सिड्नी- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा प्लाष्टिकको पुनः प्रयोगको मात्रा अन्त्यन्त न्यून भएकोमा रोष प्रकट गरेका छन्।
प्लाष्टिकको पुनः प्रयोगको मात्रा १२ प्रतिशत मात्रै भएको भन्दै उनले आक्रोश व्यक्त गरेका अधिकारीहरुले जनाएका छन्।
उनले प्लाष्टिकको पुनः प्रयोगका लागि रचनात्मक काम गर्न दुई करोड अष्ट्रेलियाली डलरको कोष बनाइएको घोषणा पनि गरे। सिड्नीमा उनले बुधबार यो कोषसहितको परियोजनाको घोषणा गरेका हुन्।
प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाको फोहोर नष्ट गर्ने उद्योगहरु बन्द गर्ने आदेशको आवश्यकता भएको पनि औंल्याए। 'हामीले आफ्ना सन्तान र हामी आफैंलाई पनि प्लाष्टिकको बोतल छुट्टै एकै ठाउँमा राख्नुपर्छ भन्नुपर्ने भएको छ,' उनले भने।
प्रधानमन्त्री मोरिसनले थपे, 'एकपटक प्रयोग भइसकेका प्लाष्टिकका सामग्रीहरु फेरि प्रयोग गर्न मिल्ने बनाउन हामी सबैले प्रतिज्ञा गर्नुपर्नेछ।'
अष्ट्रेलियाबाट हरेक वर्ष १५ लाख टन कवाडी सामानहरु अन्य देश पठाइने गरेको छ। त्यसमा प्लाष्टिक, सिसा, कागजलगायतका सामग्रीहरु रहेको उनले बताए।
'फोहोरलाई देशभित्रै व्यवस्थापन गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,' प्रधानमन्त्री मोरिसनले भने। अष्ट्रेलियाको वातावरणको संरक्षण गर्नु नै यो घोषणाको मुख्य उद्देश्य भएको उनले बताए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।