काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७७ को बैसाखदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ।
प्राधिकरणले सन् २०१९ को डिसेम्बरसम्ममा विमानस्थल निर्माणको काम सकाउँदै बाँकी सबै प्रक्रिया पूरा गरी बैसाखदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको हो।
विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै प्राधिकरणले विमानस्थल सञ्चालनको तयारी थालेको हो। तर, विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणले नै सञ्चालन गर्ने कि निजी कम्पनीलाई दिने भन्ने विषयमा भने सहमति हुन सकेको छैन।
विमानस्थलको सञ्चालन जिटुजी मोडलमार्फत गर्न विभिन्न कम्पनीले चासो देखाउँदै आएका छन्।
विमानस्थल सञ्चालनको विषयमा अवको दुई महिनाभित्र निर्णय भइसक्ने नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले बताउन थालेका छन्। मन्त्री भट्टराईले विमानस्थल सन् २०१९ को डिसेम्बरबाट सञ्चालन गर्ने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिए पनि प्राधिकरणले भने डिसेम्बरबाट विमानस्थल सञ्चालन गर्न नसक्ने स्पष्ट पारेको छ।
विमानस्थलको रन–वे निर्माणको काम सम्पन्न भइसकेको छ। नयाँ निर्माण भएको ३ हजार मिटरको रन–वेमा परीक्षण उडान डिसेम्बरभित्रै गर्न सकिने बताइएको छ। यद्यपि अन्तर्राष्ट्रिय उडानका लागि सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी उडान सुचारु गर्न भने निर्माण सकिएपछि पनि केही समय लाग्ने प्राधिकरण स्रोत बताउँछ।
‘मन्त्रीज्यूले डिसेम्बरबाट विमानस्थल अपरेसनमा ल्याउँछु भनेर इच्छा राख्नु राम्रो हो,' प्राधिकरण स्रोतले भन्यो, ‘डिसेम्बरसम्ममा निर्माण कम्पनीले निर्माणकार्य सकेमा सबै प्रक्रिया पूरा गर्दा २०७७ को बैसाखमा मात्रै विमानस्थल ’फुल फेज’मा सञ्चालनमा ल्याउन सकिन्छ।’
मन्त्री भट्टराईले जुन अभिव्यक्ति दिँदै आएका छन्, सो कुरा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाआ)को मापदण्डअनुसार सबै प्रक्रिया पूरा गरी विमानस्थल सञ्चालनमा आउन सक्ने देखिँदैन। मन्त्री भट्टराईले भनेका विषयलाई आधार मान्ने हो भने आगामी डिसेम्बरभित्र विमानस्थलमा आपतकालीन अन्तर्राष्ट्रिय उडानका विमान मात्रै अवतरण गर्न सकिन्छ।
तर, हाल सञ्चालनमा रहेका आन्तरिक उडान भने नयाँ रन-वेबाटै गर्न सकिने बताइएको छ।
‘सन् २०१९ डिसेम्बरभित्र विमानस्थलमा परीक्षण उडान गर्न सके गौरवको विषय हुनेछ,’ प्राधिकरण स्रोतले भन्यो, ‘अफिसियल रुपमा भन्दा डिसेम्बरदेखि नै विमानस्थल सञ्चालनमा आउँछ भन्नुपर्ने बाध्यता छ।’
विमानस्थलको निर्माणसँगै सञ्चालनका लागि आवश्यक उपकरण जडानको काममा कुनै विलम्ब नभएमा निर्धारित समयमै हुने प्राधिकरण बताउँछ। विमानस्थल निर्माण सक्नुपर्ने समय र उपकरण जडान गरिसक्नु पर्ने समय पनि सन् २०१९ को डिसेम्बरसम्म छ। सोही आधारमा पनि डिसेम्बरमै विमानस्थल सञ्चालनमा ल्याउन नसक्ने प्राधिकरणको दाबी छ।
विमानस्थलको भौतिक पूर्वाधार निर्माण र उपकरणको जडानको काम सकिएपछि पनि बाँकी प्रक्रिया पूरा गर्न थप ३ देखि साढे ३ महिनाको समय लाग्ने प्राधिकरणको आँकलन छ।
उपकरण जडान र निर्माणको काम सकिएपछि पनि जडित उपकरण परीक्षण गर्न प्राधिकरणलाई ३० दिनको समय चाहिन्छ। उक्त समयमा कम्पनीले प्रारम्भिक रिपोर्ट मात्रै दिन्छ। कम्पनीले अन्तिम प्रतिवेदन दिन थप ३० दिनको समय पाउँछ।
प्रतिवेदन तयार भएपछि पनि लगत्तै विमानस्थल सञ्चालनमा ल्याउन पाइँदैन। यसका लागि फेरि एआइपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन)मा प्रकाशित हुनुपर्छ। यो प्रक्रियाका लागि ५६ दिनको समय लाग्छ। अन्य प्रक्रियालाई केही कम गर्न सकिए पनि एआइपीलाई भने कम गर्न सकिँदैन। जसका कारण पनि उपकरण जडान र विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम डिसेम्बरमा सकिएको अवस्थामा त्यसको करिब ४ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई बाँकी मापदन्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउन सकिने प्राधिकरणको भनाइ छ।
कहाँ पुग्यो निर्माण कार्य?
