काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यसै वर्षदेखि सुरु हुने बताएका छन्। मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणको शिलान्यास आगामी मंसिरमा हुने समेत स्पष्ट पारेका छन्।
सोमबार नेपाल वायुसेवा निगमका उच्चपदस्थ कर्मचारीहरुसँगको छलफलमा निजगढ विमानस्थलको शिलान्यास मंसिरमै हुने उनले दाबी गरेका हुन्।
‘निजगढ विमानस्थल निर्माणका लागि रुख कटानी गर्नुपर्ने हुन्छ। रुख नकाटी विमानस्थल निर्माण सम्भव छैन। रुख कटानीको विरोध हुन आवश्यक पनि छैन। सरकारले अनावश्यक रुपमा रुख कटानी पनि गर्दैन,' उनले भने, 'रुख कटानीको विरोध गर्ने वा रुखको माया लाग्नेहरु अँगालो हाल्न आए पनि हुन्छ। सरकार हेर्छ- को आउँछ रुखलाई अँगालो हाल्न।'
साथै मन्त्री भट्टराईले निगमलाई समेत बजार विस्तारमा लाग्न आग्रह गरेका थिए।
सरकारले गत चैतमा भएको लगानी सम्मेलनमा समेत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विदेशी लगानीकर्ताहरुमाझ खाका प्रस्तुत गरेको थियो।
विमानस्थल निर्माणका लागि कतार लगायत ६ वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरिसकेका छन्। लगानी बोर्डले विमानस्थल निमार्णका लागि आएका प्रस्ताव अध्ययन गर्दै आसयपत्र समेत माग्ने तयारी गरिरहेको छ।
लगानी बोर्डले लगानी सम्मेलनमा विमानस्थल निर्माणमा झन्डै ४ खर्ब रुपैयाँ लाग्ने खाका प्रस्तुत गरेको थियो। निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्ने भनेर चर्चा हुन थालेको एक दशक बढी भइसकेको छ। २०६४ सालमा मन्त्रिपरिषद् बैठकले उक्त विमानस्थल बुट मोडलमा बनाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार विस्तृत परियोजना प्रतिवेदन तयार पार्न कोरियाली कम्पनी ल्यान्डमार्क वर्ल्डवाइड कम्पनी (एलएमउब्ल्यु) लाई जिम्मा दिइएको थियो। उक्त कम्पनीले २०६५ सालमा नेपाल सरकारलाई प्रतिवेदन बुझाउँदै ५ वर्षभित्र विमानस्थल निर्माण सम्पन्न हुन सक्ने जनाएको थियो। उक्त प्रतिवेदन पनि मन्त्रालयले ग्रहण गरिसकेको छ।
साथै विमानस्थल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समेत वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ। यो विमानस्थल निर्माणको कुरा सन् १९९० को दशकमै आएको थियो। तर, कामको थालनी भने सन् २०११ बाट सुरु भएको हो।
आर्थिक वर्ष २०७०/७१ पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको विषयमा वातावारणीय प्रभाव मूल्यांकनको काम थालनी गरेका थियो। विमानस्थलको चार किल्ला प्रमाणितको काम पनि सोही समयमा भएको थियो। ८० वर्ग किलोमिटर क्षेत्रफलमामा फैलने यो विमानस्थल निर्माणस्थलमा रहेको १ सय १० बिघा जग्गामध्ये ५५ बिघा जग्गाको मुआब्जा समेत वितरण भइसकेको छ। आयोजनाको कार्यालय स्थायी रुपमा आयोजनास्थलमा स्थापना भइसकेको छ।
विमानस्थललाई सरकारले एसियाकै हब विमानस्थल रुपमा निर्माण गर्ने बताइसकेको छ। तर, विमानस्थल निमार्णका लागि आवश्यक डिपिआर भने तयार भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।