काठमाडौं- अस्कर कलेज अफ फिल्म स्टडिजले आगामी शनिबार अभिभावकलाई पनि फिल्म निर्माणका मुख्य विधाबारे सिकाउने भएको छ।
ओपन हाउस इभेन्टमा कलेजले उक्त कलेजमा पढ्ने विद्यार्थीका अभिभावकलाई यस विद्याबारे जानकारी गराउने आयोजक टिमले जनाएको छ।
कलेजले अघिल्लो वर्षबाट ओपन हाउस इभेन्टको थालनी गरेको हो। यसमा एक दिनका लागि फिल्मका विभिन्न विधाको बारेमा जानकारी गराइन्छ। कलेज तथा युनिभर्सिटीका बारेमा आम मानिसलाई जानकारी दिन विदेशमा ओपन हाउस इभेन्ट गर्ने प्रचलन छ। यो अवसरमा सर्वसाधारणले पनि कलेज वा युनिभर्सिटीका बारेमा प्रत्यक्ष जानकारी लिन पाउँछन्।
ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाउन पाउनेछन्। कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए।
‘क्यामेरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर पछिल्लो जमानाको लेटेस्ट प्रविधि भिएफएक्सका बारेमा पनि जानकारी रहनेछ। एउटा फिल्म हलमा लाग्नुभन्दा अगाडि के के काम हुन्छ, यो दिन थाहा पाउन सकिन्छ,’ पन्तले भने।
इभेन्टमा क्यामराको विकासक्रमलाई पनि सहभागीले अवलोकन गर्ने अवसर पाउनेछन्। कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेडहुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राख्नेछ। क्यामरा मात्र हैन, इभेन्टमा सहभागीलाई लाइभ एक्टिङको अनुभव पनि गराइनेछ। कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर देखाउने छन्।
इभेन्टमा विद्यार्थीले खिचेका फोटो पनि प्रदर्शनीमा राखिने एकेडेमिक कोअर्डिनेटर नव श्रेष्ठले जानकारी गराएका छन्। उनका अनुसार ओपन हाउसकै समयमा अस्कर कलेजकै विद्यार्थीले बनाएका सर्ट फिल्म पनि देखाइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।