क्षेत्रमा ५० वर्ष बिताएको बताइन्छ। आश्रममा बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान संग्रहित छन्।
खप्तड बाबा योग र ध्यानका लागि विद्वान मानिन्छन्। काठमाडौं फर्किएर 'गुगल सर्च इन्जिन' मा हेर्दा उनले धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्मज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञानलगायतका पुस्तकसमेत लेखेको जानकारी मिल्यो।
आश्रमको अवलोकन र केहीबेर ध्यानमा लिप्त भयौं। खासमा योग र ध्यानका लागि परिचित खप्तड बाबाको लागि हाम्रो सम्मान र श्रद्धा थियो त्यो।
साँझ करिब ५:३० को समय होटलतिर पर्किँयौं। फर्किँदै गर्दा मनमा केही प्रश्न, जिज्ञासाहरु उब्जिए। खप्तड क्षेत्र निक्कै मनमोहक छ। यसमा कुनै सन्देह छैन। तर, यस्तै क्षेत्रहरुको गरीमा र प्रचारप्रसार होस् भनेर परिवर्तन भएको ३ तहको राज्यव्यवस्था यहाँ पुग्दा कागजको खोस्टामा मात्रै सीमित भएको जस्तो लाग्छ।
संरचना बनेर व्यक्ति आसिन हुँदैमा केही हुने रहेनछ, खासमा इच्छाशक्ति प्रमुख रहेछ। यहाँको अवस्था हेर्दा इच्छाशक्ति त परको कुरा जनप्रतिनिधिहरुलाई ‘गाउँगाउँमा सिंहदरबार’ मात्रै कण्ठ भएको प्रतित भयो। त्यो पनि घोकाइमा मात्रै, भाषण गर्नका लागि मात्रै। जीवनको यत्ति लामो कालखण्डमा प्रदेश राजधानी धनगढी नदेखेकाहरुले सिंहदरबार सुनेर के दृश्य देख्लान्। चकित हुन्छु।
भलै जनप्रतिनिधिहरुका पनि आफ्नै बाध्यता होलान्। तर, आम जनताका आँखाले बाध्यता भन्दा ज्यादा अव्यवस्था र व्यवहारतः लागू भएको कार्यान्वयन मात्रै देख्दो रहेछ। खासमा म पनि एक नागरिक न थिएँ।
सायद यतिसम्म तितो पोख्नु यथार्थमा कति सही वा गलत, विश्लेषणको पाटो होला। राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सेनाको पोष्ट राख्ने सरकारलाई त्यहाँसम्म कसरी पुग्न सकिन्छ भनेर जान्न ठाउँठाउँमा आवश्यक पर्ने बाटोका संकेत र स्थानका बारेमा जानकारीमूलक समाग्री राख्नुपर्छ भन्ने अधिकतम हेक्का राखेको लागेन। यस्तो स्थितिमा प्रचारप्रसार र त्यहाँका सम्पदाको संरक्षण र संवर्द्धन त परको कुरा लाग्यो। बस्ने होटल तथा आवासीय सुविधा पाउनु हाम्रा लागि दिवास्वप्न हुनजान्थ्यो।
हामीले मोवाइलबाट म्याप एप्लिकेसनको सहारा लिन नखोजेका होइनौ। नेटवर्कको कमजोरीले ती एप्लिकेसनको थम्बनेल हेरेर चित्त बुझाउनु पर्ने स्थिति थियो। पातलो वस्ती, त्यसमाथि जंगल क्षेत्रमा गोठालाहरु भेटिए पनि बाटो सोध्दै जान हुन्थ्यो भन्नु। पहिलो पटक जाने र 'अफ सिजन'मा जानेहरुले त्यहाँ बाटो भड्किन सक्ने टन्नै ठाउँहरु थिए।
अहिले सोच्दा स्थानीय रुपमै ट्रेकिङ गाइड राखिदिए पनि त बेस हुन्थ्यो भन्ने लाग्छ। यात्रुलाई सहजता र गाइडलाई आम्दानी, यतातर्फ कसको ध्यान जाने? अघिल्लो बेलुका होटेलका दाइले घोडामा घुमाइदिने व्यक्ति पनि भेटिन सकिने बताएका थिए। तर, बाटोभरि हामीलाई त्यस्तो कुनै छनक मिलेन।
