कोरियामा अध्ययनरत नेपाली विद्यार्थी भोलिको नेपालका ठूलो पुँजी हुनसक्छन् : सुर्यराज आचार्य

शिव भुसाल | २०७६ श्रावण २४ शुक्रबार | Friday, August 09, 2019 २३:२९:०० मा प्रकाशित

सोल- साझा विवेकशील पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले कोरियामा अध्ययनरत नेपाली विद्यार्थी भोलिको नेपालका लागि ठूलो पुँजी हुनसक्ने बताएका छन्।

गत आइतबारदेखि तीन दिनसम्म दक्षिण कोरियाको थेगुमा आयोजित एक सेमिनारमा सहभागी भएका डा आचार्यले नेपाली विद्यार्थीले यहाँ अध्ययनबाट सिकेको सिकाइलाई नेपालले ठूलो पुँजीको रुपमा लिनुपर्ने बताए हुन्।

पूर्वाधारविद्‌समेत रहेका आचार्य थेगुस्थित खेन्याङ विश्वविद्यालय, कोरिया सोसाइटी अफ ट्रान्सपोर्टेसन र कोरिया ट्रान्सपोर्ट इन्स्टिच्युटले संयुक्तरुपमा आयोजना गरेको ट्रान्सपोर्ट पूर्वाधार विकाससम्बन्धी ३ दिने  सेमिनारमा सहभागी हुन कोरिया आएका थिए। बुधबारसम्म चलेको सेमिनारमा कोरियाको अनुभवबाट विकासशील देशहरुले के शिक्षा लिन सक्दछन् र कोरियाले अन्तर्राष्ट्रिय प्राज्ञ तथा अध्येताहरुबाट के-कस्तो सहयोग लिन सक्छ भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा नेपाल, थाइल्यान्ड, भियतनामलगायत एसियाली मुलुकहरुमा यातायात क्षेत्रको विकासका मुद्दाहरु के हुनसक्छन् भन्ने विषयमा पनि छलफल गरिएको थियो। दोस्रो विश्वयुद्धपछि अहिलेसम्म कोरियामा यातायात क्षेत्रको विकासमा भएका कामहरुमा उनीहरुको अनुभव, नीतिगत योजना, सञ्चालन र पुँजी लगायतका विषयमा राम्रा र नराम्रा पक्षहरुबाट नेपाल लगायतका विकासशील देशहरुले लिनसक्ने शिक्षाका सम्बन्धमा समेत प्रकाश पारिएको थियो।

सेमिनारमा नेपालका पूर्वाधारविद्को रुपमा सहभागिता जनाएका आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए।

कोरियाको विकासबाट नेपालले के सिक्न सक्छ त? डा आचार्यले अभिव्यक्त गरेको विचारको सम्पादित अंश:

यातायात क्षेत्रको विकासका कुराहरुमा हरेक देशमा आ-आफ्नै समस्याहरु हुन्छन्। कोरियामा पनि आफ्नै किसिमका समस्याहरु छन्। कोरियाको सब-वेहरुमा जानुभयो भने बिहानको समयमा एकदमै भिड हुने गर्छ। यहाँ ट्राफिक जाम पनि अत्याधिक हुने गर्छ। यातायातको क्षेत्रमा यत्रो लगानी गर्दा पनि यहाँ समस्याहरु छन्।

कोरियाको थेगु सानो सहरमा पनि वार्षिक १० अर्ब रुपैयाँ सार्वजनिक यातायातमा सिटी अफिसियलले सब्सिडी दिँदोरहेछ।

यातायात पूर्वाधार विकासमा कुनै गणितीय सुत्र छैन। यसबाट हामीले पनि पाठ के सिक्न सक्छौ त? कोरियामा योजना बनाउँदा भएका गल्तिहरु हाम्रोजस्तो विकासशील देशमा नहोस् भन्ने चाहाना कोरियाको छ। यहाँका सफल योजनाहरु र असफल योजनाहरुबाट हामीले धेरै कुराहरु सिक्न सक्छौं।

खासगरी हाम्रो जस्तो देशमा प्राज्ञिक तहमा अध्ययन अनुसन्धानको लागि यहाँको रिसर्च इन्स्टिच्युटहरुको पनि चासो रहेको पाइयो। रिसर्च गर्दा जहाँ समस्याहरु छन् त्यहाँ समस्या समाधानका लागि उपायहरु खोजिन्छ। हाम्रो जस्तो देशमा भएका समस्यालाई समाधान गर्नको लागि यहाँका प्राज्ञहरुले अध्ययन तथा अनुसन्धान गर्ने विषयमा साझेदारी गर्न चाहेको मैले पाएँ।

