धनगढी- जग्गाको साँध/सिमाबारे सामान्य विवादमा छिमेकीबाट कुटिएकी कैलालीको लम्कीचुहा नगरपालिका, गप्काकी एक महिला ४० दिनदेखि बेहास् छिन्।
गत असार १७ गते लम्कीचुहा नगरपालिका-८, गप्काकी २५ वर्षीया रामजानकी चौधरीमाथि जग्गाको साँधसिमाना मिचेको आरोप लगाउँदै छिमेकीले निर्घात कुटपिट गरेका थिए।
उनीमाथि छिमेकी यमबहादुर चौधरी र उनकी आमा राजदेवी तथा दिदी लक्ष्मीले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
कुटपिटपछि बेहोस भएकी रामजानकीलाई उनका श्रीमानले घरमै राखेका थिए। उनका श्रीमानले आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि अस्पताल लैजान नसकेको बताए। रामजानकीका एक साढे तीन वर्षीय छोरा रहेका छन्।
४० दिनसम्म घरमै बेहोस अवस्थामा रहेकी रामजानकीलाई आइतबार छिमेकी मनमाया तामाङ र टंक देउवाको पहलमा उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याइएको छ।
आफूहरूको जग्गाको साँधसिमाना मिचेको भन्दै यमबहादुर, राजदेवी लक्ष्मीले कुटपिट गरेको रामजानकीका श्रीमान तीर्थ चौधरीले बताए। यमबहादुरको परिवार आर्थिक रुपमा धनी मानिन्छ भने तीर्थको परिवार साढे दुई कट्ठा ऐलानी जग्गामा बसोबास गरेको गरिब मानिन्छ।
पीडित तीर्थले न्यायका लागि आफू पटक–पटक लम्की इलाका प्रहरी कार्यालय धाए पनि कुनै सुनुवाई नभएको गुनासो गरे। इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक जनक सिंहले रामजानकीको बाहिरी घाउ नदेखिएकाले मुद्दा चलाउन नसकिएको बताएका छन्। उनले भने, ‘अदालती मुद्दा भएकाले दर्ता गर्न समस्या भएको छ। अदालती प्रक्रियाबारे बुझेर थप प्रक्रिया अघि बढाइनेछ।’
यमबहादुरको परिवार गाउँको हुने खाने परिवार भएकाले सबैलाई प्रभावमा पारेर रामजानकी प्रति अन्याय गरेको स्थानीयको भनाई छ। यमले रामजानकीलाई कुटपिट नगरेको तर धकेलेको मात्र बताए।
बाहिरी देखिने चोट नभएपनि शरीरको भित्री भागमा गम्भीर चोट लागेको हुन सक्ने आफन्तको भनाई छ। रामजानकीको न्यायका लागि धनगढीस्थित राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिइएको छ।
आयोगका प्रदेश निर्देशक झंकरबहादुर रावलले रामजानकी अवस्थाबारे आयोगमा निवदेन आएको र आफूले घटनाबारे बुझ्न जिल्ला प्रशासन कार्यालय कैलालीलाई पत्र लेखिसकेको बताए।
रामजानकीका श्रीमानलगायतका मानिस ज्यान मार्ने उद्योगको निवदेन दर्ताका लागि ढिलो गरी प्रहरी कार्यालय पुगेका छन्। रामजानकीको स्वास्थ्य अवस्थाबारे अस्पतालको रिपोर्ट र अन्य आवश्यक कुरा बुझेर कानुनी प्रक्रिया अघि बढाउने कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।