सम्झनामा खेलाडी जीवन : वाह! क्या दिन थिए ती

ऋग्वेद शर्मा | २०७६ श्रावण २८ मंगलबार | Tuesday, August 13, 2019 ११:२४:०० मा प्रकाशित

काठमाडौं- एउटा पुरानो रङ्गिन तस्बिर, जसमा अंग्रेजी अक्षरमा ‘नेपाल’ लेखिएको रातो जर्सीमा लहरै छन् खेलाडीहरु। त्यसैमा एक खेलाडी छन्- चिम्सा आँखा, सलक्क परेको कपाल, कपालले नै छोपिएको निधार र अगाडि हात बाँधेर उभिएको भर्खरको केटो, वसन्त कुमार लामा।

नेपालबाट छानिएर पाकिस्तानमा फुटबल खेल्न जाँदाको यस तस्बिरले अहिले पनि वसन्त रोमाञ्चित हुन्छन्। उतिबेलाको समय सम्झन्छन्। फुटबलका दिनहरुमा हराउँछन् र भन्छन्- क्या दिन थिए ती!

कोटेश्वरमा रहेको लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत एसएसपी वसन्त प्रहरीको जागिरमा आउनुको मुख्य कारण हो फुटबल। ०४८ सालपछि प्रहरी जागिरमा छिरेका उनी त्यसअघिको समय फुटबलमा नै थिए। त्यसैमध्येको एक झलक हो- पाकिस्तानी मैदानमा खिचिएको यो तस्बिर।

तस्बिरमा रहेका १३ जनाको नाम र उनीहरुको क्लब अहिलेसम्म वसन्तलाई याद छ। दुई जनाको नामबारे भने हो या होइनको दोधारमा छन् उनी। जे होस् आगुऔषध ब्युरोको व्यस्तताबीच कहिलेकाहीँ नियाल्ने यही तस्बिरले उनमा अझ उर्जा भरिन्छ। काममा दृढ भएर लाग्न जिम्मेवार बनाउँछ।

प्रहरीमा आएपछि भने उनले पाँच वर्षजस्तो मात्रै फुटबल खेल्न पाए। फुटबल नै खेल्न भनेर आएका उनलाई कतिपय समय चोटले साथ दिएन त कतिपय समय जागिरे जिम्मेवारीले।

वसन्त नेपाली फुटबलको बीचको पुस्ता हुन्। अघिल्लो पुस्ताको फुटबल मेहनत बुझेका उनले पछिल्लो पुस्ताको खेल पनि नियालिरहेका छन्। आफ्नो सयममा अन्तर्राष्ट्रिय फुटबलको अनुभव धेरै नभए पनि घरेलु फुटबलका हरेक प्रतियोगिताहरुमा खेल्न पुगेका छन् उनी। त्रिभुवन गोल्डकपदेखि करुवा गोल्डकपसम्मको अनुभवले नेपाली फुटबलमा उनलाई भिजाएको छ।

पाकिस्तानमा खेल्न जाँदाको नेपाली टिम। दायाँबाट उभिएको तेस्रोमा वसन्त।

भनिन्छ, भारत कोलकातामा घुम्न र पढ्न गएका राणाहरुले त्यहाँ सिकेको फुटबल नेपालमा आएर सुरु गरेका थिए। त्यसमा पनि विशेष त राणा प्रधानमन्त्री जुद्ध शमशेरका नाति नर शमशेरले नेपाली फुटबल विकासमा काम गरेको लेखोटहरु नै पनि भेटिन्छ। त्यसैले १९७० को दशकमा भारत कोलकाताबाट नेपाल भित्रिएको फुटबल २०३५ सालसम्म आइपुग्दा एउटा ढाँचामा स्थापित भइसकेको थियो।

