काठमाडौं- मध्य प्रदेशको अलिराजपुर जिल्लास्थित नानपुर प्रहरी कार्यालयका इन्चार्जसहित ४ जना प्रहरीले हिरासतमा लिएका व्यक्तिलाई पिउने पानी माग्दा पिसाब पिउन बाध्य पारेका छन्।
हिरासतमा लिइएका ५ जना आदिवासी युवालाई पानी माग्दा पिसाब पिलाएपछि उनीहरु निलम्बनमा परेका छन्। उनीहरु विरुद्ध विभागीय जाँचसमेत सुरु भएको छ।
अलिराजपुर प्रहरी कार्यालयका अधिक्षक बिपुल श्रीवास्तवले ३ दिन पहिले हिरासतमा लिइएका ५ युवकलाई पहिले प्रहरीले शारीरीक यातना दिएकोसमेत पुष्टि भएको बताएका भारतीय पत्रिका 'द इन्डियन एक्सप्रेस'ले लेखेको छ। पाँचै जनाको शरीरभर चोट भेटिएको उनल बताए।
ती युवाहरुलाई उपचारका लागि हाल अलीराजपुरस्थित जिल्ला अदालतमा भर्ना गरिएको छ।
एक प्रहरी अधिकारीमाथि आक्रमणको प्रयास गरेको भन्दै ती युवालाई पक्राउ गरिएको बताइएको छ। उनीहरुका विरुद्ध आइपिसीको धारा ३५३ (लोकसेवकलाई उसको कर्तव्य निर्वाह गर्नबाट रोक्ने अपराध ) आधारमा जाहेरी दर्ता गरेर अनुसन्धान थालिएको थियो। उनीहरुलाई स्थानीय अदालतले धरौटीमा रिहा गर्ने आदेशसमेत दिइसकेको छ।
प्रहरीको दाबी छ- पाँच युवाको अर्का एक युवासँग विवाद रहेको थियो। तीमध्ये एककी बहिनीलाई ती युवाले यातना दिएका थिए।
ती युवकलाई पछ्याइरहेको अवस्थामा प्रहरीको एक गाडी देखेपछि उनीहरुले थप सहयोग मागेका थिए। जाँचबुझका लागि पाँचै जना युवालाई प्रहरी कार्यालय जानुपर्छ भन्दा उनीहरुले प्रहरीमाथि आक्रमण गरका थिए।
पिछा गरिएका युवाले भने हालसम्म प्रहरीमा उजुरी दिएका छैनन्। यद्यपि प्रहरीमाथिको भएको आक्रमणको उनी प्रत्यक्षदर्शी भने हुन्।
श्रीवास्तवले पुलिस अधिकारीमाथि छिट्टै अनुसन्धान गर्ने र आवश्यक कारबाही समेत गर्ने स्पष्ट पारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।