दार्चुला- दार्चुला र बझाङ जिल्लाको सिमानामा स्थित प्रसिद्ध सुर्मा भवानीको जात्रा आइतबारबाट शुरु भएको छ। यो जात्रालाई सुर्मासरोव जात्रा तथा क्षत्ति जात्रा पनि भनिन्छ। यो दार्चुलाको सबैभन्दा ठूलो जात्रा मानिन्छ।
अपिहिमाल गाउँपालिका ३, घाजिर क्षत्ति हुँदै बझाङ जिल्लाको सुर्मा सरोवरसम्म गएर मनाइने सुर्मा भवानीको जात्रा साउन शुक्ल एकादशीदेखि सातदिन सम्म चल्ने गरेको छ। सुर्माभवानी मन्दिरका पुजारी मोहनसिंह मन्यालका अनुसार सुर्मा जात्रा मनाउने चलन एघारौं शताब्दीदेखि शुरु भएको हो।
स्थानीयका अनुसार क्षत्तीगर्खा तथा घाजिर गर्खा समूदायका मानिसले साउन औसींदेखि एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्ने गर्दछन्। त्यस्तै, सुर्मासरोवर तीर्थ जाने अन्यले पनि ब्रत बस्ने गर्दछन्। सुर्माभवानी जात्रा अवधिभर तामसी भोजन वर्जित हुने स्थानीयले बताए।
स्थानीय संस्कृतिका जानकार केशवसिंह बोहराका अनुसार सुर्माभवानीको पूजा उपासना गर्न ब्रत बस्ने भक्तहरूलाई वीरे भनिन्छ। पहिलो चोटी ब्रत बसेकाहरूलाई बालोवीरे र एक पटक ब्रत गरिसकेकालाई बुढोवीरे भन्ने चलन छ। त्यस्तै, जात्रामा सहभागी भक्तजनहरूलाई उवादेशी, उनादेशी, जत्तोर र वाइदेशी वा तिर्थालु भनेर चार समुहमा विभाजन गरिएको हुन्छ।
जात्रा अवधिभर क्षत्तिले परम्परागत मौलिक पहिरन, नृत्य, देउडा, बाजागाजा प्रस्तुत गर्दछन्। सुर्मासरोवरमा मार्कण्डेय गुफा, धर्मिगुफा, सुर्मा मन्दिर, ताल घोप्टे, नाग ढुंगा, हिउ नजम्ने ढुंगा आपदस्थल रहेका छन्।
जात्राको पहिलो दिन राति सुर्माभवानीको मन्दिरमा देवीदेवताहरूको पूजाआजा गरि धामी काम्ने, देउधमेउलो गर्ने, भाडिखेल लगाउने र सुर्माभवानीको चैत गाउने चलन छ। त्यस्तै, भाडिखेल ढुस्को, जगरम गाउने, खेल्ने गरिन्छ भने बिहान भोल्लाउलो गाउने गरिन्छ।
बालोवीरे र बुढोवीरे सबैले सुर्मासरोवर जांदा वीरेलौरो बोक्नुपर्दछ। जात्रालाई व्यवस्थित गर्न मूला अथवा जात्राको मूलीको व्यवस्था गरिएको हुन्छ। उनले बोक्ने लौरो सबैभन्दा ठूलो साढे सात फिटको हुन्छ। यो लौरालाई लाकुरी लौरो अथवा वीरेलौरो भनिन्छ।
जात्राका लागि अपिहिमाल गाउंपालिका वडा नम्बर २ र ३ का विद्यालयहरू भदौ एक गतेसम्मका लागि बन्द गरिएको खण्डेश्वरी मावि क्षेत्तीका शिक्षक मदनराज जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।