१९९५ सालमा नर शमशेरकै सक्रियतामा भएको नेपालको पहिलो लिग फुटबल झगडाका कारणले पूरा हुन नपाए पनि नेपाल फुटबल संघको गठनपछि २००८ बाट व्यवस्थित लिग हुन थाल्यो। २०११ पछि त शहिद स्मारक लिगकै नाममा नेपाली फुटबल विकासको महत्वपूर्ण पाटो सुरु भएको थियो। यसैले वसन्तले व्यवस्थित क्लब फुटबलको अनुभव राम्रैसँग गर्न पाए। काठमाडौंले मात्रै होइन वसन्तको सहर विरगञ्जले पनि क्रिकेटसँगै फुटबललाई अघि बढाइरहेको थियो।

सधैं अगाडि फुटबल
वीरगन्जमा नै हुर्किएका वसन्त स्कुले जीवनमा खेलसँगै पढाइमा पनि अब्बल थिए। टोले कपदेखि जिल्लासम्म फुटबल खेल्न पुगे पनि पढाइ बिग्रिन नदिएको उनी सुनाउँछन्। तर, उनको फुटबल मोहले पढाइलाई यसरी जित्यो कि एक समयमा गएर त्यसले बाटो नै मोडिदियो।

‘इन्जिनियर बन्ने सोचले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आइएससी भर्ना भएको थिएँ, पढाइ राम्रो भए पनि फुटबल खेल्न भने छाडिएन। क्याम्पसमा नै पनि विभिन्न खाले फुटबल प्रतिस्पर्धा भइरहेको हुन्थ्यो। त्यसमा जित्थ्यौँ पनि। त्यसैले मेरो विशेष ध्यान खेलमा नै अडिइरह्यो‍,’ वसन्तले सुनाए।

खेल्ने समय बढिरहेको भए पनि वसन्तले इन्जिनियर बन्ने सपना भने छाडेका थिएनन्। बुबा प्रहरी जागिरे भएकाले घरको सोच भने छोरो प्रहरी बने पनि हुन्छ भन्नेमा थियो।

‘बुबा प्रहरी नै भएकाले म प्रहरीमा नै आउन लेखेको रहेछ क्यार! होइन भने त मलाई प्रहरीको जागिर मन नै पर्दैनथ्यो। बुबाले गरेको दुःख र त्योअनुसार जस नपाएको म साक्षी थिएँ,’ वसन्त भन्छन्, ‘सानैदेखि फुटबल मन पर्ने भएकाले बरु खेल क्षेत्रमा नै केही गर्छु भन्ने थियो। महेन्द्र पुलिस क्लबको टिमका लागि पनि निकै बोलाएका थिए, तर पनि प्रहरी भनेकाले मलाई जान मन थिएन।’

२०४१ सालमा विरगन्ज युवा क्लब घण्टाघर र नारायणी स्पोर्टस् क्लबबीचको खेलअघि तस्बिर खिचाउँदै। बायाँतर्फ पहिलो लाइनको अगाडि वसन्त।

आइएससीको परीक्षा आउँदा पनि वसन्तको समय फुटबलमा नै बितिरहेको थियो। त्यसैले उनैका साथी काठमाडौंबाट परीक्षा दिँदा नेपाल प्रथम भएका थिए भने वीरगन्जबाट परीक्षा दिएका वसन्तले ५९ प्रतिशत अंक मात्रै ल्याउन सके। हुन त वसन्तका लागि मैदानमा गोलका अंकबाहेक अरु अंकको महत्व कम भइरहेको थियो। यसैकारण परीक्षाको कम अंकले उनको इन्जिनियर बन्ने सोच पनि पछाडि सर्‍यो।

‘एक प्रतिशत मात्रै बढी भएको भए पनि म कतै अरु सेवामा नै जाने थिएँ होला। तर, इच्छा गरेअनुसार नहुने रहेछ,’ पुराना दिन सम्झँदै वसन्तले भने।

मन इन्जिनियरमै भएकाले त्यसका लागि भारततिर पढ्न जाने कि भनेर पनि उनले नसोचेका होइनन्। प्रतिशत राम्रो नभएकाले उनमा त्यो जाँगर भने चलेन। त्यसैले पुल्चोक क्याम्पसमा नै केही होला भनेर उनी काठमाडौं हानिए।