यात्राका क्रममा गरम बनेको दिमागलाई होटलमा पुगेपछि पिएको जडिबुटी चियाले चिस्याउने औषधिको काम गर्यो। केही बेरको आराम, हामीजस्तै बटुवाहरुसँगको गफ र सुत्नुअघिको खाना, यत्तिकैमा सम्पूर्ण यात्रामा ‘इन्टर्भल’ जो भयो।
पाँचौं दिन : खप्तडलाई बाइबाई, रारा पुग्नको हतारो
मार्तडीसम्म पुग्ने तालिका, दूरीमा अलि लामो नै योजना तय गरियो की भन्ने लाग्छ अहिले सोच्दा। सबेरै ५ बजे यात्रा थाल्यौं। काठमाडौँ तिर पुस/माघको बिहानमा हुने जत्तिकै चिसो थियो। कुहिरोले गर्दा बाटोमा पर्ने डाँफे भ्यू टावर कता छुट्यो, ठम्याउन सकिएन। नत यतैतिर पर्ला भनेर अनुमान नै लगाउन सक्यौं।
अघिल्लो दिन थाँती राखेको खप्तड दह घुम्ने योजना पूरा भयो। चिसो मौसमका बीच खप्तड दहमा केही समय रहँदा ज्यानले आराम पायो नै, अधिक आनन्दको समेत महसुस भयो।
अबको यात्रामा बाटो केही साँघुरो हुँदै गयो। गोरेटोजस्तो लाग्ने बाटो केही स्थानमा भने चौडा थियो। बेला-बेला छोटा बाटाहरुले केही दिग्भ्रमित बनाउने काम समेत गरे।
थामलेक, दोगडी, छेडे दह हुँदै मार्तडी जाने भनेका हामी भड्कियौं। बाजुराको काँडा-२, सेरा गाउँ झरेछौं। तर, बिराएको बाटो हुँदै पनि कहीँ त पुगिँदो रहेछ। खासमा यो सिख त्यही यात्राको उपज जो थियो।
सेरा गाउँका प्रायः सबै स्थानीय खेतबारीमा व्यस्त थिए। बेला रहेछ गहुँ काट्ने र नयाँ बालीका लागि खेत जोत्ने। मौसमका कारण तराईको भन्दा बढी समय लाग्छ यस क्षेत्रमा बाली पाक्न। र त तराईमा फागुन/चैतमा भित्राइने गहुँलाई तयार भई किसानको भकारीसम्म पुग्न यहाँ जेठसम्मै कुर्नुपर्थ्यो।
करिब ११ बजे। दुर्गा भवानी आधारभूत विद्यालयमा चमेना गृह रहेछ। बटुवाहरुलाई पनि उक्त चमेना गृह प्रयोगका लागि छुट मिल्ने जानकारी पाएपछि हामी दुवैले खाजा खायौं। केही बेर गोडा र ढाडलाई आराम दियौं। उसो त हिँड्दै गर्दा पूरा शरीरनै चलायमान रहन्छ। तर, बढी भार गोडा र ढाडमा पर्ने हुँदा यी अंगहरु बढी गलेको भान भइरहेको थियो।
केही थकान मेटिएको जस्तो भएपछि हामी मार्तडी जाने सडकसम्म पुग्ने भर्खर खनिएको गाडी हिँड्ने बाटो हुँदै अघि बढ्यौं। खोलाको किनारैकिनार जाँदा केही छोटो पर्छ भन्ने गाउँलेले सुनाए। बिहानैदेखि ओरालोतर्फको हिडाइँले गलेको शरीरले लामो भए पनि गाडीकै बाटोतर्फ मोडिन चाह्यो।
लामो दूरी हिँड्ने बानी कम भएकोले होला शरीरको 'माइलेन्ज' घट्दो क्रममा थियो। लाग्थ्यो कतिपय कुराहरु जोस र इच्छाले मात्रै नपुग्ने रहेछ। शरीरको साथ पनि उत्तिकै महत्वपूर्ण रहेछ।
