काठमाडौं- न्यायिक विचलनमा न्याय परिषद्बाट बर्खास्त भएका तत्कालिन ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय त्यसलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका छन्। आत्रेयले आइतबार सर्वाेच्चमा परिषद्को निर्णय खारेजी हुनुपर्ने माग गर्दै रिट दायर गरेका हुन्।
परिषद्ले आफूलाई गरेको कारबाही गैरकानुनी भएको दाबी उनले गरेका छन्। परिषद्ले जिल्ला अदालतमा रहँदा आफूले गरेको कार्यसम्पादनको गलत मूल्यांकन गर्दै पूर्वाग्रहीरुपमा कारबाही गरेको दाबी आत्रेयले रिटमा गरेका छन्।
उनले अन्तरिम आदेश जारी गरी पुनः काममा फर्काउनसमेत रिटमा माग गरेका छन्। उनको रिट सोमबार पेसीमा रहेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलाशमा पेसी रहेको मुद्दामा परिषद्को निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी भएमा उनी पुनः जिल्ला न्यायाधीशको रुपमा फर्कने छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको परिषद् बैठकले आत्रेय र अर्का जिल्ला न्यायाधीश ओमकार उपाध्यायलाई कारबाही गर्ने निर्णय २०७६ जेठ १५ गते गरेको थियो।
न्याय परिषद्ले तत्कालिन जिल्ला न्यायाधीश उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको थियो भने आत्रेयलाई भने बर्खास्तमात्र गरेको थियो। न्याय परिषद् बैठकले उपाध्यायले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको निष्कर्षसहित मुद्दा दायर गर्ने निर्णय गरेको थियो।
जिल्ला न्यायाधीश आत्रेयले विलट साह रौनियारविरुद्ध मञ्जुदेवी गुप्ता भएको लेनदेन मुद्दामा न्यायिक विचलन हुने गरी निर्णय गरेको पाइएको भन्दै परिषद्को छानबिन समितिले कारबाहीको सिफारिस गरेको थियो। छानबिन समितिको सोही निर्णयको आधारमा उनी बर्खास्तगीमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।