पुल्चोकमा पनि उनको पढाइलाई फुटबलले नै जित्यो। पढाइ यताउति भयो। ‘त्यही समय राष्ट्रिय टिम बनाउने भनेर हेटौंडामा झण्डै दुई सय खेलाडीको छनोट क्याम्प थियो। टिम छानेर पाकिस्तानमा खेल्न पठाउने तयारी भएकाले फुटबल नै खेल्नुपर्‍यो भनेर म हेटौंडा पुगेको थिएँ,’ वसन्त सम्झिन्छन्, ‘त्यहाँ छनोट भइरहँदा यता पुल्चोकमा मेरो परीक्षा थियो। परीक्षा त अर्को वर्ष पनि आइहाल्छ नि भनेर फुटबलमा नै ध्यान दिएँ, नभन्दै टिममा त छनोट भइयो। तर, यता इन्जिनियरिङ भने छुटेको-छुट्यै भयो। भाग्यमा नै छैन रहेछ क्यारे इन्जिनियर बन्ने, यही सोचेर त्यसपछि वीरगन्जमा नै गणित र अर्थशास्त्र लिएर मानविकी पढ्न थालेँ।’

भोटेबहालको त्यो बसाइ
वसन्तको क्लब फुटबलमा राम्रो उपस्थिति भइरहेको थियो। फुटबलकै लागि उनी झापा, पाल्पादेखि काठमाडौंसम्म आउजाउ गरिरहेका हुन्थे। काठमाडौंमा खेल्न आउँदा उनी बस्ने एक विशेष ठाउँ थियो- भोटेबहालको थकाली होटल।

वसन्त मात्रै होइन वीरगन्जतिरबाट आउने प्रायः त्यहीँ नै बस्थे। थ्री स्टार क्लबबाट फुटबल खेल्न आउँदा त्यहीं थकाली होटलमा बसेका अनेक सम्झना वसन्तसँग छन्। त्यसबाहेक संकटा, ब्वाइज स्पोर्टस् क्लब, आरएनएसीको टिम, जनकपुर चुरोट कारखानाको टिमबाट काठमाडौं आउँदा पनि उनले भोटेबहालको थकाली होटल छाडेनन्।

एकपटक काठमाडौंमा खेल्न आउँदा भोटेबहालको थकाली होटलमा उनका एक साथी एकोहोरो किताब हेरिरहेका रहेछन्। वसन्तले सोधिहाले, ‘के हेरेको हो त्यसरी एकोहोरो भएर?’

साथीले दिएको जवाफ वसन्तको अपेक्षाअनुसार थिएन। तर, त्यही जवाफले उनमा कहिल्यै इच्छा नलागेको प्रहरीको जागिर कसरी सवार भयो, उनी आफैं भन्न सक्दैनन्। साथी प्रहरी निरीक्षकको जागिरका लागि जाँच दिने तयारीमा रहेछन्। ‘त्यस्तो सुनेपछि कहाँ-कहाँबाट मलाई पनि प्रहरी इन्स्पेक्टरमा जानुपर्छ भन्ने लाग्न थाल्यो। प्रहरीमा नै गएर त्यहाँको टिमबाट पनि फुटबल खेल्न त पाइहालिन्छ भन्ने सोचेर पनि होला। त्यसैले मैले पनि जाँच दिने नै विचार गरेँ,’ वसन्तले सुनाए।

वसन्तको सोच थियो- इन्स्पेक्टरमा गएर फुटबल खेल्न पाइयो भने ६ वर्षजस्तो खेलेपछि डिएसपी भइएला, त्यसपछि पद भएपछि जागिरमा अप्ठ्यारो हुँदैन।