पूर्वाधार विकासमा पैसाभन्दा पनि ज्ञान ठूलो हो। पूर्वाधार विकास भन्ने बित्तिकै विकासशील देशहरुले विकसित देशमा गएर वैदेशिक सहायता माग्ने प्रवृत्ति छ। खासगरी अध्ययन र अनुसन्धान तहमा हुने साझेदारी विन-विनको अवस्थामा हुन्छ।

१९६० को कोरियाको अवस्था र हाम्रो अवस्था लगभग उस्तै-उस्तै छ। कोरियाले त्यो समयमा सोल-बुसान राजमार्ग बनाउँदा हाम्रो देशमा जति पनि इन्जिनियरहरु थिएनन्। १९७१ मा सोल मेट्रो बनाउँदा काठमाडौं जत्ति धनी यो सहर थिएन। हाम्रो अहिलेको आर्थिक अवस्था भन्दा कोरियाको त्यो बेलाको आर्थिक अवस्था कमजोर थियो।

कोरियाले पुँजीको व्यवस्था, आन्तरिक क्षमताको विकास, प्रविधि हस्तान्तरणजस्ता कुराहरु कसरी कुशलरुपमा व्यवस्थापन गर्‍यो भन्ने कुराहरु हाम्रा लागि एकदमै महत्वपूर्ण विषयहरु हुन्। ति कुराहरु हाम्रो लागि निकै उपयोगी हुनसक्छन्। सम्पूर्णरुपमा यो सेमिनारबाट हामीले लिने ज्ञान नै यही हो।

सरकारी तवरमा गरिने यस किसिमका कार्यक्रमहरुको महत्व आफ्नै ठाउँमा छ भने विज्ञहरुको प्राज्ञिक तहमा गरिने कार्यक्रमको महत्व छुट्टै किसिमको हुन्छ। त्यसैले मैले मिस गरेको एउटा कुरा चाहिं हाम्रो देशका विश्वविद्यालयमा यस किसिमको अध्ययन र अनुसन्धानको एकदमै कमी छ।

यहाँ मैले सोचेको भन्दा धेरै संख्यामा नेपाली विद्यार्थीहरु रहेको पाएँ। कोरियाका राम्रा विश्वविद्यालयमा अध्ययन गरेर यहाँ सिकेको सिप, ज्ञान, कोरियाको विकासको अनुभवलाई नेपाली विद्यार्थीहरुले नेपाल फर्केर पुलको रुपमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। त्यो पनि हाम्रो लागि ठूलो पुँजीको रुपमा प्रयोग हुनसक्ने सम्भावना मैले देखेको छु।

कोरियाको यातायातसम्बन्धी सरकारी नीतिनिर्माणको तहमा पेसागत समाज वा व्यक्तिहरुको ठूलो भूमिका रहेको देखियो। विशुद्ध पेशागत समाजले सरकारको नीतिनिर्माणलाई विवादरहित ढंगबाट मध्यस्थता गरेर समायोजन गरिदिने काम गर्छ। किनकी पेसागत समाज भनेको त विज्ञानमा आधारित हुन्छ, अनुसन्धान र वस्तुगत कुराहरुमा आधारित हुन्छ।

हामीले त सबै पेसागत समाज, संघसंस्थाहरुलाई अनावश्यक राजनीतिकरण गरेर निकम्मा जस्तै बनाएका छौं। त्यसकारण नेपालमा पनि त्यस किसिमका अध्ययन अनुसन्धानका लागि राजनीतिकरण नगरिकन वातावरण बनाएर काम गर्ने हो भने त्यसले सरकारी नीतिनिर्माणमै ठोस उपलब्धिमुलक भूमिका खेल्न सक्ने देखिन्छ।

म राजनीति सुरु गर्नुभन्दा निक्कै अघिदेखि नै टोकियोमा काम गर्थें। त्यसबेला देखि नै म अन्तर्राष्ट्रिय ट्रान्सपोर्टेसनको प्राज्ञहरुको सञ्जालमा आवद्ध छु। मेरो त्यो रिसर्चरहरुको नेटवर्कमा पुरानो सम्बन्ध छ। मेरो पार्टीमा पनि म पोलिसी डिपार्टमेन्टको प्रमुख छु। त्यसले गर्दा यस किसिमको छलफलमा मेरो एक्स्पोजरले पार्टीलाई पनि प्रत्यक्षरुपमा फाइदा पुगेको छ।

हामी अहिले साझा पार्टीमा हरेक क्षेत्रको नीतिनिर्माणमा लागेका छौं। अहिले पनि कतिपय नीतिनिर्माणका कुराहरुमा हाम्रो स्पष्ट दृष्टिकोण छ, जुन अन्य ठूला राजनीतिक दलहरुभन्दा फरक छ। हामीले बेला-बेलामा ति कुराहरु सार्वजनिक पनि गर्ने गरेका छौं।

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान