‘आमार शोनार बंगला, आमि तोमाए भालोबशी...
चिरोदिन तोमार आकाश, तोमार बाताश,
आमार प्राने बजाए बाशी...’
अर्थात्, मेरो प्रिय बंगाल, मेरो सुन जस्तो बंगाल, म तिमीसँग प्रेम गर्दछु... सदैव तिम्रो आकाश, तिम्रो वायु, मेरो प्राणमा बाँसुरीझैं गुन्जिइरहन्छ...’
भारतखण्डबाट नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगरले सन् १९०५ मा ‘बंगभग’को समयमा यसलाई रचना गरेका थिए। त्यसबेला उनले सायदै यो सोचेका थिएनन् कि ६६ वर्षपछि बंगलादेश अस्तित्वमा आउनेछ र यही रचनालाई राष्ट्रगानको रुपमा ग्रहण गर्नेछ।
बंगलादेशसँग रवीन्द्रनाथको नाता केवल यही गीतमा मात्र सीमित छैन। उनका कविताहरु बंगलादेशका स्कुलको पाठ्यक्रमको हिस्सासमेत बनेका छन्। उनले लेखेका अधिकांश साहित्य यही क्षेत्रमा लेखिएको थियो। उनी जति भारतका हुन्, उति नै बंगलादेशका पनि।
रवीन्द्रनाथ संसारभरका यस्ता कवि हुन्, जसले लेखेको गीत दुई देशहरुको राष्ट्रगानको रुपमा सम्मानित भएको छ।
जमिनदार रवीन्द्रनाथ
बंगलादेशमा रवीन्द्रनाथको परिवार ठूलो जमिनदार थियो। टैगोर परिवारको पहिलो जमिन कालिग्राम परगनास्थित पोतिसरमा थियो। अर्को इब्राहिमपुर परगनेको सिलाइदाहामा थियो। जुन ठाउँ अहिले कुश्तिया जिल्लामा पर्छ। पहिले यो अविभाजित नदी जिल्लाको हिस्सा थियो। र, अर्को पाबना जिल्लाको शहजादपुर परगनामा टैगोर परिवारको जमिन थियो।
ढाकाबाट करिब २ सय ५० किलोमिटर दुरीमा रहेको पोतिसर गाउँ पहिले राजशाही जिल्लाको हिस्सा थियो। सन् १९८४ यो नौ गाउँमा गाभियो।
बंगलादेश अवामी लिगका नेता इसाराफिल आलम नौ गावका सांसद हुन्। ‘भारतीय स्वतन्त्रता आन्दोलनमा लागेका क्रान्तिकारी प्रफुल्ल चन्द्रको गृहजिल्ला बोगरा पनि पोतिसरभन्दा धेरै टाढा छैन,’ उनले भने।
रवीन्द्रनाथको यो गाउँमा सर्किट हाउस हुनु यो गाउँ चिनाउनका लागि महत्वपूर्ण भएको उनको बुझाइ छ। ’बदलिँदो समयसँगै गाउँमा पनि धेरै परिर्वतनहरु भित्रिए तर तर पोतिसरको पहिचान आज पनि कविगुरु रविन्द्रनाथ टैगोरसँगै जोडिन्छ।
बंगलादेशको पोतिसर गाउँ
सांसद इसाराफिल आलमका अनुसार सन् १८३० मा रवीन्द्रनाथका हजुरबा सर द्वारकनाथ टैगोरले अंग्रेजहरुसँग यहाँको जमिन किनेका थिए। नागौर नदीको किनारामा अवस्थित यो गाउँ राजधानी ढाकासहित देशको बाँकी जिल्लामा रेल–सडक मार्गसँग जोडिएको छ। पोतिसरदेखि १२ किलोमिटर दुरीमा अतरई रेल्वे स्टेसन रहेको छ।
ब्रिटिसले भारतमा शासन गरेको समयमा बनेको यो स्टेशनको आफ्नै ऐतिहासिक महत्व छ।
महात्मा गान्धी, प्रफुल्ल चन्द्र रोय, सुभासचन्द्र बोस र मोहम्मद अली जिन्ना लगायत कैयौं नेताहरुको आगमनको साक्षी यो रेल स्टेसन भएको थियो।
रवीन्द्रनाथ पहिलो पटक १८९१ मा पोतिसर आएका थिए। एक जमिनदार परिवारसँग सम्बन्धित भए पनि उनमा जग्गाजमिन प्रति त्यस्तो कुनै रुचि थिएन। उनी विशुद्ध प्रकृतिप्रेमी थिए। उनको मनमा मानिसप्रति करुणा मात्र थियो। सायद यही कारण रवीन्द्रनाथले आफ्नो समयमा प्रचलित रुढीवादी संस्कृति र प्रचलनमाथि व्यंग्य प्रहार गरिरहे।
जमीनदारी प्रथा चरम रुपमा रहेको उक्त समयमा कोही पनि आफ्ना रैती–किसान साहु महाजनसँगै बस्ने हिम्मत गर्दैन थिए। यस्तो परिस्थितिमा रवीन्द्रनाथले पोतिसरमा आफ्ना रैतीहरु (जनता) सँग आमुन्नेसामुन्ने भएर कुराकानी गर्ने गर्दथे। सँगै उठबस गर्थे।
पोतिसर र साहित्य