त्यही सोचले वसन्तले वीरगन्ज गएर सबै कागजपत्र ल्याएर फर्म पनि भरे। ‘प्रहरीमा जाँदै जान्न’ भन्ने मान्छे त फर्म भर्दै पो हिँडेको छ त! धेरैले अचम्म पनि माने। तर, वसन्तले प्रहरीमा जान्छु भनेपछि घरबाट अनुमति नमिल्ने भन्ने त कुरै थिएन। उनका बुबा २०४४ सालमा अवकाश लिएर घरैमा थिए। बुबाको इच्छा पनि छोराले प्रहरीमा जागिर खाइदेओस् भन्ने नै थियो। सबै मिलेपछि वसन्त ०४८ सालमा जाँच दिएर ०४९ सालमा प्रहरीमा प्रवेश नै भए।

प्रहरीमा आएर तालिमपछि पनि वसन्तले निरन्तर फुटबल खेलिरहेका थिए। तर, खेल्ने पनि र व्यवस्थापनतिर पनि हेर्ने गर्दा उनलाई सहज भएन। त्यसले लामो समय खेललाई निरन्तरता दिन सकेनन्। प्रहरीमा आएपछि पाँच वर्ष जस्तो मात्र फुटबल खेल्न सके।

सम्झनामा केही क्षण
वसन्त क्याम्पस पढ्ने समयमा नृत्यमा पनि रुची राख्थे। नेपालीदेखि भोजपुरी गीतसम्ममा नाचेका उनका तस्बिर अहिले पनि छन्। खेल्ने बेलाका तस्बिरसँगै नाचेका दिनका ती पुराना तस्बिरहरु वसन्तले एउटै एल्बममा सजाएर राखेका छन्।

‘म खुब नाँच्थे नि!,’ वसन्त मुसुक्क हाँस्दै सुनाउँछन् र एल्बमका आफ्ना तस्बिरहरु देखाउन थालिहाल्छन्। भन्छन्, ‘के-के मात्र गरिएन।’

वसन्तका फुटबल जीवनका सम्झनाहरु, केही रमाइला अनुभवहरु, केही दुःखका क्षणहरु, दर्जनौँ बसाइमा पनि सुनिसकिँदैन। प्रहरीको जागिरे जिम्मेवारीमा रहँदा पनि आइरहेको फुटबलको सम्झनाले उनमा रहेको फुटबल मोह अहिलेसम्म पनि कायम छ भन्ने स्पष्ट हुन्छ। त्यो समयका केही क्षणहरु भने वसन्त अलि बढी नै सम्झिन्छन्।

एकपटक वीरगन्जमा राष्ट्रिय टिमको क्लोज क्याम्प बसिरहेको थियो। त्यही समय तयारी खेलकै रुपमा जनकपुर चुरोट कारखानाको टिमसँग मैत्रीपूर्ण खेल खेल्ने तय भयो। वसन्त जनकुपर चुरोट कारखानाबाट खेले। ‘त्यो बेला मैले गोल गर्नै लाग्दा राष्ट्रिय टिमका गोलकिपर रहेका लोकबहादुर शाही मेरो शरीरमाथि नै लडे। गोल त भयो तर मेरो खुट्टा पनि भाँचियो। त्यसले असाध्यै दुःख भयो,’ उनले सम्झिए।

खुट्टा भाँचिए पछिको धेरै समय वसन्त त्यत्तिकै बस्नुपर्ने भयो। केही समयमा खुट्टा अलिकति ठीक भएपछि उनी फेरि फुटबल खेल्न हिँडिहाले। थ्री स्टारबाट भैरहवामा तिलोत्तमा गोल्डकपमा खेल्न गए। खुट्टा राम्ररी निको नभएकाले टिममा भए पनि उनले खेल्न भने पाएनन्। तर, कसरी खेलौँ भनेर छटपटी भइरहेको थियो। फुटबलको नशा यति थियो कि उनले सुइ लगाएर, ब्यान्डेज बाँधेर भए पनि एक खेल खेलिछाडे।