त्यसमाथि नयाँ स्थानमा बाटो बिराइने हो की भन्ने चिन्ता अनि थकित शरीर। कोही गाइड लिएर हिँड्न तयार शरीरले गाइड बिना भने हिच्किचाहट गरेजस्तो लाग्ने। सम्भवतः बाटो भुल्दा पर्ने थप हिडाइँको डरले होला यस्तो भएको। सीमित बिदा पनि अर्को कारण थियो। तर, यात्रा जस्तो भइरहेको थियो, हामीलाई नयाँ र रमाइलो नै लागिरहेको थियो। मात्र मस्तिष्क र मनबीचको मतभिन्नता जारी थियो। मन भन्थ्यो- ‘हिँडु-हिँडु’। दिमाख भन्थ्यो- ‘शरीर गलेको छ धेरै दबाब नदे’।
मौसम चिसो तर शरीर असिनपसिन थियो। यो रफ्तार झन् बढ्दो थियो। घडीमा अपरान्ह ४ बजिसकेको। यद्यपि मार्तडीसम्म पुग्ने पिच सडकसम्म पुग्ने छाँटकाँट देखिएको थिएन। उतै जाँदै गरेको ट्याक्टर रोक्यौं र चढ्यौं। शरीरको थकान र कतिबेला पुग्ने अनिश्चिततासँगै त्यतिबेला कच्ची बाटोको बारेमा सोचिएन। कच्ची बाटोमा ट्याक्टरको यात्राको मेरा लागि नौलो भने थिएन। तर, हाम्रा लागि अन्य विकल्प पनि थिएनन्। टाउको ठोक्किएर टुटिल्को नै उठ्ने हो की जस्तो गरी ट्याक्टर उफ्रिरहेथ्यो।
केही अघि पुगेपछि बाटोको छेउमा लडिरहेको सल्लाको रुखनजिक पुगेर ट्याक्टर रोकियो। सायद चालकलाई शौच लागेर रोके भन्ठानेको मैले खासमा उनी सोही सल्लाको रुख बजारसम्म लान ट्याक्टरबाट ओर्लिएका रहेछन्। तर, त्यति लामो रुख ट्याक्टरमा लान सम्भव थियो त? फ्याट्ट मनमा प्रश्न उब्जियो। उनलाई सोधेँ पनि- ‘अनि कसरी लाने हो र दाइ यो रुख। यति लामो छ त।'
उमेरमा भाइ नै थिए उनी। तर, सम्मानका खातिर दाइनै सम्बोधन गरें।
‘जसरी पनि लाने नै हो,‘ उनी आत्मविश्वासी, त्योभन्दा बढी हठी सुनिए। नभन्दै जहाँ इच्छा त्यहाँ उपाय । ट्रेलरको पछाडितर्फको भाग खोले। सल्लाको रुखलाई लमतन्न हुने गरी ट्रेलरको अघिसम्म हुनेगरी धकेले र बाँधे।
अब ट्याक्टरमा केही भारी थपियो। वजन थपिएपछि कम्पन कम हुन्छ भन्ने सोचेका हामीलाई रुखको चलायमानले थप दुःख थियो। त्यसमाथि मोडहरुमा यसैले झुक्याएर दुर्घटना निम्त्याउने त होइन भन्ने आशंका समेत उब्जियो।
घुम्तीमा रुख ट्रेलरको दायाँबायाँ गर्दा यता आफ्नो धड्कन भने ठिक विपरीत तल-माथि गर्थ्यो। एकपटक त झरेर हिँडौ की जस्तो नभएको पनि होइन। यस्तो बाटोमा यति कठिनसँग ट्याक्टर चढ्नुभन्दा हिँड्ने की भनेर सुशीलको विचार बुझ्नलाई सोधें। ट्याक्टरको आवाजले उसले मेरो प्रश्न सुनेन। साँझ पर्न थालेको अवस्था अनि चालक भाइको त्यो उमेरमा देखिएको परिपक्वपनले ट्याक्टरबाट झर्न दिएन।
तर, त्यतिबेला भने आधा बोझ हल्का भयो, जतिबेला बाँधेको डोरी चुँडिएर सल्लाको रुख भूइँमा खस्यो। त्योभन्दा बढी खुसी त त्यतिबेला लाग्यो, जतिबेला चालक भाइले यसरी रुख लैजान गाह्रो हुनेरहेछ भनेर ट्याक्टर अघि बढाए।
अब भने मन र मस्तिष्कमा बढेको आशंकाको ग्राफ लयमा आयो। छिट्टै पुगिन्छ भन्ने विश्वास पनि।
केही बेरको यात्रापछि बुढीगंगा नगरपालिका -१०, डुगरसैन बजारमा ट्याक्टर रोकियो। रोकिएको ट्याक्टर अल्लिबेर नै अघि बढेन। खाजा खाएपछि चालकलाई साहुले अर्कैतर्फ काममा जान भनेपछि समयमै मार्तडी पुगिन्छ भन्ने विश्वासमा ढुंगा लाग्यो। त्यसपछि हामीलाई त्यहाँ अलमलिनु उचित लागेन।
