रोल्पा- तत्कालिन नेकपा (माओवादी)ले सशस्त्र संघर्ष सुरु गर्नुपूर्व सो पार्टी निकट विद्यार्थी संगठनको रोल्पा जिल्ला सचिव थिए ऋषिराम रोका। उनको कमिटीमा सदस्य थिइन् पूर्वसभामुख ओनसरी घर्तीमगर।
समयको खेल न हो, राजनीतिक यात्रा सँगै सुरु गरेर १० वर्षसम्म पनि सँगसँगै संघर्षमा होमिएका यी दुवैमध्ये ऋषिराम रोकालाई लाभको पदको कहिल्यै अवसर आएन। उनीसँगै राजनीतिक यात्रामा रहेकी ओनसरी भने पटक-पटक सांसद, मन्त्री अनि देशकै व्यवस्थापिका प्रमुख हुने अवसर समेत पाइन्। राजनीतिक सहयात्री ओनसरी देशको विशिष्ट पदमा आसिन भइरहँदा ऋषिराम भने खेतबारीमा पसिना बगाउँदै कृषि कर्ममा रमाउँदै थिए।
000
१० वर्षसम्म सशस्त्र संघर्षमा होमिएका उनी शान्ति प्रक्रियाका सुरुवाती केही वर्ष पार्टीको पूर्णकालिन कार्यकर्ताकै रुपमा रहे। पार्टी शान्ति प्रक्रियामा आएपछि कार्यकर्ताहरुलाई आत्मनिर्भर हुनुपर्ने अवस्था आयो।तर, सुरुवाती समयमा त ऋषिरामले के गर्ने भन्ने भेउ पाउनै सकेनन्। सामुदायिक रेडियो स्थापना गरेर सञ्चालन गर्ने सोचका साथ उनले रेडियो दर्ता गरे। माण्डवी बहुउद्धेश्यीय सहकारी संस्थाको नाममा दर्ता गरेको सामुदायिक रेडियो जलजलाको उनले मुख्य जिम्मेवारी लिँदै संञ्चालनमा पनि ल्याए। करिब ३० लाख रुपैयाँ लगानी गरिएको रेडियोमा ऋषिरामको ४ लाख रुपैयाँको हिस्सेदारी थियो। तर, समयक्रमसँगै सेयर साझेदार साथीहरुसँग एकमत नभएपछि उनी त्यहाँबाट बाहिरिए।
आफन्तसँग मिलेर औषधि पसल सञ्चालन पनि गरे उनले। सुलिचौरमा सञ्चालन आएको उक्त औषधि पसल पनि लामो समय चल्न सकेन। एकपछि अर्को काममा सफलता नमिलेपछि उनी पुनः लिबाङ फर्किए र सुरु गरे कुखुरापालन व्यवसाय। त्यो पनि उनलाई फलिफाप हुन सकेन। केही वर्ष कुखुरापालन गरेका उनले त्यसमा पनि घाटा व्यहोरे।
उनमा स्वावलम्बी बन्नुपर्छ भन्ने सोच मरेको थिएन। यही सोचको टेको लाग्दै उनले नर्सरी स्थापना गर्न आफ्नो समय, लगानी र सिप खर्चिए। कृषि वन नर्सरीका लागि तयारी चल्दै गर्दा उनी अर्कोतर्फ पनि गाँसिन चाहे। बाउबाजेले गरेको पेशा कृषिमा रमाउने सोच जाग्यो उनलाई। यद्यपि भएको पैसा सबै सकिएको थियो। अब कसरी पैसा जुटाउने? केही समय निकै तनावमा रहे उनी। सुरुवातमा कृष्णबहादुर महरा (सभामुख)को बाँझो रहेको जग्गामा खनजोत गरेर टमाटर खेती सुरु गरे। लामो समयदेखि बाँझो रहेका कारण जग्गाको भाडा तिर्नुपर्ने भएन उनलाई। आर्थिक जुटाउन अप्ठेरो परिरहेको बेला यसले थोरै भए पनि उनलाई राहत मिल्यो। टमाटर खेतीबाट पहिलो वर्ष घरव्यवहार चलाउन पुग्ने पैसा आम्दानी गरे।
अर्कोतर्फ नर्सरी स्थापनाको लागि जिल्लास्थित कृषि र वन कार्यालयबाट तालिम लिएर आफ्नो क्षमता विकास गरे।
बिस्तारै आम्दानी हुन थालेपछि नर्सरीको फैलावट र व्यवस्थापनका लागि भन्दै कृषि विकास बैंकबाट १० लाख रुपैयाँको कर्जा लिए। नर्सरीमा देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, कान्वातु, अलैंची, किवी, राई खनियो लगायत प्रजातिका बिरुवाहरु उत्पादन हुने रोकाले बताए। जिल्ला कृषि विकास कार्यालय रोल्पाबाट अलैंची नर्सरीका लागि अनुदान प्राप्त गरी व्यवसाय सुरु गरेका उनको नर्सरीमा उत्पादित बिरुवा कृषि विकास कार्यालयले नै खरिद गर्ने गरेको उनको भनाइ छ।