‘हाम्रो टिम त्यो बेला भारतको टिमसँग टाइब्रेकरमा पराजित भएको थियो। टाइब्रेकरमा पुग्दा मेरो खुट्टाले भर नदिने भएकाले मेरो नाम सातौँ नम्बरमा मात्रै थियो। तर, दुर्भाग्य भन्ने कि के पाँच/पाँच पेनाल्टी बराबरी भयो। छैटौं पनि बराबरी भएपछि मैले पनि हान्नै पर्ने भो। तर, मैले हानेको पेनाल्टी किपरसम्म बिस्तारै पुग्यो, गोल भएन र हामी हार्‍यौँ,’ वसन्तले हारेको खेल पनि उत्साहित हुँदै सुनाए। यो नै उनको खेलप्रतिको ठूलो लगावको प्रमाण हो।

फुटबलमा वसन्त मिडफिल्डमा खेल्थे। थ्री स्टारबाट खेल्दादेखि नै उनको फुटबल राम्रो भएको हो। टिम मिलेको थियो। ‘त्यो बेला जावलाखेलका रबिन श्रेष्ठ स्ट्राइकरमा राम्रो थिए। आउट लाइन नजिकैबाट बल कुदाउने उसको तरिका गज्जब नै हो। पवन रानामगर, पवन श्रेष्ठ, धर्मेन्द्र श्रेष्ठ, मृगेन्द्र मिश्रहरु सबै आफ्नो पोजिसनमा अब्बल थिए,’ वसन्तले सम्झिए।

वसन्तलाई त्यो बेला मोहम्मादन स्पोर्टिङ क्लबसँगको एक खेल पनि असाध्यै याद आउँछ। ‘मिति त ठ्याक्कै याद भएन तर हामीले त्यो बेला पहिलो हाफसँग १-० ले लिड गरिरहेका थियौँ। उनीहरु राम्रो भएकाले हामी डिफेन्सिभ खेल्नुपर्छ भन्ने सोचमा थियौँ। हामीले एक गोल सुरुवातमै गर्न सक्यौं। तर, दोस्रो हाफमा त उनीहरुले लगातार पेले। हाम्रो टिममा प्रेसरकै कारण तालमेल बिग्रियो र ५ गोल दोस्रो हाफमा खाइयो। खेलमा कहिलेकाहिँ त्यस्तो हुने रहेछ।’

वसन्तलाई क्लबहरुमा फुटबल खेलेर त्यो समय पारिश्रमिक लिएको याद छैन। टाढा खेल्न जानुपर्दा बस भाडा दिने र खानेबस्ने सुविधा दिएको सम्झन्छन्। कुनै-कुनै क्लबले कहिलेकाहिँ पकेट खर्च भनेर केही पैसा दिएको उनलाई याद छ। अरु त खेल्न पाए पुग्यो।

'त्यो बेलामा पारिश्रमिक दिने चलन खासै थिएन। आउनेजाने भाडा, खानेबस्ने सुविधा हुन्थ्यो। पकेट मनी भनेर अलिअलि पैसा दिन्थे, त्यति नै हो,' उनले भने।

राष्ट्रिय प्रतियोगिताका क्रिकेट खेलाडी पनि
खेल मन पर्ने वसन्तले फुटबल मात्रै होइन, राष्ट्रिय स्तरमा क्रिकेट पनि खेलेका छन्। पोखरामा २०४० सालमा भएको दोस्रो राष्ट्रिय खेलकुदका बेला क्रिकेटमा सहभागी भएको उनको अनुभव पनि रोचक छ।

एकपटक उनको फुटबल टिम हेटौंडा पिकनिक गएर विरगञ्ज फर्किएको बेला बस दुर्घटनामा पर्‍यो। त्यही दुर्घटनाको चोटले उनले फुटबल गुमाउने पक्का भयो। खुट्टाले फुटबल हान्न सक्ने स्थिति थिएन। त्यसैले अलि ठिक भएपछि उनले सानैदेखि खेलेको भएर क्रिकेटमा प्रयत्न गरौँ भन्ने सोचे। त्यसैले २०४० सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद हुँदा उनी क्रिकेटबाटै सहभागी भए।