‘अब मार्तडी त पुगिँदैन। तल रोड छेउ पुगेर बस्न पाए भोलि बिहानै हिँड्न सजिलो हुन्थ्यो,’ मनमा तर्कना खेलिरहेको थियो।
यस्तै साँझ ६ बजेको हुँदो हो मार्तडी जाने जीप आयो। हामीलाई लैजाने भयो। जीपमा चढ्यौं। रोक्दै अघि बढ्दै गरेको उक्त जिपले मार्तडी पुग्न रातिको १० बजायो।
जिपमा हामीसँगै बडीमालिका मन्दिर,मार्तडी बजार अनि बाटो बनाउने काममा खटिएका इन्जिनियरहरु सवार थिए। खासमा पहिलो पटक त्यसमाथि रातमा मार्तडी पुगेकोले हामी बसाइका बारेमा अन्योलमा थियौं। जिपमै सवार एकजना दाजुले सँगै बसौं भनेर अघि लाघेपछि हामी उनकै पछि-पछि लाग्यौं। बजार सुनसान छ। पानी परेर बाटो हिलो भएको रहेछ। दाजुले हिलटप होटलमा बस्ने व्यवस्था मिलाए। सुत्ने तरखर गरिँदै रहेछ होटलमा। यद्यपि होटलका सञ्चालकलाई दुःख दिनु हाम्रो बाध्यता थियो।
‘के हो साहुनी अहिलेसम्म सटर खुल्ला?,’ होटलको सटर खुलेको देखेपछि केहीबेरपछि एक प्रहरीले नजिकै आएर सोधे। मार्तडीमा बेलुकाको ९ बजेपछि सबै पसल तथा होटलहरु बन्द गर्नुपर्ने नियम रहेछ। हाम्रो अफ्ठेरो सुनाएपछि ‘साहुनी’ले छुट पाइन् र लगत्तै सटर बन्द गरिन्।
दाजुले तीन जना एउटै कोठामा बस्ने प्रस्ताव राखे। अहिले सुत्ने अनि बिहानै उठेर हिँड्ने त हो नि भनेर केही नसोची हुन्छ भनें। त्योभन्दा अन्य कुनै विकल्प पनि त थिएन।
सुत्ने बेलासम्म जसको सहयोगमा हामीलाई आश्रय मिलेको थियो, बिस्तारामा पुग्दा लाग्यो त्यति लामो चिनजान नभएको व्यक्तिसँग रात बिताउँदा कुनै अप्ठेरोमा फसिने त होइन? जिपको यात्रामा सँगै रहेका र बसाइको तारतम्यसमेत मिलाइदिए पनि ति दाइप्रति एकाएक संशकित मष्तिष्क हावी भयो। तर, यसका लागि उत्प्रेरणा दिने उनले कुनै गतिविधि भने गरेका थिएनन्।
यद्यपि थाहा नपाउने गरी उनको फोटो खिँचे। नाम, ठेगाना सोधें। अनि घरमा दाईलाई म्यासेज गरिदिएँ। यति भएपछि थोरै भए पनि राहत मिलेको अनुभव भयो।
छैटौं दिन : कर्णाली उर्फ ‘उज्यालोतर्फको लामो यात्रा’को तिरैतिर
उठ्दा बेलुकाको ह्यांगओभर थिएन। बिहानको समय मार्तडी बजार र नजिकै रहेको बडिमालिका मन्दिर हाम्रो घुम्ने गन्तव्य बन्यो।
आज पनि बाटो भुल्ने समस्या हुनसक्छ भनेर कोल्टीसम्म गाडीमा जाने अनि बल्ल हिँड्ने सोचेका थियौं। त्यसो गर्दा हाम्रो तालिकाअनुसार भ्याइने र शरीरलाई पनि धेरै दबाब नपर्ने अनुमान थियो। खाजा खाएर होटल पुग्दा जिप कोल्टीतर्फ जाने तयारीमा रहेछ। हामी सोही जिपमा जाने टुंगोमा पुग्यौं।
कच्ची बाटो र अघिल्लो दिन परेको पानीले बनेको हिलोले कहीं भाँसिदै अनि कहीं उफ्रिँदै पाण्डुसेन हुँदै दिउँसो २ बजेतिर कोल्टी पुग्यौं। बिग्रेको बाटो अनि चर्को घामलाई जिपको पछिल्लो सिटमा सवार रोहितलगायत अरु यात्रुको गफले भुलायो। जिपमा सवार गरिरहँदा रोहितले हिँड्ने बाटो पनि बताइ राख्थ्ये। त्यतिबेला उनी हाम्रा गाइड, अझ भनौं ‘गुगल म्याप’ कै रुपमा थिए।
