मेयर-उपमेयर विवादले उग्ररुप लिँदा धनुषामा झडप, आधा दर्जनभन्दा बढी स्थानीय घाइते

प्रहरी र लठैत लगाएर मेरो कार्यालय लुट्न आए : उपमेयर
अजय शाह | २०७६ श्रावण २१ मंगलबार | Tuesday, August 06, 2019 १७:०१:०० मा प्रकाशित

जनकपुर- धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षधरबीच आज भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ। झडप नियन्त्रण गर्न प्रहरीको लाठी चार्जबाट उपमेयर सहित आधा दर्जन घाइते भएका छन्। 

कार्यालय सम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन्। 

आज दिउँसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो।

झडपको क्रममा उपमेयर झासहित वडा नं २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर पुण्य खत्रीलगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन्। 

घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था गम्भीर रहेको छ। उनको स्थानीय स्तरमा उपचार भई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको जनाइएको छ। 

स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल करिब ६० जनाको समूहका साथ आएका थिए। घरेलु हातहतियार सहित उनीहरु दुई वटा ट्याक्टरमा आएका थिए।उपमेयर पक्षधरबाट स्थानीयले प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भएको हो।

झडप उग्ररुप लिएपछि प्रहरीले लाठी चार्ज गर्न थालेपछि मेयर पक्षका स्थानीय ज्यान जोगाएर भागे पनि उपमेयर पक्षधरले उनको दुवै ट्र्याक्टर नियन्त्रणमा लिएका छन्।

प्रहरीले दुई जना स्थानीयलाई नियन्त्रणमा लिएको छ। 

स्थिति तनावपूर्ण बनेकाले तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा नेपाल र शसस्त्र प्रहरी परिचालन गरिएको छ। 

सञ्चारकर्मीसँग कुरा गर्दै उपमेयर झाले भनिन्, ‘मेयर मण्डललाई कार्यालय सम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटक पटक आग्रह गर्दै आएका हौं। तर, उनले मानेनन्, आज बेलही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौं प्रहरी र लठैत लगाएर आफ्नो कार्यालय लुट्न आए।'

प्रहरीले भने स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गर्नुपरेको बताएको छ।

सुरुदेखि नै मेयर-उपमेयरबीच विवाद हुँदै आएको थियो। उनीहरुले हाल आ-आफ्नै वडामा कार्यालय खडा गरी काम गर्दै आएका छन्।