कृषि वन नर्सरी स्थापनापछि वार्षिक ३/४ लाख रुपैयाँ आम्दानी हुन थाल्यो।
आम्दानी हुँदै जान थालेपछि उनले १३ लाखमा १ कित्ता र ५ लाखमा अर्को कित्तासमेत गरी १८ लाख रुपैयाँको जग्गा खरिद गरेको बताउँछन्। ऋषिरामले अहिलेसम्म व्यवसाय सुरु गर्नुपूर्व लिएको ऋण पनि चुक्ता गरिसकेका छन्।
नर्सरी, तरकारी खेतीसँगै उनले हाल स्वीटर उद्योगसमेत सञ्चालनमा ल्याएका छन्। नेपाल बैंकबाट १० लाख कर्जा र व्यक्तिगत ४ लाख गरी १४ लाख रुपैयाँ उक्त उद्योगमा लगानी भइसकेको उनले जानकारी दिए। 'स्वचालित स्वीटर बुन्ने मेसिनसमेत जडान गरी सेवा आरम्भ गरिएको छ,' सफलताको सिंढी चढ्दै गरेका उनमा सन्तुष्टिको भाव झल्किन्थ्यो।
केही समयमै पूर्ण क्षमतामा स्वीटर बुन्ने मेसिन सञ्चालनमा आउने उनको भनाइ छ।
अर्कोतर्फ कृषि वन नर्सरीबाटै वार्षिक करिब १४ लाख रुपैयाँ आम्दानी हुने ऋषिराम बताउँछन्। नर्सरीमा हालसम्म आफ्नो र दाजुका परिवारका सदस्यले काम गर्दै आएकोमा अब भने जनशक्तिसमेत थप गर्ने योजनामा छन् उनी। '२/४ जनालाई रोजगारी दिन सकिने गरी लगानी बढाएको छु,' रोकाले थपे, 'माटो ढुवानी गर्ने, बिरुवाको थैलो भर्नेजस्ता अल्पकालीन काममा भने छिमेकीहरुलाई रोजगारी दिँदै आएको छु।'
जिल्लाका विभिन्न गाउँपालिकाका अलावा सल्यान, प्युठान, दैलेखलगायतका जिल्लाबाट समेत विरुवाको माग आए पनि आफ्नो उत्पादनले रोल्पालाई मात्र धानेको ऋषिरामको भनाइ छ। 'लगानी वृद्धि गरेर माग अनुसारको उत्पादन दिने योजना छ,' उनले भने, 'नर्सरीको अध्ययन र अवलोकनका लागि कृषक, कृषिका विद्यार्थीका साथै जिल्ला भित्रका विशिष्ट व्यक्तिहरु समेत आउनुहुन्छ। यस्तो बेला आनन्द महसुस हुन्छ।'
000
तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता हुनुपूर्व नेकपा (माओवादी केन्द्र) रोल्पाका उपाध्यक्ष रहेका उनी नेकपा बनेपछि भने अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य छन्।
माओवादी सशस्त्र संघर्षको दश वर्ष पूर्णकालिन कार्यकर्ता रहेका उनले अचेल कृषि पेसालाई पहिलो र राजनीतिलाई दोश्रो प्राथमिकतामा राखेको बताए। 'विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारो लाग्ने गरेको छ,' यसो भन्दै गर्दा उनी प्रफुल्ल मुद्रामा देखिए।
पछिल्लो पटक पार्टीमा त्याग, तपस्या र बलिदानको भन्दा नातावाद, कृपावाद र अवसरवादको बोलवाला बढेकोमा भने उनी सन्तुष्ट छैनन्। विगतको माओवादी मूल्यमान्यता अव सम्झनुबाहेक उनका लागि अर्को विकल्प छैन।
जिल्लामा रोजगारीको अवसर नभएको भन्दै ठूलो संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जाने गरेका छन्। यसले उनलाई सहज अनुभूति हुँदोरहेनछ। र त गाउँघर करिब-करिब युवाविहीन हुन थालेको बेला ऋषिराम रोका भने स्वदेशमै केही गर्न सकिन्छ भनेर लागेका छन्। यसतर्फ स्थानीय सरकारको समेत ध्यान जान जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।