हिँडेर भने खोलाको छेउ-छेउ हुँदै पाण्डुसेन पुग्ने अनि छोटो बाटो समातेर कोल्टी पुग्न सकिने रहेछ। कतै-कतै गाडी नै चल्ने फराकिलो बाटो भेटिने भए पनि यस खण्डमा अधिकांश गोरेटो नै हिँड्नुपर्ने रहेछ।
रोहितका अनुसार आजकल गाडी नै गुड्ने भएपछि अधिकांश स्थानीयको यात्राको स्वरुप बदलिएको रहेछ। मानिसहरु धेरै नहिँड्ने भएका कारण पनि हामीले उक्त छोटो बाटो हिँड्ने सोच बनाएको भए झुक्किने वा बिराउने सम्भावना रहेको रोहितले जनाए।
रारा पुग्ने हाम्रो सोचमा कोल्टीबाट अझ पर अर्थागे चौरसम्म थप अर्को गाडी जाने भए पनि हामीले हिँड्ने सोच गर्यौं र अघि बढ्यौं। कोल्टीसम्म सँगै आएका रोहितलगायतका स्थानीय साथीहरुले बाटोबारे जिज्ञासा राख्दा ‘ओपन स्ट्रेट म्याप’मा लगाएका मार्करहरु देखाएर अबको बाटो खासै झुक्किने खालको नरहेको भन्दै आफूहरु सहजै पुग्नेमा निश्चिन्त हुन आग्रह गरें। केही दुविधामा परे उनीहरुसँग फोनमा सम्पर्क गर्ने गरी हामी दुवै गन्तव्यतर्फ अघि बढ्यौं।
अग्ला र भिमकाय तर उजाड चट्टानी पहाडबीच बगेको कर्णाली, यस क्षेत्रको खुसी र व्यथा दुवैको ‘मानक’ मानिएको नदी हो। त्यसमाथि यसले तय गरेको घुमाउरो र लामो यात्रालाई समग्र कर्णाली क्षेत्रको पर्यावरणीय र सामाजिक, आर्थिक अवस्थाको प्रतिबिम्बको रुपमा बुझ्ने पनि धेरै छन्। देख्दा सुन्दर र निलो तर अनुभवमा उस्तै जर्जर। सदूरपश्चिम हुँदै कर्णाली पुग्दा हामीलाई पनि यस्तै नलागेको होइन। यसपटक फरक भनेको रङ धमिलो थियो। यद्दपि बग्नु त छँदैछ।
कर्णालीको तिरैतिर बधु, अर्थागे चौर, पुरानो जुगला हुँदै साँझको ६ बजे मुगु र बाजुराको सिमाना जुगलामा पुगेर त्यस दिनको यात्रा रोकियो। रातापानी नत्र अमासम्म पुग्ने योजनालाई मौसमले रोकिदियो। हावाहुरी सहितको वर्षा र चट्याङ। यस्तो बेला छाता हुनु वा ओढ्नुको कुनै अर्थ थिएन। हामीलाई जुगला नबसी धरै भएन। जुगला पुल तरेर मुगुतर्फ पर्ने करुणा किराना पसल भएको घरमा बस्यौं।
रारा हिँडेका हामीले बल्ल रारा रहेको जिल्ला मुगुमा पाइला टेकेका थियौं। यसले पनि रारासम्मको यात्रालाई थप कौतुहल बनाइरहेको थियो।
कौतुहल हुनु र देखिनु भने फरक कुरा रहेछ। यहाँसम्म आइपुग्दा कतिपय कुरा यसअघि सुनिएका/भनिएका र प्रत्यक्ष देखिएकामा फरक महसुस भयो। कतिपय त सोच बाहिरका पनि थिए। खासमा ठूलो नलाग्ने तर, स्वास्थ्य र जीवनका दृष्टिले महत्वपूर्ण मानिने पिउने पानीको समस्या र स्थानीयले खोजेको उपाय मेरो सोच बाहिरको कुरा थियो।
चितवनमा रहँदा हामी दाउराघाँस काट्न वन गएको बेला तिर्खा लागेमा मुल, खोल्साखोल्सीमा रसाएको पानी खोज्दै हिँड्थ्यौ, पिउँथ्यौं। स्यास्थ्यको दृष्टिले यो पनि स्वस्थकर पक्कै होइन। बाजुराले यसभन्दा धेरै माथि सोच्न बाध्य पार्यो। पहाडी दुर्गम भेगमा फैलने सरुवा रोगको महामारीलाई समेत यसले पक्षपोषण गरेको लाग्यो।