पतिसरमा प्रशस्त आँप, पलाँस र पिपलका बोटहरु थिए। रवीन्द्रनाथले तिनै रुखको छहराीमा बसेर कालजयी उपन्यासहरु लेखे। त्यही प्रकृतिको सानिध्यमा रही लघु कथा र कविताको समेत रचना गरे। यसका साथै उनले गाउँका गरिब किसानहरुले भोगेको अभाव र समस्याहरुबारे पनि कलम चलाए।
१९०९ सालमा प्रकाशित ‘गोरा’को रचना उनले पोतिसरमै गरेका थिए। यो उपमन्यास पछि निकै चर्चित बन्यो। त्यस्तै आफ्नो प्रख्यात काव्य संग्रह ‘चैताली’मा समावेश ५४ कविता, बिदाय ओभिशाप, लघु कहानी ‘प्रतिहिंसा’, ठाकुर दा, र निबन्धसंग्रह ‘अंग्रेज ओ भारतवासी’ यहीँ बसेर लेखेका थिए।
सन् १९१३ मा रवीन्द्रनाथ टैगोरलाई साहित्यतर्फ 'गीताञ्जली' काव्यका लागि प्रतिष्ठित नोबेल पुरस्कार प्रदान गरिएको थियो। ‘टैगोरलाई मिलेको यो पुरस्कार पोतिसरवासीका लागि पनि गर्वको विषय थियो,’ रवीन्द्रनाथ टैगोर संग्राहलयका इन्चार्ज मोहम्मद सोहेल इम्तियाज भन्छन्, ‘१९१४ मा गाउँका स्थानीयहरुको आग्रहमा रवीन्द्रनाथ पोतिसर आए। र, गाउँलेहरुलाई सम्बोधन गरे।’
टैगोर मनको कोमल र हृदयी रहेका थिए। उनले नोबेल पुरस्कारबापत त्यसबेला पाएको एक लाख आठ हजार रुपैयाँ किसानहरुको हितका लागि दान गरे। उक्त रकमले पोतिसरमा कृषि बैंक र सहकारी समिति स्थापना भयो।
‘भूमिहीन किसानका छोराछोरीको शिक्षाका लागि रवीन्द्रनाथले एक विद्यालयसमेत खोलेका थिए,’ संग्रहालयका इन्चार्ज इम्तियाज भन्छन्, 'उक्त विद्यालय अहिले पनि गुरु रविन्द्रनाथ टैगोरको नाममा चलिरहेको छ।’
मेरो सुन्दर बंगला
पोतिसरको भूमिसँग रवीन्द्रनाथ गहिरोसँग गाँसिएका थिए। यही कारण उनी मौका पाउनेबित्तिकै उक्त गाउँमा आउने गर्दथे। एक पत्रमा उनले लेखेका छन्– 'पोतिसर आउँदा मेरो आत्माले साक्षात्कार गरेझैं महसुस गर्छु।'
७६ वर्षको उमेरमा उनी अन्तिम पटक पोतिसर पुगेका थिए। १९३७ जुलाई २७ तारिखको त्यो दिन उनी बंगलाको चाड ‘पुण्य उत्सव’ चलिरहेको थियो। त्यसको चार वर्षपछि १९४१ अगस्ट ७ मा उनको निधन भयो। यो यात्रा नै उनको अन्तिम बन्न पुग्यो।
राजशाही युनिभर्सिटीमा प्रोफेसर मोहम्मद अमीरुल मोमिन चौधरीका अनुसार तत्कालीन पूर्वी पाकिस्तान बंगलाभाषीहरुमाथि जबरजस्ती उर्दू थोपर्न चाहन्थ्यो। बंग्ला भाषा र साहित्यको उनीहरूको आँखामा कुनै अर्थ थिएन।
'तर, ठूलो संघर्ष र बलिदानीपछि पाकिस्तानीहरु लामो समय टिक्न सकेनन्,' प्रोफेसर चौधरी भन्छन्, 'अन्तत: बंगलादेशको जन्म १९७१ मा भयो।'
पाकिस्तानसँग बंगलादेश अलग भएपछि झन् रवीन्द्रनाथप्रतिको सम्मान आम जनतामा बढ्यो। नयाँ देश बनेपछि उनले लेखेको गीत राष्ट्रिय गान बन्न पुग्यो।
रवीन्द्रको सम्झनामा संग्रहालय
पोतिसरमा तीन एकड जमिनमा संग्रहालय रहेको छ। जसलाई कचहरीबाडी वा कुटीबाडी पनि भन्ने गरिन्छ। यहाँ कुल १३ कोठा छन्। यो रवीद्रनाथको पुस्तैनी हवेली थियो। यो संग्रहालयमा उनको जीवनसँग सम्बन्धित महत्वपूर्ण सामग्रीहरु राखिएका छन्। जुन पलङ र कुर्सीका रवीन्द्र बस्थे त्यो संग्रहालयमा सुरक्षित छ। उनीसँग सम्बन्धित करिब तीन सय सामग्री यहाँ हेर्न सकिन्छ। यहाँ रवीन्द्रनाथको एक भव्य प्रतिमा पनि राखिएको छ। जसको डिजाइन राजशाही युनिभर्सिटीका फाइन आर्ट प्रोफेसर कनककुमार पाठकले गरेका हुन्।
(अभिषेक रंजन सिंहले तयार पारेको सामग्री बिबिसी हिन्दीबाट साभार गरिएको हो।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।