बेइजिङ- चीनमा यसै साता आएको आँधी ‘लेकिमा’का कारण झण्डै एक करोड २० लाख नागरिक प्रभावित भएका छन्।
चीनको आपतकालीन व्यवस्था मन्त्रालयका अनुसार च च्याङ, शाङहाइ, च्याङ सु, शान तुङ, आन्हुइ, फुच्येन, हपै, ल्याउ निन, चि लिनलगायतका प्रान्त र सहरमा आँधीको प्रभाव परेको छ।
मन्त्रालयले भनेको छ, 'आँधीका कारण ८९ लाख ७० हजार व्यक्तिलाई गम्भीर प्रभाव पारेको छ। आँधीबाट १७ लाख तेह्र हजार व्यक्तिलाई आपतकालीन उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ।'
आँधीका कारण १३ हजार घरहरू भत्किएका छन् भने एक लाख १९ हजार घरहरूमा क्षति पुगेको छ। आँधीपछि आएको बाढीका कारण नौ लाख ९६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ।
‘लेकिमा’ आँधीका कारण सबैभन्दा धेरै च च्याङमा ३९ जनाको मृत्यु हुनुका साथै ९ जना बेपत्ता भएका छन्। आन्हुईमा ४ जनाको ज्यान गुमेको छ भने ५ जना बेपत्ता भएका छन्। त्यसैगरी शान तुङमा ५ जनाको मृत्यु भएको छ भने ७ जना हराइरहेका छन्।
अर्थ मन्त्रालय र आपतकालीन व्यवस्था मन्त्रालयले च च्याङ, च्याङ सु, शान तुङ ३ वटा प्रान्तमा उद्दारका लागि ३० करोड चिनियाँ युआन विनियोजन गरेको जनाएको छ।
५ प्रान्तको क्षति व्यवस्थापनको लागि रकम छुट्याइयो
चीनले हालैको प्राकृतिक विपद्मा भएको क्षति व्यवस्थापनका लागि ठूलो क्षति भएका विभिन्न ५ प्रान्तका लागि पाँच करोड ३० लाख ७५ हजार अमेरिकी डलर बजेटको व्यवस्था गरेको चिनियाँ विपद् व्यवस्थापन मन्त्रालयले मङ्गलबार जनाएको छ।
उक्त रकम प्राकृतिक विपद्मा परि बेपत्ता भएका बिरामीको खोजी, घाइतेको उद्धार तथा ठूला प्राकृतिक विपद्बाट नागरिकलाई जोगाउन हुने सरकारी निरीक्षण तथा अनुगमनमा खर्चिने मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
विपद्को कारण क्षति व्यहोरेका चीनको मध्य क्षेत्रमा रहेको हुनान र दक्षिणपूर्वी युनान प्रान्तका लागि क्रमशः ११ करोड ५० लाख र १० करोड २० लाख चिनियाँ युआन छुट्याइएको छ भने बाँकी रकम प्रभावित अन्य तीन प्रान्तमा खर्च हुनेछ। च्याङ सी, क्वी चौ तथा छोङकिन नगरपालिकाको विपद् व्यवस्थापनका लागि प्रयोग गरिने मन्त्रालयले जानकारी गराएको छ।
मन्त्रालयले स्थानीय टोलीलाई सघाउन केही केन्द्रीय टोलीसमेतलाई प्रभावित क्षेत्रमा पठाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।