काश्मीर मामिलाबारे नेपाललाई भारतको ब्रिफिङ

नेपाल लाइभ | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 १६:०२:०० मा प्रकाशित

काठमाडौँ- हालै जम्मू-काश्मीरमाथि चालेको कदमबारे भारतले नेपाललाई ‘ब्रिफिङ’ गरेको छ। 

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले सोमबार संविधानको धारा ३७० लाई खारेज गर्दै जम्मू-काश्मीरको विशेष स्वायत्ततालाई खोसिदिएको थियो। 

दिल्लीस्थित भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग कुराकानी गरेर भारतीय विदेश सचिव विजय गोखलेले भारतीय सरकारले चालेको पछिल्लो कदमप्रति जानकारी गराएका हुन्। 

विदेशसचिव सँगको नेपाली राजदूत आचार्यको भेटबारे भारतस्थित नेपाली दूतावासले पुष्टि गरेको छ। 

मंगलबार मध्यान्ह तिर विदेश मन्त्रालयका सचिव गोखलेले नेपालसहित दक्षिण एसियाका विभिन्न देशका भारतस्थित राजदूतसँग छलफल गरि काश्मीरमा नरेन्द्र मोदी सरकारले कदम चाल्नुका कारणबारे बताएका थिए। 

‘पछिल्लो कदमबारे जानकारी दिन महत्वपूर्ण छिमेकी देशका दिल्लीमा रहेका रादूतहरूलाई बोलाइएको थियो,’ भारतस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले भने, ‘बोलाइएपछि उक्त छलफलमा हाम्रो राजदूतले पनि भाग लिनु भएको हो।’

काश्मीरमाथिको भारतीय कदमबारे नेपालले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन। काश्मीरका मानव अधिकार हनन हुन नहुने कुरामा सरकारले बोल्नु पर्ने भन्दै नागरिक तहमा भने विचारहरू प्रकट भएका छन्। 

जम्मू-काश्मीरलाई लिएर नेपालका पूर्व प्रधानमन्त्री डा. केआई सिंहले मात्र स्पष्ट धारणा राखेको बताइन्छ। उनले जम्मू-काश्मीर भारतको अभिन्न अंग रहेको बताएका थिए। त्यसयता कश्मीर मामिलामा नेपालका अन्य कुनै पनि प्रधानमन्त्रीले बोलेको पाइँदैन। 

भारतले जम्मू-काश्मीरलाई दिएको विशेष अधिकारसहितको राज्यको मान्यता खारेज गर्ने निर्णयको पक्षमा समर्थन जुटाउने प्रयासस्वरुप कूटनीतिक सम्वादलाई तीव्र पारेको छ । 

सोमबार भारतले राष्ट्रसंघको सुरक्षा परिषदका ५ स्थायी सदस्य राष्ट्र र अस्थायी १५ सदस्य राष्ट्रका नयाँ दिल्लीमा  रहेका रादजूतहरुलाई ब्रिफिङ गरेको थियो।