राजविराज– इतिहासविद् हरिकान्तलाल दासको निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका– ८ निवासी दासको ७८ वर्षको उमेरमा मंगलबार निधन भएको हो। मंगलबारै जन्मस्थल राजविराज–९ स्थित गढियामा हिन्दू परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको छ।
वि.सं. १९९८ कार्तिक २९ गते जन्मेका दास मधुमेह र हृदयरोगबाट पीडित थिए। उनका छोरासहित पत्नी विद्यादेवी र दुई छोरी छन्।
सप्तरी जिल्लाका साथै मिथिला क्षेत्रको धार्मिक, ऐतिहासिक एवम् प्राचीन इतिहासबारे दासले गहन अध्ययन अनुसन्धान गरेका छन्। उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन्।
‘सप्तरीको राजनीतिक इतिहास एवम् प्रमुख धार्मिक स्थलहरु, सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु, सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु एक अध्ययन’ लगायत उनका प्रमुख कृतिहरु हुन्।
यसैगरी, प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाल लगायतका विषयमा गरिएका अध्ययनहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्। कक्षा १० को मैथिली विषयको पाठ्यक्रममा दासद्वारा लिखित ‘प्राचीन विदेह’ पाठ समावेश छ।
गहन अध्ययन–अनुसन्धान गर्ने दासले करिब चार हजार पुस्तक सङ्ग्रह गरेका छन्। अध्ययन÷अनुसन्धानका क्रममा सयौं वर्ष पुराना पुस्तकहरु समेत उनले संकलन गरेको पारिवारले जानकारी दिए। दासलाई कृति लेखन र प्रकाशन गरेबापत एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ।
३७ वर्षसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गत काम गरेका दास महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा इतिहास तथा संस्कृति विभाग प्रमुख र सह–प्राध्यापकका रुपमा सेवा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।