बेलबारी- मोरङको बेलबारी नगरपालिका-१ का व्यवसायी घनश्याम श्रेष्ठले पटक-पटक गरी स्थानीयबाट १५ करोड रुपैयाँ लिएर फरार भएका छन्। बेलबारीमै ओम कृष्ण सुनचादी पसल सञ्चालन गर्दै आएका उनी १५ दिनदेखि बेपत्ता छन्। श्रेष्ठसँगै उनकी श्रीमती तारादेवी पनि फरार छिन्।
व्यवसायी श्रेष्ठले २ सय जनाभन्दा बढीको साथबाट करिब १५ करोड रुपैयाँ रकम लिएर फरार भएका हुन्। जग्गाको कारोबारमा समेत सामेल भएका उनले जग्गा पास गरिदिने देखि उद्योगधन्दा खोल्ने बहानामा पैसा उठाएको पिडितहरुको गुनासो छ।
श्रेष्ठकै छिमेकी कृष्णा भण्डारीले घडेरी किन्नका लागि ८ लाख २० हजार रुपैयाँ दिएको १ महिना बितिसक्दा समेत उनले जग्गा पाइनन्। जग्गा नदिने भए पैसा फिर्ता दिनु भनेपछी श्रेष्ठले भण्डारीलाई बैंकको चेक थमाइदिए। तर, बारम्बार बैंक जाँदासमेत चेकबाट पैसा निस्किएन। श्रेष्ठले छोरा आयुत श्रेष्ठको नाममा रहेको एनमबी बैंकको चेक दिएको भण्डारीले बताइन्।
अर्का पीडित चन्द्रबहादुर गुरुङको पनि कथा उस्तै छ। साझेदारीमा इनामेलको फयाक्ट्री खोेल्ने भन्दै बाँझो जग्गा देखाएर श्रेष्ठले ८ लाख रुपैयाँ लिएको गुरुङ बताउँछन्। सेयर पनि र डिलर पनि दिने भनेपछि विश्वास गरेर उक्त रकम दिएको उनको भनाइ छ। तर, रकम दिएको एक वर्ष बितिसक्दा समेत उद्योग खोल्ने सुरसार नभएपछि उनले पैसा फिर्ता मागेका रहेछन्। बारम्बार श्रेष्ठको पसल धाउन थालेपछि श्रेष्ठले चेक थमाइदिए। तर, चेकबाट पैसा निस्किएन। अन्ततः चेक बाउन्स भयो।
यस्तैगरी दर्जनौंसँग ५० हजार देखि ४० लाख रुपैयाँसम्म नगद लिएका श्रेष्ठ अहिले सम्पर्कबिहीन छन्। श्रेष्ठले ठगेको भन्दै पीडितहरु बारम्बार जिल्ला प्रशासन कार्यालय धाइरहेका छन्। केही दिन अगाडि मात्रै पीडितहरु स्थानीय जनप्रतिनिधिलाई भेट्न गएका थसए। यो प्रशासनले हेर्ने मुद्धा भएकोले आफूहरुले केही गर्न नसक्ने भन्दै उपमेयरले फर्काइदिएको पीडीत गुरुङले बताए।
त्यस्तै, सुन्दरहरैचाकी तुलसा प्रसाईंले ३५ लाख र बेलबारीकै सरस्वती दाहालले ४१ लाख १६ हजार रुपैयाँ श्रष्ठलाई दिएको बताए।
बैंकमा राख्दा कम ब्याज आउने भएपछि ब्याजको लोभमा श्रेष्ठलाई ११ लाख ७० हजार रुपैयाँ दिएका उर्लाबारीका आशिस भुजेल अहिले समस्यामा परेका छन्। अहिले पडितहरुले संघर्ष समितिनै गठन गरेर ठगिएको रकम उठाउन लागी परेका छन्। पीडितमध्येका एक मातृका प्रसाद पराजुलीको अध्यक्षता समिति बनाइएको छ।
समितिमा अहिलेसम्म १ सय ८३ जनाको ९ करोड ८० लाख रुपैयाँभन्दा बढी रकम फसेको भनेर जानकारी प्राप्त भएको अध्यक्ष पराजुलीको भनाइ छ।
‘घनश्याम तारादेवी आयुत पीडित सघर्ष समिति’का अध्यक्ष पराजुलीले हरेक दिन पीडितको संख्या बढिरहेको बताए। फोन गरेर नाम टिपाउनेहरुको संख्या बढिरहेको उनको भनाइ छ। यसरी सबै हिसाब गर्दा करिब १५ करोड रुपैयाँ ठगी भएको हुनसक्ने उनले दाबी गरे। पराजुली आफूले चिनजानकै भरमा २० लाख रुपैयाँ श्रेष्ठलाई दिएको बताउँछन्।
केही समययता श्रेष्ठ सम्पर्कबिहीन भएपछि सर्वसाधारणहरुले आफूहरु ठगीमा परेको थाहा पाएका थिए। यही साउन २३ गते पीडितहरुको संघर्ष समिति जिल्ला प्रशासन कार्यालय, मोरङमा निवेदन दिन गएको थियो। तर, अदालती मुद्दा भन्दै प्रशासनले उनीहरुलाई निवेदननै दर्ता नगरी फिर्ता पठाएको थियो।
श्रेष्ठलाई सम्पर्कमा ल्याई आफ्नो फसेको रकम फिर्ता गर्न माग गर्दै केही व्यवसायीहरुले उद्योग वाणिज्य संघ, बेलबारीमा केही महिनाअघि निवेदनसमेत दिएका थिए। त्यसपछि श्रेष्ठलाई सम्पर्क गरी छलफलमा बोलाइएको थियो। तर, पटक-पटक आउँछु भन्दै श्रेष्ठ छलफलमा नआएको पिडीतको भनाइ छ। ठगिएका केही व्यक्तिलाई सामाजिक सञ्जालबाट कुरा गर्दै श्रेष्ठले पत्रकार तथा प्रहरीमा खबर नगर्न समेत चेतावनी दिने गरेको पिडितको दाबी छ।
घटनाका विषयमा उजुरी गर्न जाँदा प्रहरीले समेत वास्ता नगरेको पीडितको गुनासो छ। इलाका प्रहरी कार्यालय बेलबारीले उजुरी दर्ता गर्न अस्वीकार गरेको छ।
इलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक गुणराज बुढाथोकीले यो लेनदेनको विषय भएकोले आफुहरुले मुद्धा दर्ता नगरेको स्पष्ट पारे। यो अदालती केस भएकोले अदालत जान आफूहरुले सुझाव दिएको उनको भनाइ छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिउँजुले पीडितले जाहेरी दिए ठगी मुद्दामा अनुसन्धान गर्न सजिलो हुने बताए। ‘लेनदेनको घटना प्रहरीले हेर्दैन,’ उनले भने, ‘ठगी गरेको हो भने प्रहरीले अनुसन्धानको दायरामा ल्याउनेछ।’
पीडित संघका अध्यक्ष पराजुलीले आफूहरु वकीलहरुसँगको परामर्शमा लागेको हुनाले छिट्टै अदालत जाने तयारीमा रहेको बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।