निर्माण कम्पनीले विमानस्थलको भौतिक पूर्वाधारको काम तीब्रताको साथ गरिरहेको छ। निर्माण कम्पनीले विमानस्थलको रन–वे निर्माणको काम सकिएको छ।
विमानस्थल सञ्चालनका लागि चाहिने पूर्वाधार र उपकरण पनि हो। आइसिबी जिरो-१ (पूर्वाधार निर्माण)को काम ७० प्रतिशत सम्पन्न भइसकेको छ। आइसिबी जिरो-२ (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)को पनि काम भइरहेको छ। पूर्वाधार निर्माणतर्फ अन्तिम चरणको काम बाँकी रहेकै अवस्थामा विमानस्थल यसै दिनबाट सञ्चालनमा ल्याउँछौं र यही दिन परीक्षण उडान गर्छौं भन्नसक्ने अवस्था भने नरहेको प्राधिकरण महानिर्देशक राजन पोखरेल बताउँछन्।
तर, छिटोभन्दा छिटो तोकिएको समयमै निर्माणको काम सम्पन्न गरी विमानस्थल सञ्चालनमा आउने उनको तर्क छ।
‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कस्टम, अध्यागमन, क्वारेन्टाइन, एयरलाइन्सहरुलाई उडान अनुमतिलगायतका धेरै काम गर्नुपर्ने हुन्छ,' उनले थपे, 'विमानस्थलको निर्माणकार्य सम्पन्न हुनेबित्तिकै उडानअवतरण सुरु हुने होइन।'
'हामीले डिसेम्बरसम्ममा निर्माणको काम सकिएमा बैसाखदेखि विमानस्थल अपरेसनमा ल्याउने गरी काम गरीरहेका छौ,' प्राधिकरण स्रोतले भन्यो, 'नयाँ रन-वेमा परीक्षण उडान गर्न सकिन्छ। अझै भिएफआरमा पनि हामीले प्रोसुडर मिलाउन सकेको अवस्थामा अन्तर्राष्ट्रिय उडान पनि गर्न सकिन्छ।'
चिनियाँ निर्माण कम्पनीसँग पहिलोपटक भएको सम्झौताअनुसार सन् २०१७ को डिसेम्बरमा विमानस्थल निर्माणको काम सक्नुपर्ने थियो। तर, सन् २०१५ अप्रिलको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले काममा ढिलाइ भएकाले सन् २०१९ जुलाईसम्म समय थप गरिएको थियो।
त्यसमा पनि कम्पनीले निर्माणको काम सम्पन्न गर्न नसकेपछि तेस्रोपटक समय थप गर्दै २०१९ को डिसेम्बरसम्म काम सक्नुपर्ने समयसीमा छ।
दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडिबी)को सहयोग छ। यो परियोजना कूल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसिबी–१(पूर्वाधार निर्माण) का लगि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो।
यो आयोजनामा सबैभन्दा बढी एसियाली विकास बैंकको ५.४२ मिलियन अनुदान र ४२.०३ मिलियन ऋण सहायता छ। यसैगरी ओएफआइडीको १५ मिलियन डलर ऋण, सरकारको ५.७ मिलियन डलर ऋण र प्राधिकरणको १८.४ मिलियन डलर लगानी रहनेछ।
विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण र मुआब्जामा मात्रै २३ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। यसबाहेक पनि प्राधिकरणको २ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने अवस्था छ।
विमानस्थल निर्माणमा भन्दा जग्गाको मुआब्जा दिँदा बढी रकम खर्च भएको छ। जग्गा मुआब्जामा मात्रै २३ अर्ब रुपैयाँ खर्च भएको छ। अहिले प्राधिकरणले कार्गो भवन निर्माण गर्नसमेत थालिसकेको छ। (तस्बिर- दीपक घिमिरे)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।