खासमा यहाँ पिउने पानीको स्रोत कर्णाली नदी रहेछ। कर्णालीको पानी थिग्र्याएर खानु यहाँको बाध्यता रहेछ। आफ्नै भेगको नारायणी सम्झें, हेर्दा निलो र अनवरत बगिरहेको छ। तर, त्यो हेर्दा मात्रै निलो हो, राम्रो हो भन्ने सबैलाई थाहा छ। जनघनत्व तथा शहरीकरणका कारण कर्णाली नदी नारायणी जत्तिकै प्रदुषित थिएन होला तर सोझै पिउन सकिन्छ भन्नेमा म निश्चिन्त अझै पनि छैन।
भनिन्छ अफ्ठेरोमा उपलब्ध साधनस्रोतबाटै निकास खोज्नुपर्छ। कर्णाली किनारका बाजुराबासीलाई सायद यो उपयुक्त निकास नै त थियो होला। काठमाडौं र अन्य सहरका घरका छत तथा सडक किनारमा ठड्याइएका फिल्टर गरेर, क्लोरिन हालेर पानी पिउनु पर्छ या पानी शुद्ध बनाउने तरिका लेखेर टाँगिएका होर्डिङ बोर्ड हुन् या छापा तथा सञ्चारमाध्यममा प्रकाशन/प्रशारण हुने विज्ञापन, यहाँ आउँदा ती सब यहाँका लागि भ्रम त होलान् नि भन्नेसम्म पनि सोचमा आयो।
खासमा यो क्षेत्रलाई खराब स्थान रहेको पुष्टि गर्नु मेरो ध्येय होइन। प्रश्न गर्न चाहेको त यत्ति हुँ कि यहाँको जीवनशैली के सधैं यस्तै रहिरहने हो त?
सोच, निद्रा र कर्णालीको किनारमा थिएँ। त्यो समय रातमा सुतेको थिइनँ, लाग्यो म अँध्यारोमा सुतेको हुँ। तर, त्यो अँध्यारो उज्यालोको प्रतिक्षामा थियो।
सातौं दिन : १४ घन्टाको हिँडाइ, अनेक भोगाइ
करिब ५ बजेको हुँदो हो। झिसमिसेमै जुगालाबाट बाटो लाग्यौं। भ्याएसम्म राराको नजिक गएर बस्ने सोच थियो। यात्राका दौरानमा सबैभन्दा सहज अनुभव भएको हिँडाइ सायद यही नै थियो। ‘ओपन स्ट्रेट म्याप’मा स्पष्ट देखिएको नक्सा, बाटोमा बरोबर भेटिने स्थानीय तथा बटुवा हाम्रा लागि ट्रेकिङ गाइड त छँदै थिए, त्यसभन्दा बढी बोल्ने साथी।
केही स्थान बाहेक सजिलै पाइला चाल्न सकिने बाटो, जनावरको भयविना नै निश्चिन्त हिँड्न सकिने यहाँको प्राकृतिक सुन्दरताको वर्णन गरिसाध्यै छैन। बागलुङको पहाडमा जीवनयापन गरेका मेरा अघिल्लो पुस्ता, चितवनमा उत्तरतर्फको महाभारत पर्वत शृंखला हेर्दै हुर्केको म, यस यात्राका क्रममा बल्ल म पहाडमा आइपुगेको छु भन्ने विश्वासमा थिएँ।
भारतीय कवि उदय प्रकाश केही वर्षअघि पोखरा आउँदा भनेका थिए- मैले यत्ति नजिकबाट हिमाल देखेको जीवनकै पहिलो अनुभव हो। म यत्तिबेला उनै कवि प्रकाशलाई सम्झिरहेको थिएँ। लागिरहेको थियो भौगोलिक पहाडसँगै यहाँका जनताको मानवता, सेवा र अफ्ठेरो जीवनशैलीको पनि म साक्षी बस्न पाएको छु।
अमा, सियाला, होडी हुँदै रातापानी पुग्दा करिब ७ बजेको थियो। धेरै ठाउँमा राम्रो भए पनि कतै-कतै सडक खन्दै गरेको डोजरले हिँड्ने बाटो नै पुरेको स्थान भएर पनि अघि बढियो। यात्रामा एक जुम्ली बाजे भेटिए। उनीसँग बात मार्दै माझ चौर नजिकै पुगेर छुटियौं।
