काठमाडौं – पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन पुरुष भलिबलको तयारी पूरा भएको नेपाल भलिबल संघले जनाएको छ। आउँदो भदौ २ गतेदेखि ७ गतेसम्म हुने प्रतियोगितामा एसियाका विभिन्न ७ देशको सहभागिता रहने छ।
नेपाल भलिबल संघको आयोजना र एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित साविक विजेता तुर्किमिनिस्तान, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र उज्वेकिस्तान सहभागी हुने छन्। सेन्ट्रल जोन भलिबलमा नै नेपालले तीन वर्षअघि कांस्य पदक जितेको थियो। जुन नेपालले अन्तर्राष्ट्रिय भलिबलमा जितेको एकमात्र पदक हो।
सहभागिताका लागि अफगानिस्तान टिम नेपाल आइसकेको छ। अफगानिस्तान टिमसँगै नेपाली टिमले बुधबार र बिहीबार अभ्यास खेलसमेत खेल्दै छ। प्रतियोगिताका खेलहरु लगनखेलस्थित आर्मीको कभर्ड हलमा हुने तय भएको छ।
प्रतियोगिताका खेलहरु आर्मीको हलमा हुने भएकाले दर्शकका लागि भने सित सिमित मात्रै हुने आयोजकले जनाएका छन्। टिकटको व्यवस्था नगरिए पनि केही दर्शकलाई मात्रै खेल्न हेर्ने सुविधा रहने आयोजकको भनाई छ। त्यसमा पहिले पुग्ने दर्शकले प्राथमिकता पाउने जनाइएको छ।
प्रतियोगिताका लागि खेल तालिका भने केही दिनमा सार्वजनिक हुने र त्यसका लागि सबै टिमका प्रतिनिधि आवश्यक रहेको आयोजको भनाई छ। प्रतियोगिताका लागि इरान, माल्दिभ्स, र किर्गिस्तानबाट समेत अफिसियलहरु आउने भएका छन्। खेलहरु हाम्रो खेलकुद डटकमबाट प्रत्यक्ष प्रसारण हुने गरी सम्झौता भएको संघका महासचिव जितेन्द्र बहादुर चन्दले जनाएका छन्।
प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ। जसमा आर्मीका धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, हरिबहादुर अधिकारी, दुर्गा खड्का, नरेन्द्र गिरी, हरिहजुर थापा र ईश्वर थापा मगर साथै नेपाल पुलिसबाट विशाल बिक, कुलबहादुर थापा, दिपक राज जोशी र कप्तान इमबहादुर मगर रहेका छन्। यस्तै एपिएफका टेकराज अवस्थी, राजकुमार निरौला र विनोद बहादुर चन्द पनि टोलीमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।