राजविराज– सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–४ बनौलीका ८ वर्षीय तबरेज आलम बिहीबार दिउँसो आफ्नै घरको छतबाट लडे। घरको प्रांगण घेरबारका लागि गाडिएको भाटा पेटमा छिर्यो।
अत्तालिएका परिवार र स्थानीयवासीले बेहोसी तबरेजको पेटवाट भाटो झिके। तर, सोही प्वालवाट बालकको आन्द्रा वाहिर निस्कियो।
बालक छोराको अवस्था देखेर आमा सबनम खातुन आफैं अर्धबेहोस भइन्। उनका पति इस्राईल मियाँ ६ वर्षदेखि मलेसियामा छन्।
स्थानीयवासीले तत्कालै बालकलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याए। चिकित्सकसहित ७ जना स्वास्थ्यकर्मीको टोली खटेर बालकको उपचार गरे।
४ घण्टाको अथक प्रयासपछि राती साढे ९ बजे बालकको सफल उपचार भयो। तबरेजको अवस्था अहिले सामान्य छ। ‘अस्पतालमा ल्याउँदा बालकको अवस्था चिन्ताजनक थियो,’अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दास भन्छन्,‘तर चिकित्सकको मेहनत र लगनशीलताले बालकको ज्यान जोगियो।’
सर्जन राजिव मिश्रा, एनेस्थेटिस्ट पारसमणि साह, एनेस्थेटिस्ट विपिन देव, इएनटी सर्जन महेश पोखरेललगायतको टोली शल्यक्रियामा सहभागी थियो। सो क्रममा ५ इन्च जति आन्द्रा पनि काट्नु परेको दासको भनाई छ। ‘भाटो छिरेर आन्द्रामा प्वाल परेको थियो,’ उनले भने,‘त्यसै छोड्दा इन्फेक्सन हुने भएकाले काटेर फाल्नु पर्यो।’
बालकको उपचारमा करिब १० हजार रुपैयाँ खर्च भएको अस्पताले जनाएको छ। ‘लाखौं खर्च हुन सक्थ्यो, त्यो पनि जोगियो,’मेसु दासले थपे,‘सहज, सरल र कम खर्चमा उपचार भएकाले परिवार पनि खुसी नै छन्।’सामान्य खर्चमै छोराको उपचार भएपछि आमा सबनम पनि खुसी छिन्।
एक वर्षअघिसम्म दरबन्दी अनुसारका चिकित्सक तथा औजार उपकरणको अभावमा रेफरल सेन्टर मात्र बनेको अञ्चल अस्पतालमा दुई महिनाअघि पनि यस्तै जटिल प्रकृतिको शल्यक्रिया सम्पन्न भएको थियो।
जेठ ३ गते राजविराज नगरपालिका-७ की २५ वर्षीया पिंकी राउत अस्पतालमा भर्ना भइन्। चौथो पटकको बच्चा जन्मन समस्या परेर उनको पाठेघर फुटेको थियो। ‘अवस्था एकदमै जटिल थियो। तर, बिरामीको अवस्था १० किलोमिटर टाढा पुग्न पनि नसक्ने अवस्था देखेपछि बाहिर पठाउन सकिएन,’दास भन्छन्, ‘जोखिम उठाएर भएपनि उनको शल्यक्रिया गरेर बच्चा निकालियो। त्यसमा पनि हामी सफल भयौं।’
त्यसअघिका तीन वटै बच्चा अप्रेसन गरेर निकलिएको र बिरामीको अवस्था पनि जटिल हुँदाहुँदै स्वास्थ्यकर्मीको लगनशीलताले ठूलो सफलता प्राप्त भएको उनको बुझाई छ।
गाइनोकोलोजिस्ट ब्रजेश कुमार झा, दिलिप कुमार साह, सर्जन सरोज कुमार यादव, एनेस्थेसिस्ट जयप्रकाश ठाकुर, स्टाफ नर्स अर्चना शर्मा लगायतको टोलीले पिंकीलाई नयाँ जीवन दिएको दास बताउँछन्। ‘अप्रेसनमा ७ पाउन्ड रगत खपत भयो। स्टाफ नर्स अर्चना शर्मालगायतका स्वास्थ्यकर्मीले नै रगत दिए,’उनले थपे,‘अहिले पनि आमा र बच्चा सकुशल छन्। टिमप्रति गर्व लाग्छ।’
एक वर्षको अवधिमा भएका यी दुई शल्यक्रियाले आफू खुसी भएको उनले बताए। ‘म आउँदा पिलो निस्केका बिरामी पनि रेफर गरेर अन्यत्रै पठाउनु पर्ने अवस्था थियो,’ उत्साहित हुँदै दासले भने,‘अहिले अस्पतालमा जनशक्ति र साधन/श्रोत थपिएका छन्। सेवा गर्ने स्वास्थ्यकर्मीको टिम लगनशील छ। अब हरेक दिन अस्पतालले नयाँ सफलता प्राप्त गर्नेमा कुनै द्विविधा छैन।’
यसरी सुधार हुँदैछ स्वास्थ्य सेवा
भारत सरकारको सहयोगमा स्थापना भएको अस्पतालमा २०२९ सालदेखि ५० शैय्याको स्वास्थ्य सेवा सुरु भएको थियो। हाल ८४ शैय्या छन्।
अस्पतालमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतको संख्या ३२ जना पुगेको मेसु दासले बताए। मेडिसिन, सर्जरी, गाइनो, पेडियाट्रिक, ओर्थो, डेन्टल, रेडियोग्राफी, एनेस्थेसिया, डायलायसिस, हाडजोर्नी, सर्जन, ईएनटी, एनआइसियू, २४ घन्टे नमूना प्याथोलोजी, अत्याधुनिक एक्सरे सेवा सञ्चालनमा छ।
सिटी स्क्यान र आइसियु सेवा चाँडै सञ्चालनको तयारी भइरहेको पनि दासले जानकारी दिए।
अहेव र स्थानीय कलेजमा अध्ययनरत सिकारु विद्यार्थीको भरमा सञ्चालन हुँदै आएको इमरजेन्सी सेवामा ०७५ भदौदेखि २४ घन्टे अन-ड्युटी चिकित्सक सहितको सेवा संचालन भइरहेको छ।
इमर्जेन्सीका कुल ५ चिकित्सकका लागि राजविराज नगरपालिकासहितका स्थानीयतहले सहयोग गरेका छन्। स्वास्थ्य विभाग तथा राजविराज नगरपालिकाकै सहयोगमा करिब आधा दर्जन मेडिकल अधिकृतको नियुक्ति गरिएको छ। अस्पतालमा दरबन्दी अनुसार अझै पनि छाला रोग विशेषज्ञ, साइकेट्रिक र प्याथोलोजिस्टको अभाव छ।
बिरामी थपिँदै
अस्पतालमा आएको सुधारले छोटो समयमा नै सेवाग्राहीको संख्या बढेको छ। अहिले दैनिक २ सयभन्दा बढी बिरामीले अस्पतालवाट सेवा लिन थालेका छन्। ‘पुरानो रेडर्क हेर्दा सेवाग्राहीको संख्यामा धेरै फरक देखिएको छ,’उनले भने, ‘तर, यत्तिमा सन्तुष्ट हुने अवस्था चाँहि छैन।’
अस्पतालमा आएको सुधार आँखाले देख्ने र अंकमा बताउने भन्दा पनि सेवाग्राहीको सन्तुष्टिमा देखिनुपर्ने अस्पतालका मेसु दासको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।