‘वीरगन्जमा खेलकुदमा गतिविधिहरु पहिले धेरै नै हुन्थ्यो। युवा स्पोर्टस् क्लबबाट हामी फुटबल खेल्थ्यौँ। फुटबल नखेलेको कतिपय समय टोलमा क्रिकेट पनि चलिरहेको हुन्थ्यो। टोलैपिच्छे टिमहरु हुन्थे। खेलको माहोल राम्रो थियो। त्यसैले क्रिकेटमा पनि मेरो बलिङ, ब्याटिङ दुवै राम्रो थियो,’ वसन्तले सुनाए।

वीरगन्जमा सानैदेखि सिकेको भएर नै उनलाई राष्ट्रिय खेलकुदमा क्रिकेट खेल्न सजिलो भयो। त्यसबेला आफूहरु सेमिफाइनलमा भेरीको टिमसँग हारेको वसन्त सम्झिन्छन्।

‘त्यो बेलाको क्रिकेट अनुभव पनि राम्रो भयो। वीरगन्जमा क्लब क्रिकेट त्यतिबेलादेखि नै राम्रो थियो। प्रतियोगिताहरुमा भारतबाट पनि कतिपय टिमहरु आइरहेका हुन्थे। काठमाडौंको एउटा टिम पनि जान्थ्यो। वीरगन्जमा नै दुई टिम बनाइन्थ्यो। एउटा टिममा त जम्मू-काश्मीरका खेलाडीहरु समेत राखिएको थियो। उनीहरुलाई नै चिनेपछि म पनि भारतमा धेरैपटक खेल्न पुगेको छु,’ उनले भने।

वसन्तले फुटबल र क्रिकेट मात्रै होइन जिल्लास्तरीय खेलबाट भलिबल पनि खेलेका छन्। स्कुलस्तरीय प्रतियोगिता खेल्दा जिल्लाको टिममा छानिएर काठमाडौंसम्म भलिबल खेल्न आएको उनलाई याद छ। अझ उनी प्रहरीको जागिरमा आएपछि स्क्वास खेलका संगठन च्याम्पियन पनि बने।

वसन्त अहिले ब्याडमिन्टन खेल्छन्। तर, खेलाडीका रुपमा होइन, स्वस्थ हुने उनको अभ्यास ब्याडमिन्टनमा छ। बिहान नियमित खेल्छन्। भन्छन्, ‘खेल मन पराउने र शरीर सन्तुलनमा भएपछि प्रायः खेलहरु खेल्न सकिने रहेछ।’

‘हाम्रै बेलाको ठीक’
वसन्त अहिलेको फुटबल पनि नियालिरहेका छन्। तर, उनलाई नेपाली फुटबलले उति साह्रो तान्न सकेको छैन। अहिले गाउँ-गाउँबाट हुनुपर्ने जसरी खेलको विकास नभएको उनलाई लाग्छ। प्रतियोगिताहरु स्तरीय नभएका हुन् कि भन्ने पनि उनलाई लागेको छ।

‘अहिले स्थानीय स्तरमा खेलको स्तर राम्रो छैन। राष्ट्रिय स्तरका खेलाडीहरु मात्र सबैतिर पुगेर खेलिरहेका हुन्छन्। राष्ट्रिय प्रतियोगिताहरु भइरहे पनि सानो स्तरमा राम्रा खेलहरु भइरहेका छैनन्। त्यसले फुटबललाई पछिसम्मका लागि फाइदा पुग्दैन,’ उनले भने।

फुटबलमा रुची बढी भए पनि वसन्तले मैदानमा नै गएर खेल नहेरेको वर्षौं भयो। विदेशी लिगहरुसँगै टेलिभिजनमा लाइभ आएको नेपालको खेल समय मिलेसम्म हेर्छन्। विशेष त इंग्लिस प्रिमियर लिगमा चेल्सीको खेल उनलाई मन पर्छ। यसैले दर्शककै रुपमा भए पनि उनी आफ्नो प्रिय खेल फुटबलसँग जोडिइरहेका छन्।

भिडियोः