यही यात्रामा क्रममा साना भाइहरुको जस्तो लाग्ने आवाज पनि सुनियो। जो बोलिरहेका थिए- ‘पुलुङ पुलुङ’। तर, सडकको दायाँबायाँ कोही देखिएनन्। फेरि उसैगरी आवाज आयो- ‘पुलुङ पुलुङ’। यो पटक हल्लिएको रुखको हाँगामा हाम्रो नजर पुग्यो। भाइहरु त रुखमा चढेर पो बोलिरहेका रहेछन्। हामी रोकियौँ। उनीहरु ओर्लेर आए।
६-७ वर्षका जस्ता देखिने २ जना भाइहरु। हाम्रो सामुन्नेमा आएपछि भने- ‘पुलुङ किन्ने हो दाइ, पुलुङ?‘ पुरानो स्कुल ब्यागभित्र केही आरुबखडा बोकेर बेच्न बसेका रहेछन्। पुलुङ भनेको त्यही आरुबखडा रहेछ।
‘कति रुप्पें हो भाइ?,’ प्रश्नमा प्रश्न थपें।
‘१० रुप्पेंको ८ वटा,’ दुईमध्ये अलि सानो भाइ बोले। ठूलो भाइ चाहिँ बोल्न लजाउने रहेछन्।
‘अनि किलोको कति रुप्पें नि?,’ एकछिन गफ गर्न मन लागेर सोधेँ।
दुवैजना मुखामुख गरेर बसे। केही बोलेनन्। सायद किलोमा बेचेको अनुभव नभएर मूल्य तोक्नै नजानेको हो कि भन्ने लाग्यो।
‘कहाँ लगेर बेच्ने हो नि भाइ यो?’
‘फुपूलाई लगेर दिने हो, फुपूले नै बेच्छ,’ यसपटक चाहिँ उनी सजिलै बोले।
एकछिन भलाकुसारी गरेपछि बाटोमा हिँड्दा खान हुन्छ भन्दै केही पुलुङ किन्यौँ र अघि बढ्यौँ।
यी भाइहरुलाई देख्दा सुशीलले आफूले सानोमा तरकारी बेचेको सम्झना भएको सुनाए। मैले पनि टमाटर बोकेर गाउँमा बेच्न गएका दिनहरु सम्झिएँ। यात्राको यो पनि एक फाइदा न थियो। हरेक अवस्था वा घटना/परिघटनालाई कुनै न कुनै रुपमा अरु घटना वा अनुभवसँग जोड्न पाइन्छ।
बिहान १० बजेतिर माझचौर पुगेर खाना खायौं। केहीबेर आराम गर्यौं र फेरि सुरु भयो यात्रा। चर्को घाम, हरिया डाँडाकाँडा छेउमा बगेको खल्याड खोला (रारा तालबाट सुरु भएको)को किनारैकिनार हिँड्दै गर्दा थप २ जना भेटिए, रारा जान हिँडेका उनीहरु हाम्रा लागि र हामी उनीहरुका लागि साथी बन्यौं।
कतिपय स्थानमा पातला बस्ती र आसपासमा खेत। स्थानीयहरु धान रोपाइँको चटारोमा थिए। देउडा भाका गाउँदै धान रोपिरहेका रोपारहरूलाई हेर्दा बेग्लै आनन्द आउने। आमाबुवा खेतमा,बालबच्चा खोलामा। सबै आ-आफ्नै धुनमा। केही बालबच्चा भने बुवाआमासँगै हिलोमा। साँच्चै जीवनको यो लय, दृश्यमा धेरै आयामहरु समेटिएको लाग्यो।
खत्याड गाउँपालिकाको वडा नम्बर ३ स्थित श्रीकोट, वडा नम्बर २ स्थित सेरी, बाउपानी, जेउड खोला हुँदै अघि-अघि बढिरह्यौं। जति अघि बढ्थ्यौं राराको नजिक पुग्दैछौं भन्ने रोमाञ्चकताले लठ्याउँथ्यो। त्यसमाथि घरआँगनमा बसिरहेका, बाटोमा हिँडिरहेका वृद्धवृद्धासँग गफिँदै हिँड्दा समय बितेको पत्तै भएन।
साँझ ७ बजेतिर माझ घट्ट पुगेर विश्राम लियौं। हामीसँगै हिँडेका एक बाजेको मितको छोराको घरमा बास बस्ने निधो भयो। करिब १४ घन्टाको हिँडाइले थाकेको शरीरलाई खाना खाएपश्चात् आराम दियौं।
साँच्चै हामीहरु रारा नजिकमा थियौं।
आठौं दिन : रारा- जीवनको किनारमा साउती
