लन्डन- बेलायतीहरूले पछिल्ला केही सातायता ब्रेक्जिटपछिको सम्भावित अन्योललाई मध्यनजर गर्दै अत्यावश्यक सामानहरूको भण्डारण गर्न थालेका एक सर्भेक्षणले देखाएको छ।
सर्भेक्षणअनुसार अक्टोबरमा बेलायत युरोपेली संघ (इयू)बाट सम्झौताबिहीन अवस्थामा बहिर्गमन गर्ने सम्भावनापछि बेलायतीहरूले खाद्यान्न, औषधि तथा पेय पदार्थको भण्डारण गरेका छन्।
बेलायतीहरूले ब्रेक्जिटपछिको अवस्थालाई हेरेर करिब चार अर्ब ८१ करोड अमेरिकी डलर थप रकम खर्चेर सामानहरूको भण्डारण गरेका बताइएको छ।
वित्तीय संस्था प्रिमियम क्रेडिटले गरेको सर्भेक्षणमा हरेक ५ बेलायतीमध्ये एक जनाले प्रतिदिन थप ४ सय ५८ अमेरिकी डलर खर्चिने गरेको पाइएको छ। सामान भण्डारण गर्नेमध्ये ७४ प्रतिशतले थप खाद्यान्न किनेर राखेका बताए भने ५० प्रतिशतले औषधिसमेत किनेर सञ्चित गरेको बताए। यस्तै ४६ प्रतिशतले पेय पदर्थको जोहो गरेको सर्भेक्षण रिपोर्टमा उल्लेख छ।
प्रधानमन्त्रीमा कडा ब्रेक्जिट पक्षधर बोरिस जोनसन निर्वाचित बनेपछि उनले इयुसँग सम्झौता भए पनि नभए पनि निर्धारित अक्टोबर ३१ मा ब्रेक्जिटको कार्यान्वयन हुने बताएका छन्। यसपछि कैंयौँ बेलायती नागरिकले यदि सम्झौताबिहीन अवस्थामा बेलायत इयूबाट बाहिरिए बेलायतमा कतिपय सामानहरूको आपूर्तिमा कमी आउनसक्ने डर भएको बताएका छन्।
बेलायतमा उपयोग हुने ५३ प्रतिशत खाद्यान्न मात्र स्वदेशमा उत्पादन हुने र बाँकी धेरै इयू सदस्य राष्ट्रहरूबाट आयत हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ। खाद्यान्न बाहेक अन्य सामानहरूको पनि बेलायती बजारमा किनबेच बढेको छ।
बेलायती कार कम्पनी बुडल ह्याटफिल्डले भनेको छ, 'बेलायतमा आरामदायी विदेशी कारको किनबेचमा पनि १६ प्रतिशतले वृद्धि आएको छ भने आरामदायी विदेशी कारको आयातमा ३२ प्रतिशतले वृद्धि देखिएको छ।' रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।