काठमाडौं- वैदेशिक रोजगारीका लागि श्रीमान् विदेश गएका महिलाहरु यौनहिंसाको उच्च जोखिममा रहेको राष्ट्रिय मावन अधिकार आयोगको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीले भोग्नुपरेका समाजिक समस्याका सम्बन्धमा आयोगले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन-२०७६ ले सो कुरा देखाएको हो।
श्रीमान वैदेशिक रोजगारीमा भएका कारण जोखिममा परेका महिलाको यकिन तथ्यांक नभएपनि वैदेशिक रोजगारीमा जाने विवाहित युवाको संख्यालाई आधार मानेर आयोगले अध्ययन प्रतिवेदन प्रस्तुत गरेको हो।
आयोगको अध्ययन टोलीले वैदेशिक रोजगार विज्ञहरुको सुझावमा ठूलो संख्यामा विवाहित पुरुष वैदेशिक रोजगारीका लागि जाने गरेका जिल्ला धनुषा र सिन्धिुपाल्चोक छनोट गरेको थियो।
अध्ययनका क्रममा यौनिक हिंसाका बारेमा सहभागीमा सोधपुछ गरेर जानकारी लिइएको थियो। सहभागीले यौनहिंसाका बारेमा सुरुमा बोल्न नचाहे पनि केही बेरको छलफल पछि उनीहरुले आफ्नो समस्या राखेका थिए।
महिलाहरुको कुरा सुन्दा उनीहरु बाहिरी पुरुषबाट भन्दा घरकै संरक्षक पुरुषहरु (ससुरा, जेठाजु, देवर)लगायतबाट यौनहिंसाको जोखिममा रहेको पाइएको छ।
तर यस्ता समस्याका विषयमा थोरै घटनाहरुमात्रै बाहिरिने आयोगले औँल्याएको छ।
श्रीमानकै सहमतिमा परपुरुषसँग यौन सम्बन्ध
ओरेक धनुषाकी सुरक्षा आवास इन्चार्जका अनुसार श्रीमान वैदेशिक रोजगारीमा जाने बेलामा उसले नै कोसँग शारीरिक सम्बन्ध बनाउने भन्ने तय गरिदिने अनौठो तथ्य आयोगका अनुसन्धानकर्तालाई बताएका थिए।
वैदेशिक रोजगारीमा रहने श्रीमानले पनि आफू घरमा नआउँदासम्म उसले तोकेको व्यक्तिसँग सम्बन्धमा रहने र ऊ नेपाल आइसकेपछि पुनः उही श्रीमानको मात्र भएर बस्नु पर्ने सर्तमा स्वीकृति प्रदान गर्ने गरेको पाइएको सोही प्रतिवेदनमा उल्लेख छ।
यसरी श्रीमान् नहुँदाका लागि राखिने शारीरिक सम्बन्ध घरपरिवार भित्रैको पारिवारिक सदस्य हुने गरेको पाइएको प्रतिवेदनमा भनिएको छ।
श्रीमान् वैदेशिक रोजगारीमा हुने केही महिलालाई पनि यस विषयमा सहमति जनाउन बाध्य पारिने र यस विषयमा आवाज उठाउनेलाई विभिन्न लान्छना लगाउने गरेको पाइएको छ।
परिवारभित्रै हुने यौनहिंसा धनुषामा उच्च
अधिवक्ता रेखा झाका अनुसार धनुषामा परिवारभित्रै हुने यौनहिंसाको उच्च जोखिम रहेको छ। उनका अनुसार जब एक युवती विवाह गरेर जान्छिन्, त्यसै पनि उनी जेठाजु, देवर, तथा ससुराको नजरमा परिसकेकी हुन्छिन्।
राष्ट्रिय मानव अधिकार आयोगका अनुसन्धानकर्तासँगको कुराकानीमा अधिवक्ता झाले यौनहिंसामा रहेका महिलाहरु पनि यस्ता यौनहिंसामा परेका महिला अदालतसम्म नआउने गरेको बताएकी छन्।
सिन्धुपाल्चोक जिल्लामा पनि धनुषा जिल्लाको जस्तै समस्या छन्। यौन हिंसामा परेका महिलाहरु उजुरी लिएर अदालतसम्म पुग्दैनन्।
सिन्धुपाल्चोकका सरकारी वकिल कार्यलयका अधिवक्ता सन्तोषराज कटुवाल भन्छन्, ‘यौन हिंसाको मारमा परेका महिला सकेसम्म अदालत आउँदैनन्, यदाकदा आएपनि विभिन्न बहानामा पीडकको पक्षमा न्याय हुने प्रवृतिले पीडितहरु झन् हिंसा सहेर बस्न बाध्य छन्।’
पारिवारिक यौन हिंसाको कतिपय मुद्दामा पिडित सजाय पाउने गरी फैसला भएता पनि जरिवाना निकै थोरै हुने उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।