हामी रारालाई पहिले समग्रमा यानेकी चारकिल्ला हेर्न चाहन्थ्यौं। यसको सुन्दरता र फैलावटको स्वाद चाख्न चाहन्थ्यौं। यसका लागि एक मात्र विकल्प मुर्मा टप नै थियो।
मुर्मा टप हुँदै राराको किनारसम्म जाने योजनाअनुसार बिस्तारै उकालो लाग्यौं। करिब ३ घन्टाको उकालो हिँडाइपछि मुर्मा टप पुग्यौं। उकालो चढ्दा थाकेका हामी मुर्मा टप पुग्दा एक आमालाई वर्षौं हराएको छोरा/छोरी घर फर्किनु बराबरकै हर्ष र सन्तुष्टि मिलेको थियो।
सगरमाथा आरोहण गर्ने आरोहीलाई संसारकै अग्लो व्यक्ति आफैं हुँ भन्ने लाग्छ होला। यता उही उचाइ नभए पनि लहरै खडा गरिएका मन्दिरजस्ता पहाडैपहाड देख्दा हामीलाई पनि त्यस्तै लाग्यो। कुनै बिरुवाको फराकिलो पातजस्तो देखिने रारा ताल राजा महेन्द्रले लेखेजस्तो साँच्चै 'अप्सरा'भन्दा कम थिएन। उसो त ‘अप्सरा’ कस्ती हुन्छिन्, सायद लेख्ने कविले नै अर्थपूर्ण रुपमा बताउन सक्लान्।
तर, सुन्दरतालाई असाधारणको कुनै रुपमा व्यक्त गरेको भए राराको हकमा यो सत्य लाग्यो। यद्यपि यो भने पटक्कै लागेन की असाधारणको छेउमा यो साधारण मनुवा पुग्दा स्वयम् रारालाई केही लागेको होस्।
करिब २ घन्टा यसैगरी आँखा र मनको विचरण भयो। रारा आँखा र मनको रिलमा कैद गर्यौं र लाग्यौं राराको किनार चुम्न।
रारा किनारमै रहेका दुई होटलमध्येको एक डाँफे होटेलतर्फ निस्कने अर्को बाटोको फेरो हुँदै ओरालो झर्यौं। खासमा उकालो चढ्न मुश्किल छ, त्यो भन्दा पनि बढी मुश्किल ओरालो झर्न हुन्छ। हामी सोच्छौं ओरालो बाटो छिचोल्न समय कम लाग्छ, यो सही होला। तर, यो छोटो दूरी सबैभन्दा बढी संवेदनशील हुन्छ भन्ने मेरो बुझाइ हो।
संवेदनशील यात्रा पार गर्दै, अझै भनिए जस्तै ‘केही बेर’मै किनार पुग्यौं।
करिब २ घन्टा किनारमै बित्यो। खाना खान होमस्टेतर्फ बाटो सोझियो।
यो समय आरामको थिएन। यदि थियो नै भने उपयुक्त स्थान राराको किनार नै थियो। करिब आधा घन्टाको दूरीमा उही ठाउँ पुग्यौं।
पुग्दा किनार एउटै लाग्यो, तर त्यस आसपासका सबै चिज एकै लागेनन्। रारा उही थियो, तर यसको स्वाभाव एकै लागेन। हावा उही थियो, तर यसको गति एकै लागेन। पानी उही थियो, तर यसको रङ एकै लागेन। घाम उही थियो, तर यसको कठोरता एकै लागेन। घोडा उही थिए, तर तिनका पदचाप एकै लागेनन्। घोडा चालक उही थिए, तर तिनको निर्देशन एकै लागेन। रुखबिरुवा उही उही थिए, तर तिनीहरुको खासखुस एकै लागेन। यावतरुपमा हाम्रो जीवन पनि उही थियो, तर यसको मिठास एकै लागेन।
समग्रमा यही लाग्यो की यो शरीर जीवनको किनारमा साउती मारिरहेछ। जो बिस्तारै-बिस्तारै केन्द्रतिर होमिनुपर्ने अवस्थामा छ। हामी पनि किनारबाट केन्द्रतर्फ सोझियौं। जो(काठमाडौं) रारादेखि परको कुनै अर्कै देशमा पर्छ।
बाँकी संस्मरण दृश्यमाः
(तस्बिरहरुः नारायण कँडेल/सुशील श्रेष्ठ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।